अन्तर्वार्ता

विचार, नीति र राजनीतिक हिसावले माओवादी समाप्त भएपछि एमाले रोजेँः यामबहादुर परियार

मुलुकको पछिल्लो राजनीतिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

मुलुक यतिबेला मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माहोलमा होमिएको छ । हाम्रो संवैधानिक कानुन, नियम अनुसार नै हामी घोषित निर्वाचनको समीपमा छौँ । यहि बेला राजनीतिक दल परित्याग गर्ने, राजनीतिक दलमा प्रवेश गर्ने, विचार परिवर्तन गर्ने, पार्टी परिवर्तन गर्ने जस्ता गतिविधि पनि चलिरहेकै छन । यसरी हेर्दा मुलुक अहिले समग्रमा निर्वाचनमा केन्द्रित भएको छ ।

निर्वाचनको समीपमा तपाईँ लामो समय काम गरेको नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । यहिबेला पार्टी प्रवेशको निर्णयमा तपाईँ किन पुग्नुभयो ?

मेरो व्यक्तिगत कुरा गर्नुपर्दा लामो संघर्ष गरेको र मैले निकै ठूलो योगदान गरेको, संघर्ष गरेको,त्याग, तपस्या र बलिदानी गरेको पार्टी नेकपा माओवादी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेको छु । विचार, राजनीति र नेतृत्वको आधारमा मैले आदर्श ठानेको पार्टी विस्तारै रणनीतिक र कार्यनीतिक रुपमा नीति र नेतृत्व सही भएको निस्कर्षसहित एमाले प्रवेश गरेको छु ।

अहिले देशको संविधानको कार्यान्वयन गर्ने, संविधानलाई बचाउने र संविधानलाई अगाडि बढाउने र समृृद्धिको यात्रामा अघि बढ्नुपर्ने अवस्था छ । मैले लामो समय संघर्ष गरेको पार्टीबाट त्यो सम्भव देखिन । अहिलेको नेपालको राजनीतिक परिस्थिति तरल छ । यस्तो अवस्थाबाट मुलुकलाई स्थिरता र स्थायीत्वतर्फ अघि बढाउनुको अर्को विकल्प छैन । मुलुकको परिस्थितिमा आगामी मंसिर ४ मा हुने निर्वाचनपछि नेकपा (एमाले) ले सरकार बनाउने अवस्था सिर्जना भएपछि मात्रै मुलक स्थिरता र स्थायीत्वतर्फ अघि बढ्ने संभावनालाई मध्यनजर गर्दै एमाले प्रवेश गरेको हुँ । तमाम समस्यालाई हल गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने एक मात्रै पार्टी नेकपा एमाले मात्रै भएको ठहरसहित र यहि मूल्यांकन गर्दै मैले यो निर्णय लिएको हुँ ।

भनेपछि प्रचण्डले नेतृत्व गर्नुभएको माओवादी विस्तारै रणनीतिक र कार्यनीतिकरुपमा असफल भएको ठहर गर्दै तपाईँ एमाले प्रवेश गर्नुभयो ?

मैले नेकपा माओवादी केन्द्रलाई जाज्वल्यमान पार्टीको रुपमा लिएको थिएँ । विचारको पार्टी, नेतृत्वको पार्टी र देशलाई स्वतन्त्र रुपान्तरणको दिशा तर्फबाट अघि बढाएर लैजान पार्टीका रुपमा बुझेको थिएँ । अझ भन्ने हो भने समाजवाद र साम्यवादमा पुग्ने उद्देश्य बोकेको पार्टी भन्ने ढंगबाट मैले विगतमा बुझ्दै आएको थिए । त्यो एक हदसम्म सत्य पनि थियो । पछिल्लो समय मुलुकमा देखिएका तमाम समस्याहरुको हल गर्न प्राविधिक कुरामा मात्रै अल्झिएर हुने देखिएन । विचार र राजनीतिक कार्यदिशाका आधारमा हेर्दाखेरि माओवादी त्यसमा कमजोर बन्दै गएको देखियो । त्यसैले समाजवादको यात्रामा अगाडि बढ्ने लक्ष्य भएको पार्टी कुन हो ? भन्दा त्यो प्रण र अठोट बोकेको अनि उदेश्य प्रष्ट भएको पार्टी एमाले मात्रै भएको ठहर गर्दै मैले यो निर्णय लिएको हुँ ।

तपाईँ कुनै समय चितवन जिल्लामा माओवादी अध्यक्ष प्रचण्डका लागि कमाण्डर हुनुहुन्थ्यो । निर्वाचनको सपीपमा पनि प्रचण्ड चितवनबाट उम्मेदवार बन्दै गर्दा तपाईँले उहाँको साथ छाडिदिनुभयो । तपाईँ अलिक बढी भावुक हुनुभयो भन्ने पनि छ नि ?

