एमालेले यो क्षेत्रमा गरेको विकास, लोकप्रियता र मेरो अनुभव जितका आधार हुन्ः हरिकृष्ण डंगोल
काठमाडौँ क्षेत्र नम्बर ९ (१) बाट नेकपा (एमाले) का तर्फबाट हरिकृष्ण डंगोल उम्मेदवार हनुहुन्छ । उहाँ वडा नम्बर २२ को पूर्व अध्यक्ष पनि हो । लामो समयदेखि राजनीतिमा सक्रिय र इमान्दार छवी बनाउनु भएका हरिकृष्ण डंगोल यो क्षेत्रबाट जितको अपेक्षामा हुनुहुन्छ । उहाँसँग आगामी मंसिर ४ मा हुने निर्वाचनसँग केन्द्रित भएर मैत्रीन्युजले गरेको कुराकानीः
अहिले चुनावी तयारी कस्तो भैरहेको छ ?
हामी अहिले मुख्य गरेर चुनावी प्रचार अभियानलाई तिव्र बनाउने, घरदैलो कार्यक्रम गर्ने, मतदातासँग उहाँहरुको राय बुझ्ने, क्षेत्र भित्रका संगठनलाई थप व्यवस्थित गर्दै निर्वाचन केन्द्रित कार्यक्रममा सक्रिय बनाउने लगायतका कार्यमा व्यस्त बनेका छौँ ।
निर्वाचनको मैदानमा जाँदै गर्दा एजेण्डा के–के लिएर जानु भएको छ ?
०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट नेकपा (एमाले) नै विजयी भएको थियो । यो निर्वाचन क्षेत्रबाट एमालेका तर्फबाट डाक्टर अजयक्रान्ति शाक्य निर्वाचित हुनुभएको थियो । उहाँ यो क्षेत्रको सांसद मात्रै हुनुभएन । यहि क्षेत्रबाट निर्वाचित भएर जानु भएका डाक्टर शाक्यले बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने अवसर प्राप्त गर्नुभयो । उहाँले पाँच वर्षमा यो क्षेत्रका मूर्त संम्पदाको पुनर्निर्माण र अमूर्त सम्पदाहरुको संरक्षणमा निकै ठूलो योगदान गर्नुभएको छ । यस्तै उहाँको नेतृत्वमा यस क्षेत्रमा यहाँको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विगत पाँच वर्षमा निकै ठूलो परिवर्तन सम्भव भएको छ ।
०७४ को स्थानीय तह निर्वाचनबाट यहि क्षेत्रका विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो । उहाँको कार्यकालमा पनि यो क्षेत्रको विकासका लागि सकारात्मक योगदान भएको थियो । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ पनि यहि क्षेत्रबाट संघीय सांसद निर्वाचित हुनुभएको थियो । उहाँले शहरी विकास मन्त्रालय र पछि शिक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभयो । यसरी हेर्दा विगतको पाँच वर्षमा स्थानीय, प्रदेश र संघमा एमालेकै नेतृत्व रहेको थियो । स्थानीय, प्रदेश र संघको समन्वयमा यो क्षेत्रमा धेरै सकारात्मक काम भएका छन् ।
केही काम कोभिडलगायतका कारणले पूरा हुन सकेका छैन । आगामी मंसिर ४ को निर्वाचनपछि एमाले संघ र प्रदेशमा निर्वाचित हुनेछ । निर्वाचित भएपछि हामी यो क्षेत्रको विकास र समृद्धिका लागि दत्तचित्त भएर लाग्ने छौँ । अघिल्लो पटक जनप्रतिनिधिले गरेका कामको मूल्याङ्कन गर्दै बांकि कामलाई पूरा गर्ने छौँ । राष्ट्रिय राजनीतिमा एमालेले खेलेको राष्ट्रवादी भूमिकालाई पनि यो निर्वाचनमा हामी एजेण्डा बनाएर जान्छौ ।
प्रदेश सांसदको अर्को प्रमुख काम विधायिकाको पनि भएकोले मैले जनताको पक्षमा जनहितका लागि नियम ऐन कानुन बनाउन लागि पर्नेछु ।
तपाईको क्षेत्र विकासको योजना के छ ?
