चोलेन्द्रको चुनौति

आफूसँगै ठालु भनिए वकिल र पत्रकारहरुको सम्पत्ति छानबिन गर्न चोलेन्द्रको माग

काठमाडौँ । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराले आज पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिनुभएको छ । उहाँले बयानका क्रममा आफू आएपछि वरिष्ठहरूको गिरोह तोडिदिएको दाबी गर्नुभएको छ ।

त्यसैगरी उहाँले नाम किटेरै कान्तिपुर पब्लिेकशनका अध्यक्ष कैलाश सिरोहियासहित केही पत्रकार तथा आफूमाथि आरोप लगाउने ‘ठालु वकिलहरु’को सम्पत्ति छानबिन गर्न माग समेत गर्नुभएको छ । ठालु वकिल भनेपछि उहाँको संकेत शम्भु थापा, हरिहर दाहाल लगायत वकिलतर्फ थियो । पछिल्लो समय राणालाई कमजोर बनाउन ठूलो प्रयासमा लागेका वकिलहरुप्रति उहाँ निकै रुष्ट बन्नुभएको थियो ।

उहाँले बयानका क्रममा आफ्नो परिवारका सबै सदस्यको सम्पत्ति छानविन होस् भन्दै भन्नुभयो– ‘तर ,मलाई आरोप लगाउने ठालु वकिल, पत्रकार तिनीहरु अदालतमा कस्ता मुद्दा लिएर बिचौलीया बनेर आउँछन् सबैलाई थाहा छ । मेरो सम्पत्ति छानबिन होस् तर मलाई निराधार आरोप लगाउने ठालु वकिल, पत्रकार अनि हरेक किसिमतको निराधार समाचारहरु बनाउने कान्तिपुरको छानविन होस् । होइन भने अदालत उनीहरुलाई जिम्मा लाइदिए हुन्छ ।’

उहाँले कैलास सिरोहियालाई प्रधान न्यायाधीश बनाइदिउँ भन्दै माग समेत राख्नुभयो । ‘अरु पत्रकारलाई न्यायाधीश बनाइदिऔं र ठालु वकिललाई जिम्मा दिउँ,’ उहाँले भन्नुभयो, ‘मलाई राजीनामा गराएर कम्फरटेबल अदालत बनाउने प्रयास असफल भएपछि केही मिडिया र वकिलहरु मिलेर मेरोविरुद्ध निराधार आरोप लगाए ।’

उहाँले आफू आएपछि वरिष्ठहरूको गिरोह तोडिदिएको भन्दै त्यसपछाडि यही किसिमबाट सिर्जना भएको दाबी गर्नुभयो । ‘विचौलियादेखि भ्रष्टाचारसम्मका कुरा आएका छन् यसलाई म नष्ट गर्छु भनें,’ उहाँले भन्नुभयो, ‘त्यसपछि हाम्रा केही वरिष्ठ सर्वोच्चमा एउटा गोपालको क्यान्टिन छ त्यहाँ चिया खाएर दिनभरि मलाई गाली गरेर बस्ने अवस्था सिर्जना भयो।’