वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौं, ३० असोज । वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको आज आइतवार बिहान १०३ वर्ष उमेरमा निधन भएको छ ।
पाटन ग्वार्कोस्थित किष्ट अस्पतालमा उहाँको उपचार हुँदै आइरहेको थियो । उपचारकै क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा उहाँको निधन भएको हो ।
उहाँका पारिवारिक सदस्य देवकी श्रेष्ठका अनुसार हिजोदेखि नै उहाँको स्वास्थ्य ‘क्रिटिकिल’ भन्ने जानकारी अस्पतालले दिएको थियो । त्यसैले परिवारकै पनि कुनै सदस्यलाई उहाँसँग भेट गर्न दिइएको थिएन ।
अस्पताल सूत्रका अनुसार उहाँलाई डेंगू संक्रमण भएको थियो भने पछि निमोनिया र पिसाब इन्फेक्सन पनि भएकोले स्वास्थ्यस्थिति जटिल हुँदै जान थालेको थियो ।
उहाँको निधनको खबर सँगै किष्ट अस्पतालमा परिवारका सदस्य एवं अन्य मानिसहरू जम्मा हुन थालेका छन् ।
