(अन्तर्वार्ता)

अर्को समूह भनेर राजनीतिक हत्या गरे विद्रोह हुन्छः भुपेन्द्रजंग शाही युवा नेता, नेपाली कांग्रेस

प्रधानमन्त्री एवं पार्टी सभापति शेबहादुर देउवाले पार्टी भित्रै अर्को पक्षधरलाई बेवास्ता गरी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिटको भागबण्डामा न्यायोचित वितरण नगरेको भन्दै कांग्रेसका युवाहरु निरन्तर संघर्षमा छन् । निरन्तर आन्दोलित बनेका युवाहरुले पार्टी कार्यालयमै धर्ना समेत दिएका छन् । उनीहरुले सत्ता घटकका अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चालाई बढी प्राथमिकता दिएर आफूहरुलाई बेवास्ता गरेको भन्दै देउवालाई आन्तरिक लोकतन्त्र बलियो बनाउन दबाब समेत दिएका छन् । यसरी दबाबमुलुक आन्दोलनको नेतृत्व गरिरहेका युवा मध्ये एक हुनुहुन्छ, भुपेन्द्रजङ शाही । उहाँसँग मैत्रीन्युजले गरेको कुराकानीः

प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिटको भागबण्डामा पार्टी सभापतिले न्यायोचित वितरण नगरेको भन्दै तपाईँहरु आन्दोलित हुनुहुन्छ । तपाईँहरुको बुझाई त्यहि हो ?

यो आन्दोलनको मुख्य उदेश्य पार्टीलाई बलियो बनाउने हो । भएका कमजोरीलाई सुधार गरेर पार्टीलाई थप शसक्त बनाउने भन्ने हो । यसको निष्कर्ष भनेको यहि मंसिर ४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसलाई बलियो बनाएर देशको नेतृत्व गर्ने पहिलो पार्टी बनाउने चिन्ताले गरेको आन्दोलन हो । त्यसका लागि पार्टी भित्र न्याय र समान अवसर हुन जरुरी छ । पार्टी भित्र कार्यकर्ताहरुको मूल्याङ्कन हुन जरुरी छ । त्योसँगै पार्टीमा अवसरहरुको वितरण गर्दा निश्चित मापदण्ड बनाएर मात्रै गर्नुपर्छ भन्ने सन्देश पनि हो । तर, त्यसो नगरेर गुटका आधारमा, महाधिवेशनमा यसले मलाई भोट हाल्यो कि हालेन भनेर, यो मेरो मान्छे हो कि होइन भनेर कसैलाई दण्डित गर्ने र आफूसँग निकट भएको व्यक्तिलाई पुरस्कृत गर्ने कुराले पार्टी कमजोर बन्छ । त्यसैले हाम्रो यो आन्दोलन पार्टीलाई कमजोर होइन बलियो बनाउनुपर्छ भन्ने हो । यो भनेको पार्टी हामी सबैको साझा हो र पार्टीमा सबैका भावना र पक्षलाई समेटेर अघि बढ्नुपर्छ भन्ने आग्रह पनि हो ।

अहिले निर्वाचन सम्मूखमा छ । यस्तो बेलामा तपाईँहरु एक नहुने हो भने परिणाम पनि त सकारात्मक नआउला नि ?

हो, हामी अहिले निर्वाचनको सम्मूखमा छौँ । यस्तो बेलामा धेरै अलमल गर्नु, विवाद गर्नु भनेको निर्वाचन परिणाम पनि सकारात्मक नआउनु हो । त्यसैले छिटो भन्दा छिटो नेतृत्वले बन्दसूचिमा भएका कमजोरीलाई सच्याएर पार्टीमा दुःख, संघर्ष गरेका, योगदान गरेका, आफ्नो जीवन समर्पण गरेका व्यक्तिलाई समावेश गर्दै अघि बढ्नुपर्छ । त्यसँगै प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्दा पनि ती कुरालाई हेक्का राखेर अघि बढ्नुपर्छ ।

गुटलाई प्राथमिकता दिने रोग कांग्रेसमा मात्रै छैन, अन्य दलमा पनि छ । तपाईँहरुको यो आन्दोलनले नेतृत्व सच्चिन्छ भन्ने अपेक्षा गर्नुभएको छ ?

नेपाली काँग्रेस हामी सबैको साझा पार्टी हो । हामी एउटै पार्टीमा छौँ । हामीसँग एउटै पार्टीको सदस्यता छ । हामीबिच आत्मीयता छ । हाम्रो भावना जोडिएको छ । त्यसैले नेतृत्वले आफ्नै पार्टीका कार्यकर्तालाई किनारा लगाउने, धकेल्ने काम गर्छ भन्ने कुराको कल्पना हामीले गरेका छैनौँ

नेतृत्वले हाम्रो आवाज, हाम्रो विचारलाई सन्दैन भनेर कल्पना पनि गर्न सक्दैनौँ । किनभने, नेपाली काँग्रेस हामी सबैको साझा पार्टी हो । हामी एउटै पार्टीमा छौँ । हामीसँग एउटै पार्टीको सदस्यता छ । हामीबिच आत्मीयता छ । हाम्रो भावना जोडिएको छ । त्यसैले नेतृत्वले आफ्नै पार्टीका कार्यकर्तालाई किनारा लगाउने, धकेल्ने काम गर्छ भन्ने कुराको कल्पना हामीले गरेका छैनौँ । हामीले अपेक्षा गरेका छौँ, हामी आशावादी छौँ । पार्टी सभापतिले यो समस्या छिटोभन्दा छिटो हल गरेर अघि बढ्नु हुनेछ । जहाँ त्रुटि छन् त्यसलाई सच्याएर अघि बढ्नु हुन्छ ।

महाधिवेशनमा ४० प्रतिशत भन्दा बढी मत ल्याएको शेखर कोइराला समूहलाई किनारा पारेर जाने दुस्साहस देउवाले गर्नुहुन्न भन्नेमा ढुक्क हुनुहुन्छ ?

निश्चय पनि, महाधिवेशनमा शेखर कोइराला समूले ४३ प्रतिशत भन्दा बढी मत ल्याएको छ । त्यसैले महाधिवेशनमा कोइराला समूहलाई भोट दिएकै आधारमा ४३ प्रतिशत बढी आफ्ना कार्यकर्तालाई अपमान गर्ने कुरा देउवाले सोच्नुहुन्छ होला भन्ने मलाई लागेको छैन । उहाँले त्यस्तो दुस्साहस गरेको अवस्थामा निर्वाचनमा राम्रो परिणाम आउँदैन भन्ने हेक्का राख्नु भएको छ भन्ने लागेको छ । जीवन्त पार्टीमा बेलाबखत हुने बादविवाद र असहमति सामान्य कुरा हो । ती सबैलाई मिलाएर लैजानु नेतृत्वको कौशलता हो ।

नेतृत्वको खवरदारी गर्दै तपाईँहरुले पार्टी मुख्यालयमा धर्ना पनि दिनुभयो । तपाईँहरुको यो खवरदारी भनौँ या नेतृत्वलाई सच्याउनका लागि गरिएको विद्रोह । यसले नेतृत्व सच्चिएन भने ?

