नेपालसँग दीर्घकालिन साझेदारी विकासका लागि विश्व बैङ्कको सहयोग निरन्तर रहने छः रेजर

भक्तपुर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र विश्व बैंङ्कका दक्षिण एसिया हर्ने क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच शिष्टाचार भेट भएको छ । अध्यक्ष ओली निवास बालकोटमा आज उहाँहरुबिच भेटघाट भएको हो । चार दिने नेपाल भ्रमणमा आएको रेजरको टोलीले अध्यक्ष ओलीसँग भेटघाट गरी नेपालसँग दीर्घकालिन साझेदारी विकासका लागि विश्व बैैकले बनाएका परियोजनामा काम गर्न इच्छुक रहेको बताएको थियो ।

करीब एक घण्टा भएको भेटघाटमा अध्यक्ष ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक र वित्तीय क्षेत्रमा देखिएका चुनौतीलाई पन्छाएर नेपालले विकास गर्ने वातावरण निर्माणमा एमाले निरन्तर लाग्ने बताउनु भएको थियो । छलफलका क्रममा अध्यक्ष ओलीले आगामी मंसिर ४ मा हुने निर्वाचनबाट एमाले बहुमतसहितको सरकार गठन गर्ने अवस्थामा पुग्ने भन्दै ती सबै चुनौतीलाई पन्छाएर अघि बढ्नेमा विश्वस्थ रहेको बताउनु भएको थियो ।

‘आगामी निर्वाचनमा बहुमतसहित एमालेले सरकारको गठन गर्ने छ र यी चुनौतीलाई पार गराएर नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले गठबन्धनको सरकार लक्ष्यविहीन ढंगले अघि बढिरहेको छ । एमाले नेतृत्वको सरकारपछि त्यो अवस्था रहने छैन । त्योसँगै गरिबी निवारण गर्दै विकासका बाटाहरुलाई एमाले नेतृत्वको सरकारले तिव्र गतिमा अघि बढाउने छ ।’

भेटमा अध्यक्ष ओलीले नयाँ व्यवस्थित सहर निर्माणमा ध्यान दिने पनि बताउनु भएको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव डाक्टर अञ्जान शाक्यले जानकारी दिनुभयो ।

भेटमा अध्यक्ष ओलीले हिजो हजारौँको उपस्थितिमा सम्पन्न वाकथनले दिन खोजेको सन्देशबारे पनि रेजरलाई जानकारी गराउनु भएको थियो । ‘हिजो एमालेले हजारौँको उपस्थितिमा वाकथन सम्पन्न गर्यो,’ उहाँले भन्नुभयो, ‘हामीले वाकथनबाट नेपाली जनताको शिक्षा, स्वास्थ्य र स्वरोगारमा फट्को मारेर नेपाली जनताको आर्थिक उन्नति सँगै जीवनस्थतर उकास्ने छ सन्देश दिन खोजेका छौँ ।’

अध्यक्ष ओलीको योजना सुनेपछि खुशी व्यक्त गर्दै रेजरले पर्यावरणीय परिवर्तन, हरियाली, पानीको पुर्नभरण, कृषि र वनजंगललाई व्यवथित गर्दै धेरै सहरहरु तथा भित्री सहर व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको भन्दै त्यसमा विश्व बैंकले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले अध्यक्ष ओलीलाई ‘कन्ट्री, क्लाइमेट एण्ड डिभलपमेण्ट रिपोर्ट’ हस्तान्तरण गर्नुभएको थियो ।

रिपोर्ट ग्रहण गर्दै अध्यक्ष ओली भौगोलिक अवस्थाको बारेमामा उल्लेख गर्दै नेपालका हिमाल, हिमनदी र नदीनालाको प्रणाली र त्यसले पर्यावरणीय पर्यावरणमा खेलेको भूमिकाबारे उल्लेख गर्नुभएको थियो । ‘म प्रधानमन्त्री भएका बेला हामीले ‘एभरेष्ट समिट’ गर्ने तयारी गरेका थियो । तर, कोभिडका कारण सम्भव भएन,’ उहाँले भन्नुभयो, ‘अब मंसिरपछि एमालेले सरकारको नेतृत्व गरेपछि त्यो कामलाई प्राथमिकतामा राखेर गर्छौ ।

उहाँले हिमाली क्षेत्रबाट बग्ने पानीले सुख्खायाममा प्रर्यावरण सन्तुलनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको थियो । भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, कन्ट्री डाइरेक्टर फेरिस हदाद जर्भोजलगायतको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *