मेरो पाँच वर्षको कामबाट जनता खुशी छन्, जितको आधार यही होः केशव पोखरेल
केशव पोखरेल बागमती प्रदेशका संस्थापक सांसद हुनुहुन्छ । ०७४ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ (२) बाट १२ हजार १ सय ५६ मतसहित विजयी हुनुहुभएको थियो । सो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार धर्मराज गौतमले ९ हजार १ सय १० मत मात्रै प्राप्त गर्नुभएको थियो । ०७४ सालमा निर्वाचित भएपछि पोखरेल निरन्तर आफ्नो क्षेत्रका मतदाताको दुःख, पीडामा सपीपमा रहेर काममा दत्तचित्त भै लाग्नुभयो । उहाँ यो पटक पनि यो क्षेत्रबाट विजयी हुने अपेक्षामा हुनुहुन्छ । कुरा गर्ने भन्दा पनि काममा विश्वास गर्ने आफ्नो शैलीलाई काठमाडौँ क्षेत्र नम्बर ९ (२)का मतदाताले विश्वास गर्ने उहाँको अपेक्षा छ । मुख्य गरेर पाँच वर्षमा गर्नै पर्ने पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कृषि र स्वरोजगार विकास जस्ता कुराको प्रतिवद्धतालाई पूरा गर्ने गरी गरेको कामको मूल्याङ्कन हुनेमा पनि उहाँ आशावादी हुनुहुन्छ । पोखरेलसँग मैत्रीन्युजले निर्वाचनसँगै केन्द्रित भएर गरेको कुराकानीः
चुनावी माहोलको कस्तो छ ?
उम्मेदवारी दर्तासँगै भेला, बैठकहरुलाई हामीले व्यवस्थित ढंगले राख्ने, योजनाहरु बनाउने जस्ता कामलाई बढी प्राथमिकतामा राखेका छौँ । अहिले पार्टीको घोषणापत्र तयार भैनसकेको अवस्थामा कार्यकर्ताबिच बृहद् छलफल गर्ने, चुनावी अभियानलाई थप व्यवस्थित ढंगले अघि बढाउने जस्ता कामलाई हामीले प्राथमिकतामा राखेका छौँ । नेकपा (एमाले)को संठन अन्य पार्टीका तुलनामा निकै गतिशील र व्यवस्थित छ । त्यसकारण पनि हामीलाई व्यवस्थित योजना बनाएर अघि बढ्न थप सहज भएको छ । त्योसँगै चुनाव परिचालन कमिटी निर्माण गर्ने, प्रचारका कार्यालयहरु स्थापना गर्ने जस्ता कार्यलाई हामीले प्राथमिकतामा राखेका छौँ ।
तपाईँ बागमती प्रदेशको संस्थापक प्रदेश सांसद हुनुहुन्छ । अहिले तपाईँ दोस्रो पटकका लागि सांसदको तयारी गर्दैगर्दा केही प्रष्ट योजनासहित अघि बढ्नु भएको होला नि ?
काठमाडौँ क्षेत्र नम्बर ९ (२)बाट म पहिलो पटक ०७४ मा निर्वाचित भएको थिएँ । यही क्षेत्रका मतदाताको अपार स्नेह प्राप्त भइ म निर्वाचित भएको थिएँ । म त्यतिबेला उम्ेमदवार बन्दा र निर्वाचित भएपछि राष्ट्रिय प्रतिवद्धता त छदैँ थिए । त्योसँगै हामीले केही स्थानीय प्रतिवद्धता व्यक्त गरेका थियौँ । मुख्य गरेर पाँच वर्षमा गर्नै पर्ने पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कृषि र स्वरोजगार विकास जस्ता कुरामा हामी केही प्रतिवद्धता व्यक्त गरेका थियौँ । यो विचमा कोभिड र राष्ट्रिय अस्थिरताका कारण हामीले चाहे जति काम गर्न नसके पनि धेरै प्रतिवद्धता भने पूरा गरेका छौँ ।
