संविधानको सात वर्षे यात्रा, एमालेको वाकथन र ओलीको सम्वोधन (भिडियोसहित)
काठमाडौँ । राजनीतिक दलले राजधानी वा गाउँ सहरमा गर्ने हरेक सभा–सम्मेलन र जुलुसमा दलका झण्डा अनिवार्य हुन्छन् । जिन्दावाद र मूर्दावादका नाराले ती सभा–सम्मेलन र जुलुस गुञ्जायमान हुन्छन् । तर, आज राजधानीमा भने फरक खालको दृष्य देखियो ।
नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा आज झुल्केघामसँगै राजधानीका पाँच स्थान नयाँबानेश्वर, मैतिदेवी, लाजिम्पार्ट, कालीमाटी र कुपण्डोलबाट हजारौँको उपस्थितिमा सुरु गरेको वाकथनमा कतै पनि एमालेको झण्डा देखिएन । बरु सबैको हात–हातमा थियो नेपालको चुच्चे नक्शासहितको पम्प्लेट अनि स–साना राष्ट्रिय झण्डा । त्यहि माहोलमा हुनुहुन्थ्यो एमाले अध्यक्ष केपी शर्मा ओली पनि ।
नयाँबानेश्वरबाट महासचिव ईश्वर पोखरेल र लाजिम्पार्टबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व गरेको वाकथन दुई ठूला नदी मिसिए जसरी भन्द्रकाली अघिको सहिदगेटमा मिसियो । अनि त्यहि टुप्लुक्क देखिनुभयो अध्यक्ष ओली पनि दुई–दुई पटक किड्नीको अपरेशन गरेर पनि स्फूर्त देखिनुभएका ओली पत्नी राधिकासँगै धरहरा अघि वाकथनमा देखिएपछि धेरैले ‘केपी बा आइलभ यु’ भन्दै उहाँलाई स्वागत गरे ।
उहाँ पनि युवा जत्तिकै जोशिलो शैलीमा ठाँटिलो ठाँटबाँट पाराले वाकथनको नेतृत्वमा अग्रमोर्चामा उभिँनुभयो । सहिदगेट, न्युरोड, न्युरोडगेट हुँदै ओली वसन्तपुर पुग्दा त्यहाँ पाँचैतिरको वागथनको भेल मिसिएको थियो । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली पदयात्रामा सहभागी मात्रै हुनुभएन र उहाँले बसन्तपुरमा सम्वोधन गर्दै संविधान दिवस राष्ट्रिय चाड भएको भन्दै यसलाई जनस्तरबाट मनाइनुपर्ने बताउनु भयो ।
‘यो सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ,’ पदयात्रापछि बसन्तपुरमा सम्वोधन गर्दै ओलीले भन्नुभयो, ‘यो आजसम्म हुन सकेको थिएन हामीले यसको सुरुवात गरेका छौं ।’
ओलीले कैयौं संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्ने सन्दर्भमा विद्वेष र तनावको विषय बनाउने कुचेष्टा भएको पनि बताउनुभयो । उहाँले नेपाललाई द्वन्द्वमा फसाउने र लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भएको भन्दै ती सबैलाई पराजित गरेर देशलाई लोकतन्त्रको बाटोमा हिँडाउने काम एमालेले गरेको उहाँको भनाई थियो ।
