प्रचण्ड छाडेर माओवादीका प्रभावशाली नेता परियार एमाले प्रवेश, माडीमा माओवादीलाई धक्का
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रीय सदस्य समेत रहनुभएका परियार चितवन जिल्ला सहइन्चार्ज समेत हुनुहुन्छ ।
उहाँ एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय च्यासलमा स्वागत गर्नुभएको हो । माओवादीमा लामो समयदेखि सक्रिय परियारले पाँच कार्यकाल माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरीको जिम्मेवारी सम्हाली सक्नुभएको छ । उहाँ एमाले प्रवेश गरेसँगै एमालेहरु उत्साहित बनेका छन् भने माओवादीमा ठूलो धक्का लागेको भन्दै निरास छन् ।
परियारसहित आजै माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत पनि एमाले प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा चितवन एमालेका अधिकांश नेताको उपस्थिति थियो । नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गर्नुभयो ।
परियालले माडी क्षेत्रबाट राजनीति गर्नुभएको हो । माडी माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पनि हो । त्यसकारण पनि परियारको एमाले प्रवेशलाई महत्वपूर्ण ढंगले हेरिउको छ ।
