यहाँको संस्कृति, सम्पदा र जात्रा–पर्वको संरक्षण र संवर्धन मेरो पहिलो प्राथमिकता होः निरेसलाल सिंह महर्जन

युवा संघ नेपालमा लामो समय काम गर्नुभएका निरेसलाल सिंह महर्जन काठमाडौँ क्षेत्र नं ६ (१) मा नेकपा एमालेकोतर्फबाट उम्मेदवार बन्नुभएको छ । अहिले मुख्य गरेर चुनावी प्रचारको अभियानमा सक्रिय महर्जनले नेवारी संस्कृति झल्किने पोशाकलाई प्राथमिकतामा राखेपछि थप चर्चा चुलिएको छ । काठमडौँ नेवारी संस्कृति र परम्पराले धनी जिल्ला हो । अझ त्यसमा पनि क्षेत्र नम्बर ६ र प्रदेशसभा (१) भित्री सहरसँग बढी केन्द्रित छ । यहाँको संस्कृति र सम्पदाको जगेर्नाका लागि अहोरात्र खट्दै आउनु भएको महर्जनको यो शैलीले मतदातामा थप सकारात्मक प्रभाव पारेको छ ।
नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ६ (१ ) का संयोजक समेत रहनु भएका महर्जन उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा टोखा नगरपालिका २ वडा र काठमाण्डौ महानगरपालिकाका ३ वडा पर्दछन् । यसरी यी क्षेत्रमा एमाले बलियो रहेका कारण पनि उहाँलाई जित सहज बनेको अनुमान गर्न सकिन्छ । महर्जनसँग चुनाव केन्द्रित भएर मैत्रीन्युजले गरेको कुराकानीः
चुनावी प्रचार अभियानमा हुनुहुन्छ । कस्तो प्रतिक्रिया प्राप्त भैरहेको छ ?
हामी अहिले चुनावी अभियानमा छौँ । चुनावी अभियानका सिलसिलामा मतदाताको घरदैलोमा पुग्दा हामीलाई मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । धेरैले तपाईँ जस्तो नयाँ र युवा अनुहार उम्मेदवार बनेर आउँदा खुशी लागेको छ भनेर उत्साह व्यक्त गर्नुभएको छ । हाम्रो काठमाडौँ क्षेत्र नम्बर ६ को प्रतिनिधि र प्रदेश गरी ३ वटै उम्मेदवार नयाँ हुनुहुन्छ । त्यसकारण पनि मतदातामा थप उत्साह बढेको हामीले महशुस गरेका छौँ । धेरै ठाउँमा मतदाताले हामीलाई बोलाएर यहाँ कार्यक्रम गरेका छौँ । तपाईँहरु आइदिनु पर्यो भनेर भन्नुहुन्छ । यो भनेको उहाँहरु हामी भन्दा बढी हाम्रो जितको अभियानमा लाग्नु भएको छ भन्ने सन्देश पनि हो ।
तपाईँ युवा संघमा बसेर लामोे समय काम गर्नुभयो । अहिले सांसदका लागि नयाँ हुनुहुन्छ । अनुभवचाँहि कस्तो गर्नुभएको छ ?
मेरो सन्दर्भको कुरा गर्ने हो भने म उम्मेदवारको हिसावमा नयाँ हुँ । तर, संगठन निर्माण र योगदानको हिसावमा म पुरानो हुँ । म उम्मेदवार बन्नु भन्दा अघि पनि यो क्षेत्रको माटो र यहाँका जनताको विचमा रहेको व्यक्ति हुँ । म यहाँको माटोसँग राम्ररी परिचित छु । मैले यहाँका वेथितिका विरुद्ध लड्दै आएको छु । यहाँको विकास निर्माणका सन्दर्भमा मैले सक्दो प्रयास गर्दै आएको छु । यहाँको कला, संस्कृति र सम्पदाको संरक्षण र संवर्धनका लागि म निरन्तर लड्दै आएको व्यक्ति हुँ ।
यहाँका जात्रा–पर्व, मूर्त–अमूर्त सम्पदाको संरक्षण र संवर्धनका लागि पनि म निरन्तर संलग्न रहँदै आएको छु । म स्थानीय हुनुको नाताले पनि म यहाँका मतदाताले बुझेको व्यक्त हुँ भन्ने लागेको छ । त्यसकारण मैले अब साच्चिकै जनप्रतिनिधिको हैसियतमा थप जिम्मेवारी बोधसहित काम गर्ने अवसर यहाँका मतदाताबाट प्राप्त हुन्छ भन्ने आशावादी छु । यसकारण पनि म उत्साहित छ । जहाँसम्म पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाएको छ । पार्टी र नेतृत्वप्रति पनि खुशी व्यक्त गर्न चाहन्छु ।
तपाईँले यो क्षेत्रबाट जित्छु भन्ने आधारचाँहि के–छन् ?
