१२ वर्ष कैद सजायकाे मागसहित सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता
काठमाडाैं, १४ कात्तिक । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका पूर्व क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।
‘आज मुद्दा दर्ता भएर फिर्ता पठाइन्छ। भोलि गोलाप्रथा भएपछि बेन्च तोकिन्छ,’ उनले भने, ‘त्यसपछि थप प्रक्रिया अघि बढ्छ। बयान, बहस त्यसपछि सुरू हुन्छ।’
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।
यस्तै, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबीसमेत गरेको परिसर स्रोतले बताएकाे छ । क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको छ।
लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। तर प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।