हामीले पार्टीलाई एकपक्षीय र एकलौटी बनाएर लैजानु हुँदैन भनेर पार्टी भित्रका फरक विचार राख्नेहरुलाई पनि समेट्नुपर्छ । दुःख, संघर्ष गरेका, योगदान गरेका, आफ्नो जीवन समर्पण गरेका, गाउँगाउँमा गएर संगठन निर्माण गर्न सक्ने क्षमता भएका, पार्टीको प्रभाव र इज्जत बढाउने, व्यक्तिलाई समेटेर लैजानुपर्छ भनेर नै यो आन्दोलन गरेको हो । त्यसो नगरेर खल्तीका मान्छेहरु, नेताको जयजयकार गर्ने, नेताको घर धाउने, नेताको चाकडीमा धूप बाल्ने मान्छेले मात्रै अवसर पाउने हो भने त्यसको सन्देश निश्चय पनि सकारात्मक जाँदैन । त्यसले आम कार्यकर्तालाई अन्याय भयो भन्ने अनुभूति हुन्छ अनि निराश र हतोत्साही बनाउँछ । त्यति मात्रै होइन पार्टीले सही मूल्याङ्कन गर्न सकेन भनेर सन्देश तल्लो तहसम्म जाने वित्तिक्कै त्यसले निर्वाचनमा राम्रो परिणाम ल्याउँदैन । त्यसैले अहिले नै हामी सचेत र गम्भीर बनेर अघि बढ्नुपर्छ भन्ने खवरदारी हो, यो ।

पार्टी नेतृत्वले न्यायोचित वितरण गर्न नसकेको अवस्थामा तपाईँहरुले थप विद्रोह गर्नुहुन्छ कि, चिसै पानीले नुहाउनुहुन्छ ?

दुर्भाग्यपूर्ण ढंगले अन्याय नै भयो, पार्टीमा किनारा नै लगाउने काम भयो, शेखर कोइराला समूह भनेर उसको राजनीतिक हत्या गर्ने काम भयो, चलखेल भयो भने अन्याय हुन्छ । जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ र विस्फोट हुन्छ । यो लोकतन्त्र हो । यो राणा शासन होइन । त्यसैले यहाँ कसैको निरंकुशता सहेर कुनै कार्यकर्ता बस्छन् भन्ने मलाई लाग्दैन

पहिलो कुरा, मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म दुई–दुई पटक उम्मेदवार बनिसकेको व्यक्ति हुँ । मलाई अहिले पनि मेरो पार्टीबाट उम्मेदवार बन्न कुनै समस्या छैन । म जुन जिल्लामा छु । त्यो जिल्लाबाट पार्टीमा टिकट पाउन कुनै समस्या छैन । त्यसैले अहिले हामीले गरिरहेको खवरदारी मेरो लागि होइन अन्यायमा परेका आम कार्यकर्ताका लागि हो । टिकट पाउने कुरा मेरा लागि नयाँ होइन । टिकट मेरालागि ठूलो कुरा होइन । अहिले मैले बोलिरहेको अन्यायमा परेका, पीडित कार्यकर्ताको अपमान गर्नुहुँदैन भन्ने हो ।

दोस्रो, एकलौटी भयो, अन्याय भयो भने के गर्नुहुन्छ भन्ने जहाँसम्म प्रश्न छ । मेरो सन्र्दभमा कुरा गर्नुहुन्छ भने म पूर्ण आशावादी छु, त्यस्तो अन्याय र एकलौटी कुनै हालतमा हुँदैन । पार्टी नेतृत्वबाट त्यस्तो भूल हुँदैन । पार्टीले सबैलाई समेटेर लैजान्छ भन्नेमा पूर्ण आशावादी छु ।

तेस्रो, यदि मिलाएर नलैजाने हो भने त्यसले ठूलो क्षति पुग्छ । त्यसैले परिणाम नै राम्रो आउँदैन भने टिकट दिनका लागि मात्रै एकलौटी गरेर केही फाइदा हुन्न । दुर्भाग्यपूर्ण ढंगले अन्याय नै भयो, पार्टीमा किनारा नै लगाउने काम भयो, शेखर कोइराला समूह भनेर उसको राजनीतिक हत्या गर्ने काम भयो, चलखेल भयो भने अन्याय हुन्छ । जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ र विस्फोट हुन्छ । यो लोकतन्त्र हो । यो राणा शासन होइन । त्यसैले यहाँ कसैको निरंकुशता सहेर कुनै कार्यकर्ता बस्छन् भन्ने मलाई लाग्दैन ।