गोयबल्स शैलीमा प्रतिगमन भन्नेहरुसँग संविधान अगाडि राखेर ‘लाइभ डिवेट’ गर्न तयार छु

यहाँलाई हार्दिक स्वागत छ, सच्चै हुनुहुन्छ ?

धन्यवाद, ठिकै छ ।

दौडधुप अलिक बढी नै छ, है ?

ठिकै छ ।

चुनावी प्रचार अभियानमै कहिले झापा, कहिले काठमाडौँ हुनुहुन्छ । माहोल कस्तो आइरहेको छ ?

अत्यन्त राम्रो छ । विभिन्न कार्यक्रमा जनताको सहभागिता र विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको लहरले जनताको एमाले प्रति बढेको विश्वास, भरोसा र आकर्षणलाई प्रतिविम्बित गर्छ ।

त्यस आधारमा हेर्दा आगामी निर्वाचन असाधारण ढंगले र मानिसहरुले सोचेको भन्दा फरक ढंगले नेकपा (एमाले)को पक्षमा आउँछ । परिस्थितिले निर्वाचन यतिखेर नै आइपुग्यो । हामीले चुनाव यतिखेर नै गर्नुपर्छ भनेर जोड पनि दिएका हौँ ।

यद्यपि, ६ महिनापछि निर्वाचन हुने हो भने हामीले प्रचारमा पनि जानुपर्ने अवस्था आउने थिएन । गठबन्धन चकनाचुर हुन्थ्यो, ध्वस्त हुन्थ्यो, पग्लिन्थ्यो । आफैँ विलय भएर जान्थ्यो । गठबन्धनमा बेथिति कानुनको पालना नगर्ने र अनियमिता डरलाग्दो देखिएको छ । अर्थतन्त्र डामाडोल भएको छ, धन्न निर्वाचन आइहाल्यो । ६ महिनापछि निर्वाचन हुन्थ्यो भने हामीले सायद जनतासँग भोट मागिरहनु पर्ने अवस्था नै सायद आउँदैनथ्यो होला । ६ महिना यहि सरकार रहने हो र निर्वाचन ६ महिना पछि मात्रै हुन्थ्यो भने देश निस्किनै मुस्किल पर्ने बरबादीमा जान्थ्यो । यदि यो पटक एमालेले नजित्ने हो भने देशको भविष्य साँच्चै अन्धकारतर्फ धकेलिदैँ छ । राजनीतिक, सामाजिक, आर्थिक साँस्कृतिक हिसावले सवत्र्र विशृङ्खलता हुनेछ ।

प्रतिगमनबाट जोगाउन देशको रक्षा गर्ने भन्दै देशलाई प्रतिगमन र अधोगतितर्फ धकेलिरहेका छन् । संविधान, थिति, विधिलाई मिच्ने काम भैरहेको छ । समग्रमा मुलुक बेथितिमा चलिरहेको छ । अराजकतामा मुलुक चलिरहेको छ । यहि गठबन्धन अरु एक वर्ष रहने हो भने देशको अर्थतन्त्र सम्हाल्न मात्रै पनि कम्तीमा पाँच वर्ष लाग्छ । अहिले नै एक–दुई वर्ष त मुलुक सम्हाल्न लाग्ने स्थिति भैसक्यो । त्यो कुरा जनताले राम्ररी बुझिसकेका छैनन् । नीजि क्षेत्रले केही बुझेको छ । नीजि क्षेत्र छटपटाएको छ । देशको आर्थिक अवस्था जसले बुझेको छ । ती व्यक्तिहरु छटपटाएका छन् ।

जनतालाई चाँहि तपाईँहरुले कत्तिको बुझाउनु भएको छ ?

हामी बुझाउँदै छौँ । जनताले आफ्नो क्रयशक्ति घटेको र बजार भाउ बढेको त बुझेको छ नि । यो १६ महिनामा विकास निर्माण ठप्प भएको पनि त सर्वसाधारणले थाहा पाएको छ ।

तपाईँ प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी बने । द्रुतमार्गको सरुवात भयो । सुरुङयुगको सुरुवात भयो । अन्तराष्ट्रिय विमास्थलहरु बने । तर, चर्चा भन्दा बढी आलोचना भयो । तपाईँहरुले प्रचार गर्न नसकेको हो ?

