भद्रगोल आयोजनाबीच भोलिदेखि नवौं राष्ट्रिय खेलकुद शुरु हुँदै (तयारीका तस्बिर सहित)

पोखरा, २७ असोज । भोलिदेखि यहाँ शुरु हुने नवौं राष्ट्रिय खेलकुदको लागि आजसम्म पनि तयारी चलिरहेको छ । भोलि पोखरा रंगशालामा एक समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ ।

प्रयाप्त तयारी बिनै आयोजना हुन लागेको यो खेलकुदका लागि आवश्यक बजेट आइनपुगेको, खेलाडीका लागि खाना र पोशाकको राम्रो व्यवस्था नभएको, अभ्यासका लागि आवश्यक खेल सामग्रीहरु उपलब्ध नगराएको, सामान खरिद र वितरणमा अनियमितता गरेको भन्ने आरोप लाग्न शुरु भइसकेको छ ।

आयोजकको भद्रगोल त कतिसम्म रह्यो भने भोलि शुक्रवार खेलकुद उद्घाटन हुँदैछ, गएको हप्तासम्म पनि कुन खेल कहाँ खेलाइने भन्ने टुंगो लाग्न सकेको थिएन । आयोजकले शुरुमा गण्डकी प्रदेशका सबै जिल्लाहरूमा कुनै न कुनै खेल आयोजना गर्ने योजना बनाएको थियो । तर अहिले कास्की, म्याग्दी, बाग्लुङ, नवलपुर, स्यांजा र पर्वत गरी छ जिल्लामा मात्र खेल हुने भएको छ ।

राम्रो रंगशाला नभएको कारणले शुटिङ र पुरुष क्रिकेट भने बागमती प्रदेशमा रहेको काठमाडौंमा हुने भएको छ ।

यो खेलकुदमा रंगशाला नहुनु मात्र होइन भएका रंगशालालाई व्यवस्थित गर्न नसक्नु पनि अर्को समस्या भएको छ । हिजो महिला हकी खेल आयोजना हुनुपर्ने थियो । तर खेल शुरु हुने निर्धारित समय पार भइसक्दा पनि रंगशालामा घाँस उखेल्न सकिएको थिएन । जसले गर्दा निर्धारित समयभन्दा ६ घन्टा पछि मात्रै खेल शुरु गरियो ।

खेल आयोजना गर्न सरकारले प्रयाप्त ध्यान र बजेट नदिएको भन्दै गत महिना नै गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनांगे) ले खेलकुद आयोजकबाट हात उठाइसक्नुभएको थियो । उहाँले यो खेलकुदमा आफूले कुनै जिम्मा लिन्न भन्दै राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुलाई जिम्मेवारी छोड्नुभएको थियो ।

शुरुमा राष्ट्रपतिबाट खेलकुद उद्घाटन हुने तय गरिएको भए पनि राष्ट्रपति अस्वस्थ हुनुभएको कारणले अब उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने भएको छ । भोलि अपरान्ह ३ बजे उद्घाटन कार्यक्रम राखिएको छ ।

भोलिबाट औपचारिक रूपमा शुरु हुने यो खेलकुद कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । खेलमा जम्मा ३६ खेल खेलाइने कार्यक्रम रहेको छ ।

पोखरा रंगशालामा भोलि हुने उद्घाटन कार्यक्रमका लागि आज भइरहेको तयारीका केही तस्बिर –