राष्ट्रिय स्वाधीनता संकटमा पर्यो, अब कोर्स करेक्सनको समय आएको छः महासचिव पोखरेल

काठमाडौँ, २ कात्तिक । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले जनादेशबाट स्थापित सरकारलाई परमादेशको माध्यमबाट षड्यन्त्रपूर्वक विस्थापित गरिएसँगै देश चौतर्फि संकटमा रहेको उल्लेख गर्नुभएको छ ।

महासचिव पोखरेलसँग सम्बन्धित सामग्रीहरु प्रकाशन गर्ने उद्देश्यले सार्वजनिक गरिएको वेबसाइटमा मेरो तर्फबाट भन्दै उहाँले यस्तो उल्लेख गुर्नभएको छ । भर्खरै सार्वजनिक गरिएको उहाँको आधिकारिक वेबसाइटमा पोखरेलसँग सम्बन्धित सामग्रीहरु प्रकाशन गर्ने उद्देश्य रहेको उहाँका स्वकीय सचिव सरोजकुमार रेग्मीले जानकारी दिनुभयो । ‘आन्तरिक मामिलामा बाह्य हस्तक्षेप बढेको छ ।

आर्थिक सूचक कमजोर बनेका छन् । सुशासन एकादेशको सपनाजस्तो भएको छ,’ महासचिव पोखरेलले उल्लेख गर्नुभएको छ, ‘जनतामा राजनीतिप्रति वितृष्णा र भविष्यप्रति चरम निरासा बढ्दै गएको छ । यो अवस्था यसैगरी अघि बढ्ने हो भने विद्यमान राजनीतिक प्रणाली र राष्ट्रिय स्वाधीनता नै संकटमा पर्ने निश्चित छ ।

यसर्थ अब कोर्स करेक्सनको समय आएको छ ।’ उहाँले राजनीतिक स्थिरता र सुशासनमार्फत् नेपाल राष्ट्र र नेपाली जनताकोे उज्ज्वल भविष्यका निम्ति नेपाली जनताले फेरि एकपटक विवेकपूर्ण निर्णय गर्नुपर्ने भएको भन्दै निर्वाचन त्यसको निम्ति सबैभन्दा उपयुक्त अवसर भएको उल्लेख गर्नुभएको छ । ‘यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सूर्यध्वजाबाहक उम्मेदवार र एमालेसँग चुनावी सहकार्यमा रहेका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन म सम्पूर्णमा हार्दिक अपिल गर्दछु,’ उहाँले भन्नुभएको छ ।