प्रचार–प्रसारको कमी भयो होला । हामी बाहिरी सहयोग होइन जनताको आर्शिवादमा चल्यौँ । हामीले जनतामा हाम्रा कुरा पुर्याउने चाहना राख्यौँ । सय पटक झुट कुरालाई सत्य भनेर बोल्यो भने त्यो सत्य हुन्छ भन्ने ‘गोयबल्स शैली’मा कांग्रेस, माओवादीहरुले झुट बोल्ने र त्यो झुटलाई सत्य स्थापित गर्न खोज्ने शैलीका कारण पनि केही समस्या भए । जस्तै कांग्रेस, माओवादीहरुसँग भन्ने अरु केही छैन । त्यहि भएर उनीहरु प्रतिगमन, प्रतिगमन भनेर कराएका कराएकै छन् ।

तपाईँहरुको नेकपा (एमाले)कै पहिलाका वरिष्ठ नेता माधवकुमार नेपालले त केपी ओलीलाई यो पटक कमजोर बनाउन सकेनौँ भने देश छाडेर भाग्नुपर्ने अवस्था आउँछ भन्नेसम्मका अभिव्यक्ति दिनुभएको छ, यसलाई के भन्नुहुन्छ ?

उहाँहरुले कस्तो भ्रष्ट्राचार गरेको छ भनेर स्वीकारेको होला ! ऊ आयो भने कारवाही हुन्छ भनेको त होला ! के भनेको थाहा छैन । तर, त्यस्तो भनेकोचाँहि सुनियो ।’ देश छाडेर किन जानु पर्यो ? देश छाडेर किन भाग्नु पर्यो भन्दा त्यस्तै केही होला ।’ डराउनु पर्ने कुनै आवश्यकता छैन । हामी कुनै राजनीतिक प्रतिशोधको खेल खेल्दैनौँ । देशै छाडेर भाग्नु पर्ने आशंका उहाँहरुलाई किन भयो म जान्दिन । के गल्ती उहाँहरुले गर्नुभएको छ । के–को त्रासले उहाँहरुले भाग्ने भन्नु भएको हो थाहा भएन । उहाँहरुको सरकार बन्दा त आफूहरु देश छाडेर भाग्नु परेन, हामी भागेनौँ । उहाँहरुको जस्तो दमनकारी, पूर्वाग्रही, प्रतिशोधी, निषेधकारी सरकार हुँदा त हामी प्रतिस्पर्धा गरिहेका छौँ । पञ्चायतकालमा निरंकुश व्यवस्था हुँदा पनि देश छाडेर भागेनौँ । हामीले त्यसलाई पल्टाएर छाड्यौँ ।

पछिल्लो समय तपाईँ सामाजिक सञ्जालमा बढी सक्रिय देखिन थाल्नुभएको छ । तपाईँले युरोप–अमेरिकातिरको प्रणालीलाई आत्मसाथ गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग नै ‘लाइभ डिवेट’ गर्ने घोषणा गर्दै नयाँ कुराको थालनीको उठान गर्नुभयो । तपाईँले यस्तो माग गर्दै गर्दा गठबन्धन भने तपाईँप्रतिको दुर्वाच्य नीतिमा छन् । थोरै तपाईँको लाईभ डिवेट नीतिबारे प्रष्ट पार्दिनु न ?

जो–सँग जे छ उसले त्यहि देखाउने हो, प्रस्तुत गर्ने हो । हामीसँग देश बनाउने दृष्टिकोण छ, भिजन छ । हामी त्यो प्रस्तुत गर्छौ । हामीसँग नीति छ, कार्यक्रम छ । हामी त्यो प्रस्तुत गर्छौ । हामीसँग कसरी जाने भन्ने विकासका नमूना छन्, वाटो छ । हामी त्यो प्रस्तुत गर्छौ । हाम्रो छिट्टै प्रस्तुत हुने घोषणापत्र जसले आगामी दिनका नीति तथा कार्यक्रमलाई निर्दिष्ट गर्दछ । त्यसले हामीले भविश्यमा अपनाउने नीति, बनाउने योजना, गर्ने काम र राज्य सञ्चालनको नीति र बाटोलाई निर्दिष्ट गर्छ । हामी त्यो बाटोमा जान चाहन्छौँ । उहाँहरुले यो गर्यौ भन्ने र यो गर्छौ भन्ने भिजन केही छैन । उहाँहरुले भन्ने भनेको प्रतिगमन, संविधान विरोधी, हाम्रो गठबन्धन संविधान बचाउनका लागि हो भन्ने मात्रै छ । संसदको मानमर्दन गर्ने, नभएको संविधानको बाटो हिँड्ने, भीरतिर राजनीतिलाई लैजाने, शक्ति पृथकीकरणको सिद्धान्तलाई ‘सेटिङ’ मार्फत ध्वस्त बनाउने यस्तो बेथितिको अवस्थामा उहाँहरुसँग भन्ने अरु केही छैन ।