मलाई पार्टीले विश्वास गरेर टिकट दिएको छ । अब यहाँको जनताको मन जितेर मैले निर्वाचित हुनुपर्ने छ । मैले माथि पनि उल्लेख गरेँ अहिलेसम्म एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले गरेको विकास निर्माण र सम्पदा निर्माण–पुनर्निर्माणको कामलाई आधार मानेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । अहिले म उम्मेदवार बन्दै गर्दा चुनाव जितेपछि सबै भन्दा पहिला मैले आफ्नो क्षेत्र, त्यसपछि जिल्ला र समग्र प्रदैशकै लागि के–के गर्ने सकिन्छ भन्ने योजना बनाउनु आवश्यक हुन्छ । म ती केही योजनासहित उम्मेदवार बनेको हुँ । पूर्वाधार विकास, मूर्त अमूर्त सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, प्रविधि आदि विविध क्षेत्रमा मेरो क्षेत्र नं. ९(१) एवं बागमति प्रदेशको विकासमा मेरो योगदान रहने छ ।
देशमा अब राजनीतिक क्रान्ति पूरा भएको छ । अब मुलुकलाई समृद्धितर्फ दो¥याउनु पर्ने जिम्मेवारी सबै राजनीतिक दलको काँधमा आएको छ । कुनै दलबाट टिकट लिएर उम्मेदवार बनेपछि केही प्रष्ट योजनाहरू ल्याउन सक्नुपर्छ । मुलुकमा राजनीतिका नाममा धेरै विकृति–विसंगतिहरु भित्रिएका छन् । मुलुक अराजकतातिर उन्मुख भइरहेको हो कि भन्ने अनुभूति जनताले गर्न थालेका छन् । हामीले माथिदेखि तल्लो तहसम्म देखा परेका विकृतिहरुको अन्त्य गर्न जरुरी छ । झन् नयाँ पुस्तामा देशमा देखिएका विकृतिले धेरै नैराश्यता छाइसकेको छ । अधिकांश युवा अवसरका लागि विदेशीन बाध्य भएका छन् । यी सबै कुराको न्युनिकरण गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लान आवश्यक छ । म यसमा दिलोज्यान दिएर लाग्ने छु ।
काठमाडौँ ९(१) साँस्कृतिक र धार्मिक महत्वको क्षेत्र हो । यहि क्षेत्रबाट उम्मेदवार बन्दै गर्दा संस्कृति–सम्पदाका बारेमा पनि केही योजना होलान नि ?
हो, काठमाडौँ धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरात्वात्कि महत्वको जिल्ला हो । यहाँका सांस्कृतिक धरोहरको संरक्षण तथा प्रर्वद्धन गर्दै यस क्षेत्रलाई ‘हेरिटेज’ संरक्षण क्षेत्रका रूपमा स्थापित गर्नेछु । साथै यस क्षेत्रलाई स्मार्ट क्षेत्रका रुपमा विकास गर्न लागि पर्ने छु ।
जितको हिसावमा एमाले एक्लैले २१ मा पुरै प्यानल र वडा नं. २२ मा वडा अध्यक्ष सहित सदस्य, १४ मा सदस्यहरु २ जना विजयी हात पारेको छ भने १२ मा कांग्रेसले जित निकालेको छ । मतको हिसावमा यो क्षेत्रबाट एमालेले ९ हजार ६ सय २४ र कांग्रेसले जम्मा ८ हजार ६ ५० मत प्राप्त गरेको छ । यो क्षेत्र ०७४ को स्थानीय निर्वाचनमा एमालेले ४ वटै वडामा जित निकालेको थियो
यस्तै काठमाडौँ देशको राजधानी पनि हो । त्यसैले यहाँको विकासले देशको चित्र कोरेको हुन्छ । यही हेरेर समग्र देशको मूल्याङ्कन गरिन्छ । त्यसैले यो क्षेत्रको विकास भनेको देशको विकास हो । म धेरै भाषण गर्ने, जनतालाई बढी भन्दा बढी आश्वासन दिने र अन्त्यमा केही नगर्ने स्वाभावको व्यक्ति होइन । जति गर्न सकिन्छ त्यति मात्र बोल्नुपर्छ भन्ने मेरो मान्यता छ ।
तपाईँले चुनाव जित्ने आधार के छ ?
यो विगतदेखि नै एमालेको पकट क्षेत्रका रुपमा स्थापित छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने पनि यो क्षेत्रमा एमाले बलियो छ । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाका चार वटा वडा १२, १४, २१ र २२ रहेका छन् । जितको हिसावमा एमाले एक्लैले २१ र २२ मा विजयी हात पारेको छ भने १२ र १४ कांग्रेसले जित निकालेको छ । वडाको हिसावमा दुई वडा मात्रै जिते पनि मतको हिसावमा यो क्षेत्रबाट एमालेले ९ हजार ६ सय २४ र कांग्रेसले जम्मा ८ हजार ६ ५० मत प्राप्त गरेको छ । यो क्षेत्र ०७४ को स्थानीय निर्वाचनमा एमालेले ४ वटै वडामा जित निकालेको थियो । त्यसकारण पनि यो निर्वाचन क्षेत्रबाट एमालेलाई जित निकाल्न सहज छ ।
दोस्रो, म यहीको स्थानीय व्यक्ति हुँ । मैले यही क्षेत्रको विद्यालयमा अध्ययन गरेँ । मैले यही क्षेत्रका बाटा–घाटामा बाल्यकाल विताए । मैले यहाँका जनताको दुःख, सुखलाई राम्ररी बुझेको छु । यहाँको धर्म, संस्कृति, रिति–रिवाजका बारेमा जानकार छु । यहाँको विकास कसरी गर्नुपर्छ त्यो पनि राम्ररी थाहा छ ।
म पहिला काठमाडौं वडा नं. २२ को निर्वाचित वडाअध्यक्ष भएर काम गर्दा पनि जनताको सेवक भएर काम गरेँ । म आफूलाई कहिल्यै पनि शाषकका रुपमा प्रस्तुत गर्न चाहन्न संधै जनताको सेवक भएरनै काम गर्दै आइरहेको छु । समाज सेवामा संलग्न हुंदा होस् जनप्रतिनिधि हुंदा होस् म संधै नम्रताका साथ जनताको पीर मर्का र समस्या समाधानका लागि रातदिन सेवक भएर नै लागि रहेको व्यक्ति हुं । यी सबै मेरा जितका आधार हुन् ।