मैले मेरो जितका केही आधार माथि पनि उल्लेख गरिसकेको छु । त्योसँगै मेरो पार्टी नेकपा (एमाले)ले अघि सारेको समृद्ध नेपाल खुशी नेपालीको नारा र राष्ट्र बनाउने प्रष्ट भिजन पनि मेरो जितको अर्को आधार हो भन्ने ठानेको छु । त्यसैगरी प्रदेश स्तरमा पनि पार्टीले आफ्नो एजेण्डासहित अघि बढेको छ । जुन एजेण्डा राष्ट्र र राष्ट्रियताप्रति बढी केन्द्रित छन् । अहिले चुनावी मैदानमा जाँदै गर्दा एमालेलाई गाली गर्ने बाहेक गठबन्धनसँग कुनै एजेण्डा छैनन् । तर एमाले प्रष्ट एजेण्डासहित चुनावी मैदानमा छ । पनि पनि मेरो जितको अर्को आधार हो भन्ने लागेको छ । म उम्मेदवार भन्दै गर्दा यो क्षेत्रका समस्यालाई मिहिन ढंगले अध्ययन गरेर अघि बढेको छु । जितेपछि यो क्षेत्रको संस्कृति सम्पदा, जात्रा–पर्व, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका लागि के गर्ने भन्ने एजेण्डा पनि हामीसँग छ । हाम्रा एजेण्डाहरुमा यहाँका स्थानीयले दिएका सुझावलाई समेत ग्रहण गर्दै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
उम्मेदवारहरु निर्वाचनका बेला आउँछन्, जितेपछि हराउँछन् भन्ने आरोप छ । तपाईँ यहिँको माटोमा हुर्केको उम्मेदवार हुनुहुन्छ । तपाईँ भित्रि सहरको उम्मेदवार पनि हुनुहुन्छ । त्यसैले जितेपछि यहाँको संस्कृति र सम्पदाका बारेमा केही गर्छु भन्ने प्रष्ट योजना छ ?
म अहिले जिम्मेवारीमा नहुँदा पनि निन्तर लागिरहेको छु । जिम्मेवारीमा रहेपछि मलाई थप चुनौति हुनेछ र त्यो चुनौतिको पहाड फुटाउँदै अघि बढ्ने छु । यहाँका स्थानीय जात्रा–पर्वका बारेमा म धेरै जानकार छु । ती जात्रा–पर्वको महत्वलाई अझ बढाउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । ठमेलको ‘पर्यटन हव’लाई थप व्यवस्थित गर्ने, ठमेललाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने जस्ता कुरामा पनि मेरो थप योगदान रहने छ ।
हो, अहिले पनि धेरै मतदाताले हामीलाई गर्ने गुनासो भनेको चुनावका बेला आउनुहुन्छ । चुनाव जितेपछि भेटिन्न भन्ने छ । म मतदाताहरुलाई विश्वास दिलाउन चाहन्छु । म अहिले पनि तपाईँहरुको साथमा छु र भोलि पनि तपाईँहरुकै साथमा रहनेछु ।
तपाईँहरु अहिले एक्लै चुनावी मैदानमा हुनुहन्छ । प्रतिस्पर्धीहरु गठबन्धनसहित चुनावी मैदानमा छन् । यसकारण पनि तपाईँहरुलाई अलिक कठिन होला भन्ने लागेको छ कि छैन ?
काठमाडौँ क्षेत्र नम्बर ६ मा अहिलेको सन्दर्भमा भन्ने हो भने गठबन्धन कायम भएको अवस्था छैन । गठबन्धन भएकै ठाउँमा पनि आफु–आफू भित्रकै किचलोका कारण समस्या देखिएको छ । यो क्षेत्रको उम्मेदवारको विषयलाई लिएर माओवादीलगायतका दल पनि सन्तुष्ट नभएको हामीले पाएका छौँ । यद्यपि, यो उहाँहरुको कुरा भयो । हामी अहिले एकतावद्ध भएर सूर्यध्वजाबहाक उम्मेदवारलाई जिताउने योजनाका साथ मैदानमा छौँ । यो हाम्रो शक्ति पनि हो । हामीले स्थानीय तहको निर्वाचनको आँकलन गर्ने हो भने पनि हामी यो क्षेत्रमा बलिया छौँ । यो पनि हाम्रो जितको आधार हो भन्ने लागेको छ । टोखा नगरपालिकाकै सन्दर्भका कुरा गर्ने हो भने पनि हामीले ११ मध्ये ९ वटा वडामा जित हात पारेका छौँ । यी विविध कारणले हामी जितको नजिक छौँ भन्ने लागेको छ ।
हाम्रो योजना र भिजन पनि जितको आधार हो भन्ने लागेको छ । अहिले प्रतिस्पर्धी दलको कुरा गर्ने हो भने समृद्धिका कुनै एजेण्डा छैनन् । यो पनि हाम्रो जितको आधार हो भन्ने लाग्छ । उनीहरुसँग राष्ट्र र राष्ट्रियताका सन्दर्भमा सकारात्मक भूमिका खेल्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाउने बाहेक उनीहरुसँग कुनै एजेण्डा छैनन् । हामी सैद्धान्तिक र राजनीतिक रुपमा पनि बलियो छौँ । त्यसकारण पनि हामी जितका नजिक छौँ भन्ने लागेको छ ।