त्यसैले उहाँहरु ‘डिवेट’मा आउनुहुन्छ भने सत्तापक्षको नेता प्रधानमन्त्री नै भएकाले आउन आग्रह गरेको हुँ । मैले गठबन्धनको नीति के–छ ? प्रधानमन्त्री आउनुहोस् । म एमालेको नीति के–छ ? बताउँछु भनेर ‘डिवेट’का लागि आग्रह गरेको हो ।

यो सम्भव छ ?

मैले अह्वान गर्ने कुरा हो । मैले प्रधानमन्त्रीजी आउनुहोस्, जनताका विचमा सञ्चारमाध्ययमलाई अगाडि राखेर ‘डिवेट’ गरौँ भनेको हो ।

तपाईँ तयार हुनुहुन्छ ?

विश्वका सञ्चारमाध्ययमका सामू प्रतिगमन उहाँहरु गर्दै हुुनुहन्छ कि हामी ? जनताका अघि बसेर कुराकानी गर्न तयार छु । सामान्य हिसावले जनताले छुट्याउन पाउन । जनताले प्रश्न पनि गर्न पाउन त्यसबिचमा । म बहस गर्न तयार छु । विशाल हल गोदावरीमै गएर पनि म बहस गर्न तयार छु । जनताको भलो कसरी गर्ने, देशको भलो कसरी गर्न आउनुहोस् बहस गरौँ । प्रतिगमन भनेको के–हो ? त्यसको पनि परिभाषा गरौँला । संविधान कस्ले मिच्यो त्यो पनि संविधान पल्टाएर बहस गरौँला, आउनुहोस् भनेर मैले आह्वान गरेको हो । यस्तो बहस अन्तराष्ट्रियस्तरमा पनि चलाउने चलन छ । यहाँ पनि मैले सुरुवात गरौँ भनेको हो ।

अहिले केही ठाउँको तालमेल बाहेक एमाले एक्लै एकातिर र अर्कोतर्फ गठबन्धन चुनावी मैदानमा छ । यस्तो अवस्थामा निर्वाचन एमालेको पक्षमा पार्न त निकै चुनौति होला नि, अप्ठ्यारो होला नि ?

अँ, सजिलो छैन । विभिन्न शक्तिहरु हाम्रो विरुद्धमा लागेका छन् । तर, सजिलो छ । यो देश विग्रियो भने दुख र सप्रियो भने सुख भोग्नुपर्छ भन्ने सचेत र सार्वभौम नेपाली जनता नेकपा (एमाले)को पक्षमा छन् । त्यसकारण सजिलो पनि छ । जनता एमालेको विपक्षमा भएको भए मुस्किल हुने थियो । जनता एमालेको पक्षमा छन् । त्यसकारण सजिलो छ । जनता महान छन् । मैले विभिन्न भेगका, क्षेत्रका, भूगोलका, व्यवसायका, पेशाका, जातिका जनतासँग भेटेको छु, बुझेको छु । उहाँहरुको चाहना काम खोज्न विदेश जानु नपरोस्, बच्चा बढाउन विदेश पठाउनु नपरोस्, उपचार खोज्दै विदेश जानु नपरोस् यी कुरा नेपालमै उपलब्ध हुन भन्ने छ ।