प्रदेशबाट गर्नुपर्ने र प्रतिवद्धताका आधारमा मेरो निर्वाचन क्षेत्रमा खानेपानीको करीब ९५ प्रतिशत समस्या समाधान गर्न सफल भएका छौँ । भौतिक पूर्वाधारका सन्दर्भमा पनि हामीले धेरै काम गरेका छौँ । कलंकी–नागढुंगा सडकको काम भएको छ । सितापाइलादेखि धार्केसम्मको रणनीतिक मार्गको २–३ महिना भित्र काम सम्पन्न गर्ने गरी अघि बढेको छ । स्युचाटार–भिमढुंगा सडकको २० करोडको टेण्डर प्रक्रिया अघि बढेको छ । मेरो निर्वाचन क्षेत्रमा मात्रै संघ र प्रदेशसँग समन्वय गरेर करीब ५–६ अर्बको काम हामीले सम्पन्न गर्न सफल भएका छौँ । कृषिको क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौँ ।
स्वास्थ्य क्षेत्रमा पनि हामीले भवन निर्माण गर्नेलगायतका काम सम्पन्न गरेका छौँ । विद्यालयकै सन्दर्भमा कुरा गर्ने हो भने हामीले १९ वटा भवन निर्माण सम्पन्न गरेका छौँ । रोजगारी सिर्जनका गर्ने सन्दर्भमा पनि हामीले धेरै काम गरेका छौँ । मेरो क्षेत्रमा भर्खर गाउँबाट नगर बनेको क्षेत्र पनि पर्छ । यसलाई व्यवस्थित नगर बनाउने काममा पनि हामीले यो पाँच वर्षमा धेरै प्रयास गरेका छौँ । तर, यो विषयमा अझै धेरै गर्नुपर्ने आवश्यकता छ । यी लगायतका अधुरा कामलाई सम्पन्न गर्नका लागि पनि मेरो उम्मेदवारी हो । अहिले पनि म उम्मेदवार रहिरहेका बेला हामीले उठाउने पर्ने कुरा र स्थानीयहको समस्यामा बढी केन्द्रित भएर लागेका छौँ ।
पाँच वर्षमा तपाईँले यो क्षेत्रमा गरेको कामबाट तपाईँ आफैँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म काममा बढी विश्वास गर्छु । जनताको बिचमा बसेर उहाँहरुका आवश्यकताका आधारमा काम गर्दा जत्तिको आनन्द मलाई अरुबाट प्राप्त हुन्न । जहाँसम्म यो क्षेत्रमा म सांसद निर्वाचित भएर आएपछि गरेका कामको सन्दर्भ छ । म निर्वाचित भएदेखि नै ‘हामी जनप्रतिनिधि मालिक होइन, सेवक हुँ’ हेतूले काम गर्दै आएको छु । मैले निर्वाचित भएपछि पनि जनतालाई म तपाईँहरुले खोजेका बेला उपस्थित हुन्छु भनेको थिएँ ।
अहिले पनि त्यहि प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । मलाई जहाँसम्म लाग्छ, हामीले गरेका कामको यो क्षेत्रमा सकारात्मक सन्देश गएको छ । एक पटक जितेर गएपछि मैले गरेका कामको मूल्याङ्कन गर्दै अधुरा काम पूरा गर्न एक पटक फेरि तपाईँको आवश्यक छ भन्ने यहाँका मतदाताको आग्रहलाई समेत स्वीकार गर्दै मेरो उम्मेदवारी रहेको छ । प्रदेशको कामलाई अझ बढी शसक्त बनाउने, संघीयतालाई अझ मजबुद बनाउने र प्रदेशको भूमिकालाई अझ देखाउने गरी लैजानका लागि पनि मेरो उम्मेदवारी हो । मेरो कामबाट म होइन जनता सन्तुष्ट हुनुहुपर्छ भन्ने मेरो मान्यता हो, मलाई जहाँसम्म लाग्छ, यहाँका जनता सन्तुष्ट हुनुहुन्छ ।
अघिल्लो पटक तपाईँ बामगठबन्धनबाट निर्वाचित हुनुभएको थियो । यो पटक परिस्थिति फेरिएको छ । तपाईँहरु एक्लै र अन्यको गठबन्धन छ । चुनावी माहोल तपाईँको पक्षमा पार्न सम्भव कत्तिको छ ?