भावुकता एउटा पाटो भयो । प्रविधिक कुराहरुमा अल्झिनुभन्दा पनि राजनीतिमा विचार, नीति, र कार्यनीति सबैभन्दा महत्वपूर्ण हुन्छ । अहिले माओवादीमा विचार, नीति र राजनीतिक नेकपा माओवादी केन्द्रमा सिद्धिएको छ । अझ भन्ने हो भने माओवादी विघटनको तर्फबाट अगाडि बढिरहेको छ । माओवादीका अधिकांश नेता–कार्यकर्ताहरु नेकपा (एमाले) मा प्रवेश गरिरहनुभएको छ । यस्ले के देखाउँछ भने मुलुकलाई स्थायित्व र स्थिरतातर्फ लैजानका नीम्ति र मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनका नीम्ति नेकपा (एमाले) को विकल्प छैन । अहिले बामपन्थीहरुले हेर्ने हो भने एमाले बामपन्थी पार्टी त हो नै देशकै सबै भन्दा शक्तिशाली कम्युनिष्ट पार्टी पनि हो । यस नाताले पनि कम्युनिष्टहरुका लागि एमाले अहिले आकर्षणको केन्द्र बनेको छ । म पनि एमालेतिर आकर्षित भएर पार्टी प्रवेश गरेको हुँ ।

चुनावको नजिक एमाले प्रवेश गर्दा माओवादीलाई त घाटा लाग्ला नि ?

यो एउटा संयोग मात्रै हो । कमरेड प्रचण्ड त्यहाँबाट उठ्ने वा नउठ्ने भन्ने अर्को पाटो भयो । उहाँ त्यहिँबाट निर्वाचनका लागि उम्मेदवार बन्ने कुरा र मैले माओवादी छाड्ने कुरा एउटा संयोग मात्रै हो ।

तपाईँले माओवादी छाड्दै गर्दा माओवादीकै धेरैले चिन्ता व्यक्त गरेका छन् । धेरैले भावुकता प्रकट गरेर सामाजिक सञ्जालमा स्ट्याटस पनि लेखेका छन् । यसलाई कसरी लिनुहुन्छ ?

यो भावनामा बग्ने कुरो होइन । भावनामा बग्दाखेरि सही ठाउँमा पुगिन्न । यो विचार, राजनीतिक, दर्शन, सिद्धान्त, वैचारिक कुरो हो । त्यसो भएको हुनाले जुन–जुन साथीहरुले चिन्ता प्रकट गर्नुभएको छ उहाँलाई धन्यवाद भन्न चाहन्छु । यसलाई मैले कमाएको एउटा उर्जाको रुपमा पनि लिएको छ । यसलाई मैले ठूलो सम्पत्ति पनि ठानेको छु । धेरै–थोरै आलोचनाका कुराहरु पनि हुन्छन् यसलाई सहजै रुपमा लिएको छु । माओवादीमा धेरै साथीहरुसँग घुलमिल भएको थिए । धेरै साथीहरु अन्तरसम्बन्ध थियो । विचार मिलेको थियो । सबै ठीकै थियो । तर, पनि माओवादीमा रहिरहने अवस्था भएन । नेकपा माओवादी केन्द्र स्खलन भइसकेपछि स्वभाविक रुपमा मैले नयाँ बाटो अपनाएको हो ।

तपाईँको प्रवेशसँगै चितवनको एमाले थप बलियो होला भन्ने अपेक्षा गर्न सकिन्छ ?

स्थानीय तहको निर्वाचनमा म गठबन्धनमा थिएँ । नेकपा माओवादी केन्द्रको एउटा इमान्दार वा एक सक्रिय कार्यकर्ताको हैसियतमा मैले माओवादीमा बसेर काम गरेको थिएँ । मैले त्यतिबेलाको निर्वाचनलाई नजिकबाट नियाल्ने अवसर पनि पाएको थिएँ । त्यतिबेला चितवन जिल्लामा नेकपा (एमाले) एक्लै चुनाव लडेको थियो । एकातिर गठबन्धन थियो । त्यस्तो अवस्थामा गठबन्धनसँग चुनाव लड्दा पनि एमाले शक्तिशाली देखिएको थियो । यो आधारले पनि आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेको सूर्य चिन्हले जितको झण्डा फहराउँदै समृद्धिको दिशामा अघि बढ्ने छ भन्नेमा पूर्ण आशावादी छु ।