खनिजहरुले सुन्दर देश, स्रोतहरुले सुन्दर देश, नेपाल जस्तो सुन्दर देश जुन देशमा राम्रो व्यवस्थापन होस् र शान्ति, सुव्यवस्था अनि अमनचयन र स्थिरता होस् भन्ने नेपाली जनताको चाहना छ । दुनियाँमा नेपाल लेखेको पासपोर्ट देख्दा मान्छेले नजाँचि छाड्ने स्थिति बनोस् । नेपाल लेखेको पासपोर्ट देख्ने वित्तिकै मान्छे मुसुक्क मुस्कुराएर ‘ए तपाईँ नेपालबाट आउनु भएको ? कति सुन्दर छ है नेपाल ? कति राम्रो व्यवस्था छ होकि नेपालमा ? कति छिटो विकास गर्यो नेपालले भन्ने स्थिति बनोस् भन्ने चाहन्छ, नेपाली जनाता । नेपाली जनताले भोगेका छ, दुर्दिनहरु लामो समयदेखि । एमाले नेतृत्वको सरकार हुँदा नेपाली जनताका केही सपनाहरु जगेका थिए । विकासले गति लिन थालेको थियो । शान्ति, सुव्यवस्था अनि अमनचयन र स्थिरतातर्फ देश जान थालेको थियो ।

कानुनी राज भनेको के रहेछ । नेपाली जनताले अलिअलि बुझ्न थालेका थिए । तर, केही गोयबल्सहरुले हल्ला चलाइरहे । यद्यपि, कुनै गोयबल्सको केही लाग्ने थिएन । तर, राजनीतिमा मुछिन नआउनु पर्ने शक्तिहरु राजनीतिक मैदानमा उत्रिएपछि त्यसले नराम्रो परिणाम ल्यायो । त्यो नेपाली जनताले बुझेको छ र अब मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्नेमा कटिवद्ध छ ।

एमालेले भावी प्रधानमन्त्रीका लागि तपाईँलाई अघि सारेको छ । तर गठबन्धनको अवस्था त्यस्तो छैन । यो सन्दर्भमा के भन्नुहुन्छ ?

गठबन्धनले कस्लाई प्रधानमन्त्री बनाउने भनेर निर्णय गर्न सकिरहेको छैन । उहाँहरु दाउपेचमा हुनुहुन्छ । उहाँहरु छलछाममा हुनुहुन्छ । एउटाले अर्कोलाई अर्कोले अर्कालाई छलछाम गर्ने, धोका दिने काममा लागिरहनु भएको छ । उहाँहरुले कस्लाई अघि सार्नुहुन्छ ? सरकारको नेतृत्व कस्ले गर्छ ? चुनावपछि उहाँहरुले जितेमा कस्ले नेतृत्व गर्ने भन्नेमा अहिलेसम्म टुंगो छैन । यो भनेको उहाँहरुलाई जित्छौ भन्ने विश्वास नै छैन ।

अहिले सबै भन्दा बढी बहस उठ्ने भनेको नेपालका नेताहरु बुढा भए । बुढाहरुले अब विश्राम लिनुपर्छ भन्ने छ । विदेशको अनुभव हेर्ने हो भने त्यस्तो देखिदैँन । नेपालमा मात्रै किन त्यस्तो होला ?

यहाँ त दलीय व्यवस्था नै हुनुहुँदैन, स्वतन्त्र पो हुनुपर्छ भन्ने छ । संसारभरमा दलीय व्यवस्था छ, ती सबै मुर्ख भन्ने छ । दलीय व्यवस्था भएन भने नीति कसरी हुन्छ । नीति व्यक्तिमा चल्ने कि ? दलमा ? एउटा ताप्लेजुङको स्वतन्त्रको नीति अर्को कञ्चनपुरकोले मान्दिनु पर्ने कि ? दार्चुलाको स्वतन्त्र सांसदको झापाकोले मान्दिनु पर्ने कि ? सोलुको सांसदले भनेको कपिलबस्तुको सांसलले मान्दिनु पर्ने कि ? स्वतन्त्रहरुको सरकार भनेको कस्तो हुन्छ ? एउटा–दुईवटा स्वतन्त्र व्यक्तिले जित्नु, स्वतन्त्रको हैसियतले संसदमा कुरा राख्नु एउटा पाटो हो । स्वतन्त्र पार्टी नाम राखेर स्वतन्त्र भन्ने कुरा ढाँट कुरा हो ।

जहाँसम्म युवाको कुरा छ । देश चलाउने भन्ने कुरा ख्यालख्यालको कुरा हो ? चीनले नबुझी सी जिन्पिङलाई पार्टीले तेस्रो कार्यकालका लागि महासचिव छानेको हो ? अब तेस्रो कार्यकालका लागि राष्ट्रपति बनाउँदैछ । उहाँ अस्ति मार्चदेखि ७० वर्ष पुग्नुभयो । के त्यहाँ युवा नभएर उहाँलाई अघि सारेको हो ? अमेरिकामा युवा नभएर हो ? भारतमा युवा नभेट्टाएर मोदीजीलाई दोस्रो पटक प्रधानमन्त्री बनाएको हो ?