काठमाडौँका मतदाताहरु आदर्नीय आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरु जस्ले हिजो हामीलाई निर्वाचित गर्नुभएको थियो । त्यतिबेला नेकपा माओवादीसँगै थियो । त्यो निर्वाचनमा करीब ३ हजार बढी मत ल्याएर म विजयी भएको थिएँ । अहिले हामी निर्वाचनको मैदानमा जाँदै गर्दा राष्ट्र र राष्ट्रियताको मुद्धालाई बलियोसँग उठाएका छौँ । चुच्चे नक्शा नेकपा (एमाले)कै नेतृत्वमा जोड्ने काम भयो । अब त्यो भूमिलाई फिर्ता गराउने पहल एमालेकै नेतृत्वमा मात्रै सम्भव छ । विकास निर्माणको नेतृत्व गर्ने पनि एमालेले नै हो । यी मुद्धासहित हामी चुनावी अभियानमा छौँ । जुन मुद्धा अन्य दलका भन्दा बढी राष्ट्रवादी छन् र जनताले विश्वास गर्ने खालका पनि छन् । मुलुक संघीयतामा प्रवेश गरेपछि पालिकालाई बलियो बनाउने भूमिकामा पनि एमाले नै रहेको छ । यी र यस्ता छाप अहिले जनताको मानसपटलमा छन् । हाम्रो जित्ने आधार यो पनि हो भन्ने लागेको छ ।
गठबन्धनको सन्दर्भमा तपाईँको बुझाई के–छ ?
गठबन्धनको सन्दर्भमा कुरा गर्दा सबै भन्दा पहिला उनीहरुको घोषणापत्र नै छैन । आफ्नो काम के–हो र सैद्धान्तिक सवाल के–हो त्यो पनि छैन । त्यसैले यो लुटतन्त्रका लागि मात्रै गठबन्धन आएको हो भन्ने कुरा जनमानसले बुझेका छन् । सरकारको एक वर्षको कामले मानिसहरु दिक्क भएको अवस्था छ । अर्थतन्त्र तहसनहस भएको अवस्था छ । विकास निर्माणका कामहरु अघि बढेका छैनन् । राष्ट्रिय राजनीतिको सवाल डामाडोल भएको छ । असंलग्न परराष्ट्र नीति विपरीतका काम गठबन्धनको सरकारले गरेको छ । समग्रमा भन्ने हो भने देशलाई स्वाधिनताबाट धकेलेर परनिर्भर बनाउने काम यो गठबन्धनको सरकारले गरेको छ । यी सबै कुरा हेर्दा यो गठबन्धन नै अपवित्र छ । यो गठबन्धनको ध्येय भनेको जसरी पनि जित्ने र मुलुकलाई बर्बादीतर्फ लैजाने भन्दा बाहेक केही छैन । देश डुवाउने गठबन्धन भन्दा मुलुकलाई स्थायीत्व दिने नेकपा (एमाले)को पक्षमा जनमहोल सिर्जना भएको छ ।
मेरो क्षेत्रका मतदाताले पनि यो कुरालाई राम्ररी हेक्का राख्नुभएको छ भन्नेमा म पूर्ण आशावादी छु । त्यसैले देशलाई जिताउने हो भने अहिले एमालेलाई जिताउनुको अर्को विकल्प छैन । यी आधारले पनि म यो क्षेत्रबाट पहिलाको भन्दा अझ बढी फरक अन्तरमा निर्वाचन जित्छु भन्नेमा आशावादी छु ।
तपाईँ अहिले चुनावी अभियानमा हुनुहुन्छ । तपाईँले भने जस्तै मतदाताको आकर्षण एमालेप्रति देखिन्छ ?
सबै भन्दा पहिलो कुरा त यहाँका मतदाताले हिजो देखाएका धेरै समस्या अहिले समाधान भैसकेका छन् । त्यसकारण पनि यहाँका मतदाता खुशी हुनुहुन्छ । उहाँहरुले हामीसँग बाँकी काम पूरा गर्ने जिम्मेवारी पनि यो पटक एमालेबाटै होस् भन्ने चाहना राख्नुभएको छ । अर्को भनेको म निर्वाचित भएपछि मतदाताको साथमै रहेर यहाँको विकास निर्माणको काममा निरन्तर लागिरहेँ । यो जनतासँगको घुलमिललाई पनि उहाँहरुले सकारात्मक रुपमा लिनुभएको छ भन्ने मैले ठानेको छु । उहाँहरुले पनि मैले पाँच वर्षमा गरेको कामबाट उत्साहित भएको आभास गर्नुभएको छ ।