महानगरको माइन्युटमा नेपाल संवत् उल्लेख गर्न ज्ञापन

काठमाडौं, २७ असोज । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले काठमाडौं महानगरपालिकाको औपचारिक बैठकका निर्णयहरू लेखिने माइन्युटमा नेपाल संवत् पनि उल्लेख गर्न अनुरोध गरेको छ ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४३ का अध्यक्ष प्रा.डा. नरेशमान वज्राचार्यको नेतृत्वमा समारोह समितिका पदाधिकारीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपप्रमुख सुनिता डंगोललाई छुट्टाछुट्टै बुझाएको ज्ञापनपत्रमा उक्त माग उल्लेख गरिएको हाे ।

ज्ञापनपत्रमा नेपाल संवत् ११४३ नयाँ वर्षको उपलक्ष्यमा महानगरपालिकाबाट पनि नगरवासीका नाममा औपचारिक शुभकामना सन्देश जारी गर्नुपर्ने, नगरवासीहरुका बीच शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नुपर्ने, नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभुति शंखधर साख्वाःका नाममा राष्ट्रियस्तरको प्रतिष्ठान गठन गर्न नेपाल सरकारसँग समन्वय गर्नुपर्ने मागहरू पनि उल्लेख छन् ।

ज्ञापनपत्र ग्रहण गर्नुहुँदै कामपाका मेयर बालेन साहले नेपाल संवत् नेपालको राष्ट्रिय संवत् भएकोले यसको गरिमा उच्च बनाउन महानगरपालिकाले सक्दो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

त्यस्तै उपमेयर सुनिता डंगोलले आफू नेपाल संवत्को नयाँ वर्षमा आयोजना गरिने भिंतुना आन्दोलनकै एक कार्यकर्ता रहँदै आएको उल्लेख गर्दै नेपाल संवत् र शंखधर साख्वाःको सम्मानमा कुनै कमी आउन नदिने बचन दिनुभयो । यो वर्ष नेपाल संवत्को नयाँ वर्षलाई भव्य बनाउन महानगरपालिकाले पनि आवश्यक पहल गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

यो वर्ष नेपाल संवत्को नयाँ वर्ष यही आउँदो कार्तिक ९ गते (११४३ कछलाथ्व पारु) का दिन पर्न आएको छ । उक्त दिन बिहानै न्हूदँ समारोह समितिको आयोजनामा काठमाडौंको बसन्तपुरबाट बृहत् सांस्कृतिक र्यालीको आयोजना गर्ने कार्यक्रम रहेको छ । र्याली पछि बसन्तपुरमै आमसभा गरिने छ ।

हरेक वर्ष झैं यो वर्ष पनि नेपाल संवत् ११४३ नयाँ वर्षको उपलक्ष्यमा शंखधर साख्वाःको सालिकमा माल्र्यापण, मोटरसाइकल र्याली, सुकुन्दा र्याली, मैनबत्ती र्याली, मण्डप लेखन प्रतियोगिता, रक्तदान, आँखादान आदि जस्ता कार्यक्रमहरू आयोजना गरिने जानकारी न्हूदँ समारोह समितिले दिएको छ ।

काठमाडौं महानगरपालिकाले गएको दुई वर्ष अघि काठमाडौंको शंखधर उद्यानमा राष्ट्रिय विभुति शंखधर साख्वाःको पूर्ण कदको सालिक स्थापना गरेको थियो ।