भारतिय केरासंग प्रतिस्पर्धा गर्न नसक्दा चितवनका केराले बजार पाएन
भरतपुर, २७ असोज । भारतिय केरासंग प्रतिस्पर्धा गर्न नसक्दा चितवनका केराले बजार पाउन सकेकाे छैन । अहिले भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् ।
पहेँलै भएर पाकेका केरा बेच्न नसकेर चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गर्नुभएको छ । सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उहाँले केरा बोटमै पाकेपछि चरा र बाँदर धपाउन दुई जना मान्छे नै परिचालन गर्नुभएको छ ।
केरा उत्पादक सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका सुवेदीले उत्पादन प्रशस्त रहेको र बजारको मात्र समस्या रहेको बताउनुभयो । “यो समयमा मेरोमात्रै होइन, नेपालमै उत्पादन भएको केरा पर्याप्त छ, भारतबाट ल्याउन आवश्यक छैन ।
सबैभन्दा धेरै केरा उत्पादन हुने जिल्लामा चितवन दोस्रो स्थानमा पर्छ । केरा बिक्री नभएपछि चितवनका किसानले पटक–पटक भारतीय केरा आयात रोक्न माग गरिरहेका छन् । उनीहरूले एक–दुई महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले छठपर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गर्नुभयो ।
“छठपर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छाैं”, उहाँले भन्नुभयो, “नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार लाग्नुपर्छ ।” उहाँले केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभयो । यतिखेर नेपालमा दैनिकरूपमा केरा आयात हुँदै आएको छ । भारतबाट आएको केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन”, अध्यक्ष पन्तले भन्नुभयो ।
केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरे भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी विस्थापित हुने अवस्था आउने बताउनुभयो । “सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको छ । यहाँ विभिन्न नाकाबाट बिना एलसी भारतीय केरा अवैधरूपमा भित्रिएका छन्”, उहाँले भन्नुभयो, “यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन् ।
चितवनमा छ सय बिघामा मात्रै हरियो (जिनाइन) केरा लगाएको घिमिरेले बताउनुभयो । यो केरा एकैपटक पाक्ने भएकाले बजार नपाए सबै बारीमा नै कुहिने उहाँको भनाइ छ । केरा व्यवसायमा किसानको दिनप्रतिदिन आकर्षण भने बढ्दै गइरहेको उहाँले बताउनुभयो । चितवनमा मात्रै सात सय किसानले व्यावसायिकरूपमा केराखेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उत्पादन भएको केराको बजारको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको छ । स्वदेशमै धेरै उत्पादन भएको समयमा आयात रोकिनुपर्ने माग उनीहरूको छ । साथै उत्पादित वस्तु बिक्री नभए सरकारले किनिदिनुपर्ने उनीहरू बताउँछन् । उनीहरूले केराको मूल्य तोकेर कार्यान्वयन गराउनुपर्ने माग पनि सरकारसमक्ष राख्दै आएका छन् ।
चितवनमा मात्रै वार्षिक २ अर्बको केराको कारोबार हुने गरेको छ । जिल्लाका अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् । भारतीय केराको उत्पादन लागत कम पर्ने भएका कारण नेपाली व्यापारीले सस्तो मूल्यमा खरिद गर्ने गरेका छन् । महँगो बीउ, मल, सिँचाइ, जग्गा भाडालगायतका कारण नेपाली केराको उत्पादन लागत भारतीयको भन्दा बढी छ ।
भरतपुर महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धिताल चितवनमा भारतीय केरा नआएको बताउनुहुन्छ । अहिले मन्दीका कारण केराको बिक्रीसमेत नभएको उहाँको भनाइ छ । केराको मूल्य प्रतिकोसा रु तीनदेखि चारमा किसानको बारीबाट बिक्री हुने गरेको छ ।
