कास्कीलाई गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि
पीएम कप महिला
काठमाडौँ, मंसिर २ ।घरेलु टोली कास्कीले स्याङ्जालाई पाँच विकेटले पराजित गर्दै गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी-२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा स्याङ्जाले दिएको ८८ रनको लक्ष्य कास्कीले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर पूरा गरेको हो । जितसँगै कास्कीले प्रतियोगिताका चारवटै खेलमा विजय हासिल गर्दै आठ अङ्कका साथ उपाधि जित्न सफल भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८७ रन बनाएको थियो । उसका लागि सीमाना केसीले सर्वाधिक १६, अरमिना अधिकारीले १४, श्रेया शाहले ११ र सेरिना थापाले नौ रन जोडे । कास्कीका सीमाना रेग्मी र रिया तामाङले समान दुई विकेट लिए ।
८८ रनको लक्ष्य पछ्याएको कास्कीका लागि रेखा तामाङले अविजित २५ रन बनाउँदै टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान गर्नुभयो । ३२ बलको सामना गरेकी उहाँले दुई चौका प्रहार गर्नुभयो । त्यस्तै चन्द्रमाया बरालले २३, बिनिता सिग्देलले १० र सृजना पौडेलले सात रन बनाउनुभयो ।
स्याङ्जाका भावना भट्टराई, अपेक्षा बुढाथोकी, सलिना सेन र रञ्जना साउदले समान एक विकेट लिनुभयो । ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेकी कास्कीकी रेखा तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ स्याङ्जाकी सीमाना केसी ‘प्लेयर अफ द सिरिज’ घोषित हुनुभयो । कास्कीकी चन्द्रमाया बराल उत्कृष्ट ब्याटर तथा स्याङ्जाकी अपेक्षा बुढाथोकी उत्कृष्ट बलर घोषित हुनुभयो ।
गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेशका पाँच जिल्लाको सहभागिता थियो । चार खेलबाट आठ अङ्क जोडेको कास्की विजेता बन्दा तीन जित र एक हारसहित छ अङ्क प्राप्त गरेको स्याङ्जा उपविजेतामा सीमित भयो । नवलपुरले दुई र पर्वतले एक खेलमा जित निकाले भने बागलुङले कुनै पनि खेल जित्न सकेन ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभयो ।
