नेप्से ११.३६ अंकले वृद्धि, कारोबार रकम पनि सुधार
काठमाडौं, २६ असोज । शेयर बजार साताको चौथो कारोबार दिन बुधबार भने दोहोरो अंकले वृद्धि भएको छ । लगातार दुई दिन घटेको बजार बुधबार ११.३६ अंकले वृद्धि भएर १८६६.५२ अंकमा बन्द भएको छ ।
दशैं पछिको पहिलो कारोबार दिन आइतबार नै ४४ अंकको उच्च वृद्धि भएको नेप्से त्यसपछिको सोमबार र मंगलबार लगातार दुई दिन घटेको थियाे । नेप्सेमा वृद्धि हुँदा उपसूचकहरुमा पनि बढेका छन् ।
नेप्सेमा सुधार हुँदा बुधबार कारोबार रकम पनि वृद्धि भएको छ । मंगलबार ५५ करोडमा झरेको कारोबार रकम बढेर करिब ७० करोड पुगेको हो । बुधबार बजारमा २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३८ हजारको कारोबार भएको छ ।
जसमध्ये नबिल बैंकको २ करोड ४० लाख १२ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड २ लाख ६४ हजार र एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर १ करोड ८९ लाख ७७ हजारको किनबेच भएको छ ।
बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर किनबेच भएकोमा १४० कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ३९ कम्पनीको घटेको छ ।
