रुपन्देहीको क्षेत्र नं २ बाट राजु गुरुङ उम्मेदवारका लागि अयोग्य, बाउन्स चेक दिने राजुको कम्पनीमा नेताका छोराको पनि लगानी
बुटवल, २६ असोज। रुपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधी सभामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भएको छ।
निर्वाचन आयोगले सुचना जारी गरी अदालतले बैंकिङ कसुरमा जरिवना गरेकोले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।
गुरुङलाई अदालतले बैंकिङ कसुरमा २ हजार रुपैया जरिवाना गरेको र उक्त जरिवाना सहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।
गुरुङ सहित नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाख खनालका छोरा निर्भिक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले काठमाडौँको सुर्य बिनायकको वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एण्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जीत बिष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरु बिरुद्ध २०७६ साल साउन ६ गते मुद्धा दर्ता गरेका थिए।
काठमाडौँ जिल्ला अदालतले नर्थ वेस्ट नेपाल ईन्फ्रा प्रालिका अध्यक्ष गुरुङ र सन्चालक निर्भिक चित्रकार खनाल, फुर्वा छिरीङ सेर्पा, सन्जिप राई र सक्तीमान डंगोल समेतले दिएको चेक अनादर सम्वन्धी मुद्धामा २०७८ मंसिर १२ गते उनीहरु माथी जरिवाना गर्ने फैसला गरेको थियो।
गुरुङ लगायतलाई जनही २ हजार जरिवना र २ करोड २५ लाख रुपैयाको चेक काटिएको मिति देखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिसतका दरले कानून बमोजिमको ब्याज सहित भुक्तानी दिनु पर्ने फैसला गरेको थियो।
गुरुङहरुको उक्त कम्पनीले २०७३ साल फागुन २०गते २५ लाख, फागुन ३० गते २५ लाख चैत्र १५ गते २४ लाख, चैत्र ३० गते ५४ लाख, २०७४ बैसाख १५ गते २५ लाख, बैसाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रुपैया गरी ७ वटा चेक दिएकोमा बैंकमा प्रयाप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरु बिरुद्ध उजुरी परेको थियो।
