सरकारबाट हटेपछि चुनावमा जान सजिलो भएको छः राजेन्द्र श्रेष्ठ

काठमाडौं, २५ असोज । पाँच दलीय सत्ता गठबन्धनमा शुरु भएको आन्तरिक गडबडी अहिले एकले अर्को दलका मन्त्रीहरू निष्काशन गर्ने तहसम्म पुगेको छ । संघीय सरकारबाट जसपाका चार मन्त्रीहरू हटाइएका छन् भने अब जसपा नेतृत्वको मधेश सरकारबाट पनि अन्य दलका मन्त्रीहरू हटाउने तयारी शुरु भइसकेको छ । यसै क्रममा गठबन्धनबाट निस्किएको जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता एवं हिजो मात्रै पदमुक्त हुनुभएका मन्त्री राजेन्द्र श्रेष्ठसँग मैत्री न्युजले गरेको संक्षिप्त कुराकानी –

सरकारबाट त हटाइनुभएछ । अचानक जस्तो लागेन ?

गाइँगुइँ त अस्तिदेखि चलिरहेको थियो । हामी यसबारे छलफल पनि गर्दै थियौँ, हिजो निर्णय गरिहालेछ ।

सरकारको यो कामलाई के भन्नुहुन्छ त तपाइँ ?

यो वास्तवमा ‘कोलिसन कल्चर’ विपरितको काम हो । यो पहिले भएका नजिर, संविधान र सर्वोच्चको व्याख्या विपरितको पनि काम हो । सरकार काम चलाउ भएसकेपछि यसले ‘मेजर डिसिजन’ गर्नुहुँदै भनेर सर्वोच्चले व्याख्या गरेको छ । मन्त्री नियुक्ति गर्नु र हटाउनु दुवै ‘मेजर डिसिजन’ हुन् । कामचलाउ सरकारले यो गर्न पाइँदैन ।

तपाइँहरूले त गठबन्धनै छोडिसक्नुभयो नि होइन र ?

छोडेको छैन । सरकार निर्माणमा हाम्रो गठबन्धन थियो, त्यो छ पनि । सरकारलाई जसपाले दिएको समर्थन फिर्ता लिएको छैन । एमालेसँग त हाम्रो चुनावी तालमेल मात्रै हो । गठबन्धत त पाँच दलसँगै हो ।

अब यस विरुद्ध मुद्दा पर्छ होला नि, होइन ?

यो त कानूनविद्हरूले विचार गर्ने विषय हो ।

संघीय सरकारबाट तपाइँहरूलाई हटाइसकेपछि अब मधेश प्रदेशको सरकारबाट तपाइँहरुले पनि अरुलाई हटाउने कुरा पनि आइरहेका छ ।

त्यो त स्वाभाविकै हो । जुन पार्टीहरूसँग हाम्रो कुनै सम्बन्धै छैन उनीहरूलाई किन सरकारमा राखिरहने ?

सरकारबाट हटाएकोमा आक्रोश जनाएको हो कि ?

आक्रोश छैन । अब सरकारमा बसिरहे पनि एक महिना हो । त्यो एक महिना पनि काम केही गर्न पाइँदैन । यो सरकारमा बसे पनि नबसे पनि कुनै फरक पर्नेवाला छैन । बरु नबसेर मलाई चाहिँ फाइदा भएको छ ।

कस्तो फाइदा ?

मन्त्रीबाट मुक्त भएपछि मलाई अब पूर्ण रूपमै चुनावमा ध्यान केन्द्रित गरी काम गर्न सजिलो भएको छ । म पार्टीको नेतृत्वमा पनि भएको कारणले देशभरि कुद्नु पनि पर्ने हुन्छ । निर्वाचन आचारसंहिताले मन्त्रीहरूलाई अरुको चुनावी सभामा जान रोक लगाएको छ । मन्त्रीबाट मुक्त भएपछि म अब सबैको चुनावी सभाहरूमा जान सक्ने भएको छु ।

सरकारबाटै हट्नुपर्ने यो अवस्था त तपाइँहरू गठबन्धन छोडेर एमालेतिर लागेको कारण आएको हो नि । किन गठबन्धन छोडेर एमालेतिर लाग्नुभएको ?

गठबन्धन भित्रको आन्तरिक संघर्ष, सीट तालमेलमा समस्या, केही नेताहरूको राजनीतिक पूर्वाग्रह, आफू आफू मात्रै सुरक्षित हुने रणनीति जस्ता कारणले हामी चुनावका लागि गठबन्धन छोड्न बाध्य भएका थियौं ।

छोडेपछिको अवस्था के छ त ?

गठबन्धन छोडेपछि अब जसपाले सबै ठाउँमा एक्लै चुनाव लड्ने भएको छ । हामीले ६५ जिल्लामा उम्मेदवारी दिएका छौं । त्यसमध्ये एमालेसँग १२ जिल्लाका केही सीटमा तालमेल भएको छ । बाँकी सबै क्षेत्रमा हामीले सबैसँग प्रतिस्पर्धा गर्ने हो ।

एक्लै प्रतिस्पर्धा गर्दा जित्न सकिएला त ?

सकिन्छ । जसपाको पुरानै स्थान आउने गरी हामी जित्नेछौँ ।

तपाईं उठिरहनुभएको काठमाडौं–७ को अवस्था चाहिँ के छ ? त्यहाँ त एमाले र गठबन्धन दुवैका उम्मेदवार छन् ।

छन् तर उहाँहरू यो क्षेत्रका परिचित र परिक्षित उम्मेदवार होइनन् । उहाँहरूको जनाधार पनि छैन । त्यसैले यो क्षेत्रमा हाम्रो जित निश्चित छ ।

तपाईंको जितको आधार के हो ?

म पहिले पनि यही क्षेत्रबाट जितिसकेको छु । आफ्नो कार्यकालमा मैले यो क्षेत्रको विकासका लागि गरेका कामहरू स्थानीय जनताले अझै पनि सम्झिरहेका छन् । बालाजु बाइपासदेखि लामबगरसम्म बाटो बनाउने जुन काम मैले त्यतिबेला शुरु गरेको थिएँ, पछि त्यो रोकिएको छ । त्यसलाई पूरा गर्नु मेरो प्राथमिकताको विषय हुनेछ । त्यो बाटो बनेमा काठमाडौं प्रवेश गर्ने अर्को वैकल्पिक मार्ग तयार हुनेछ ।

जसपाको प्रमुख चुनावी मुद्दा के हुन्छ ?

संघीयता, समानुपातिक समावेशी संरचना, हाम्रो आफ्नै प्राकृतिक भण्डारको उपयोगबाट विकास र समृद्धि ल्याउने हाम्रो प्रमुख मुद्दा हुन् । यसको लागि निजी क्षेत्रलाई अत्यधिक अवसर दिने हाम्रो नीति हुनेछ ।

अब गठबन्धनमा रहेका अन्य पार्टीहरूसँग जसपाको सम्बन्ध कस्तो हुन्छ ?

त्यो त अब चुनावपछिको नतिजाले निर्धारण गर्छ । चुनावपछि तत्कालीन अवस्था हेरी अर्कै गठबन्धन बन्दै जान्छ ।

प्रस्तुती ः सुरेश