देश चलाउने कुरा विना अनुभव, विना तरिका, विना अध्ययन ‘ल म युवा १८ वर्ष पुगेँ, दारीजुँगा उम्रियो अब प्रधानमन्त्री किन नबन्ने ?’ यस्तो सुन्दा रमाइलो लाग्छ । तर, अग्लो हिमाल चड्न पनि पहिला साना हिमालहरु चढाएर अभ्यास गराइन्छ । म युवा एकैचोटी सगरमाथा चढ्छु भनेर गयो भने दुर्घटना हुन्छ । म्याराथनु डौडमा पनि एकैचोटी दोडिन सक्दैन । भारत्तोलन एकै पटक उठायो भने उसको करङ भाँचिएर जिन्दगीभरी विस्तारमा पर्छ ।

घनश्याम भुसाल, भिम रावललगायतको विषयलाई लिएर तपाईँको केही आलोचन हुने गरेको छ । तपाईँको बुझाई के–हो ?

कांग्रेस–माओवादीहरुसँग साँठगाँठ गरेर हिँड्ने उहाँको शैलीबारे म जानकार थिएँ । उहाँहरु सके यहाँ बसेर पार्टी भित्र कैँची चलाउने, पार्टीको नीति, विधि, पद्धति, पार्टीका निर्णयको खिल्ली उढाउने अनि बेलुन फुके झैँ फुकेर हप्प फुलाइ दिने, बुद्धिजीवी पल्टिएर पार्टीका जरा काटिदिने, पार्टीको विरुवामा तातो पानी खन्याइदिने, अनि एमाले विरोधीहरुसँग सँधै साँठगाँठ गरिरहने । अहिले त तपाईँहरु आफैँले देख्नुभयो त ? ‘तपाईँहरु उहाँहरु जस्ता मान्छेलाई किन नदिएको ?’ भन्नुहुन्छ । देख्नु भएन किन नदिएको ?

जो मान्छे सबै कुराको योजना बनाएरु वामपन्थी सरकार ढाल्छ । एमाले छ बुढानिलकण्ठ धाउँछ । एमाले छ अदालतमा गएर सरकार ढाली पाउँ भनी निवेदन हाल्छ । अनि सप्रिएला कि भन्यो सधैँको उही खेती छ । पार्टीको सुविधा खाने अनि पार्टीलाई नै उछितो काट्नेका बारेमा तपाईँहरु चिन्ता लिनुहुन्छ । जनताका बारेमा चित लिऔँ । उहाँहरुको चिन्ता लिनु बेकार छ । उहाँहरु भन्दा बढी आन्दोलनमा लागेका व्यक्तिहरु छन् । उनीहरुको चिन्ता किन गर्नुहुन्न ?

मंसिर ४ को निर्वाचनको सम्मुखमा हुनुहुन्छ । तपाईँको यो उर्जा, जोश, जाँगर लोभलाग्दो छ । देशमा एक पटक फेरि केपी ओली नेतृत्वको सरकार बन्न सकोस् । आफ्नै घरमा आगो लगाएर खरानीमा नाच्नेहरुको जस्तो होइन पाँच वर्ष ढुक्कले सरकार चलाउन सक्ने नेतृत्वसहितको सरकार बन्न सकोस् । भावी प्रधानमन्त्रीका रुपमा फेरि पनि तपाईँलाई देख्न पाइयोस्, शुभकामना ।

तपाईँलाई धेरैधेरै धन्यवाद, तपाईँका यी गुलिया मीठा शब्द मात्रै होइनन् । देशको आवश्यकता प्रतिविम्बित गर्ने खालका, जनताको भावना प्रतिविम्बत गर्ने खालका शब्दहरु जो तपाईँले बोल्नु भएको छ । त्यसुका निम्ति धेरेधेरै धन्यवाद । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *