मनास्लु हिमपहिरोमा परि १२ जना घाइते, तीनजनाको अवस्था गम्भिर
काठमाडौँ, १० असाेज । मनास्लु हिमालको तेस्रो र चौथो वेसक्याम्पको बीचमा गएको हिमपहिरो परि १२ जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भिर रहेकाे छ । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरामा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडाँै पठाइएको र दुई जनालाई तेस्रो आधार शिविरबाट उद्धार गरी पहिलो आधार शिविरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
पर्यटन विभागका अनुसार हिमपहिरोका कारण मानवीय क्षति हालसम्म नभएकाे जनाएकाे छ।
विभागको पर्वतारोहण महाशाखाका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार सोमबार मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा पहिराेमा परि एक विदेशी नागरिक सम्पर्कविहिन भएकाे थियाे ।
हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ ।
मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि जानुभएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिनुभयो । गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन् ।
सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् ।
यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् ।
