राष्ट्रिपति, प्रधानमन्त्री र विपक्षी दलका नेता भेट्ने कार्यतालिका
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ समकक्षी (राष्ट्रिय जनकंग्रेसका अध्यक्ष) ली झान्सु आज काठमाडौं आउँदैहुनुहुन्छ । नेपाल भ्रमणमा रहनु भएका लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ।
बुधबार उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची छ । नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूaर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङपछि तेस्रो वरियतामा हुनुहुन्छ । उहाँ बिहीबार फर्कने कार्यक्रम छ।
उहाँको सम्मानमा आज साँझ सोल्टी होटलमा सापकोटाले रात्रिभोज आयोजना गर्नुभएको छ । त्यहाँ भूपू प्रधानमन्त्री, मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, भूपू सभामुखलगायत शीर्ष पाहुनाहरू सहभागी हुनुहुने छ ।
शुक्रबारको मन्त्रिपरिषद बैठकले बेलायतकी महारानी एलिजाबेथको निधनमा नेपालमा ३ दिन शोक मनाउने निर्णय गरेको थियो । त्यति मात्रै होइन बैठकले महारानीको सम्झनामा भदौ २५ देखि २७ गतेसम्म तीनदिन शोक मनाउने र तीन दिनसम्म नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने समेत निर्णय गरेको थियो ।
राष्ट्रले शोक मनाउने भनेको त्यस अवधिमा कुनै पनि उल्लासका कार्यक्रम तथा स्वागत समारोह आयोजना नगर्ने पनि उल्लेख छ । मन्त्रिपरिषद्ले बेलायती महारानी एलिजावेथको निधनमा सरकारले शोक मनाइरहेका बेला चिनियाँ उच्चस्तरीय पाहुनाको सम्मानमा गर्न लागिएको रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भने भोजमा नजाने हुनुभएको छ । उहाँको सचिवालयले पनि यो कुराको पुष्टि गरेको छ ।
‘यो ठूलो विषय होइन,’ सचिवालयका एक सदस्यले मैत्रीन्युजसँग भन्नुभयो,’ ‘सरकारले शोक मनाउने भनेको छ । यस्तो बेलामा पाहुनाप्रति उच्च सम्मान छ । तर, भोजमा भने जानु त्यति सान्र्दभिक देखिएन भनेर उहाँले यस्तो निर्णय गर्नुभएको होला ।’
