पाँच वर्षमा मेरो क्षेत्रमा दुई वटा सहर निर्माण गर्ने छुः प्रकाश श्रेष्ठ

प्रकाश श्रेष्ठ बागमती प्रदेशका संस्थापक सांसद हुनुहुन्छ । ०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ७ (२) बाट निर्वाचित श्रेष्ठ यो पटक पनि यहि क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । उहाँ अहिले चुनावी अभियानका सिलसिलामा आफूले पाँच वर्षमा गरेका काम र आगामी पाँच वर्षमा गर्ने कामको योजनासहित मैदानमा हुनुहुन्छ । श्रेष्ठसँग चुनाव केन्द्रित भएर मैत्रीन्युजले गरेको कुराकानीः

चुनावी अभियान कस्तो चलिरहेको छ ?

हामी अहिले चुनावी अभियानमा व्यस्त छौँ । अहिले हामी जहाँजहाँ चुनावी अभियानका सिलसिलामा पुगेका छौँ । त्यहाँत्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौँ ।
यहि क्षेत्रबाट म ०७४ सालको निर्वाचनमा मतदाताको स्नेहसहित विजयी भएको थिएँ । उहाँहरुको मतबाट विजयी भएपछि मैले पाँच वर्षे कार्यकाल पूरा गरेको छु । संसदीय भूमिका र विकास निर्माणका दुबै काममा म अहिले जनताको विचमै रहेर काम गरिरहेको छु । उहाँहरु मेरो कामबाट सन्तुष्ट हुनुहुन्छ भन्ने मैले अनुभूत गरेको छु । मेरो निर्वाचन क्षेत्रमा ६ वटा वडा छन् । जसमा तारकेश्वरका ३,४, ५ र नागार्जुनका १,२, ३ वडा रहेका छन् । मेरो क्षेत्र पर्ने यी वडामा सडकको क्षेत्रमा, पूर्वाधारको क्षेत्रमा, खानेपानीको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, कृषि उत्पादनको क्षेत्रमा, साँस्कृतिक सम्पदा पुनर्निर्माणको क्षेत्रमा, ढल व्यवस्थापनको क्षेत्रमा, रोजगारमुलुक उत्पादनको क्षेत्रमा गरेको काम र प्रदेश सरकार मार्फत मेरो पहलमा गरेको अन्य कामका कारण यो क्षेत्रका मतदाता सन्तुष्ट हुनुहुन्छ भन्ने मैले ठानेको छु ।

तपाईँ दोस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ । यसरी चुनावी मैदानमा जाँदै गर्दा तपाईँका चुनावी एजेण्डाचाँहि के–के छन् ?

म ०७४ सालमा निर्वाचित भएर गएपछि दिगो विकासका लागि केही योजनाहरु मैले अघि बढाएको छु । कतिपय योजना सुरु भएका छन् र ती सम्पन्न हुन बाँकी छन् । यो कार्यकालमा ती योजना पूरा गर्ने मेरो पहिलो दायित्व हुनेछ । दोस्रो योजना भनेको मेरो यो क्षेत्रमा दुई वटा सहर बनाउने छ । नागार्जुनको ३ नम्बर वडामा एकीकृत सहरी विकास कार्यक्रम लागु गर्न मैले डीपीआर सम्पन्न गरिसकेको छु । त्यसैगरी तारकेश्वरको ३ नम्बर वडामा करीब २७ सय रोपनी क्षेत्रफलमा व्यवस्थित सहर बनाउने डीपीआर तयार गरेको छु । प्रदेश प्राधिकरण ऐन निर्माण गरेर निर्वाचित भएपछि दुइ वटा व्यवस्थित सहर बनाउने मेरो प्रतिवद्धता छ । मेरो अर्को एजेण्डा यो हो ।

एकातिर गठबन्धन र अर्कोतिर तपाईँहरु एक्लै चुनावी मैदानमा हुनुहुन्छ । यस्तो अवस्थामा तपाईँले आफ्नो जितलाई कत्तिको सहज ठान्नुभएको छ ?

पाँच वर्षमा मैले जनताको विचमा गरेको काम नै मेरो जितको पहिलो आधार हो । त्योसँगै पार्टीको स्पष्ट दृष्टिकोण पनि मैले यहाँका मतदाताको विचमा लिएर गएको छु । आगामी दिनमा गर्ने कामको योजना पनि मैले प्रष्ट ढंगले लिएर गएको छु । यी पनि मेरो यो क्षेत्रबाट निर्वाचित हुने आधार हो भन्ने लागेको छ ।

जहाँसम्म गठबन्धनको कुरा छ । मेरो क्षेत्रमा गठबन्धनको खासै प्रभाव रहेको छैन । विगतको इतिहासलाई हेर्ने हो भने पनि काठमाडौँ ७ नम्बर कम्युनिष्टको गढको रुपमा परिचित छ । यहाँ ०४८ सालदेखि नै निरन्तर कम्युनिष्टले जित्दै आएको क्षेत्र हो । यहाँ नेकपा (एमाले)को शक्तिशाली संगठन पनि मेरो जितको अर्को आधार हो । स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने पनि यो क्षेत्रमा एमाले बलियो देखिएको छ । त्योसँगै अघि पनि मैले भने । प्रदेश र संघीय सरकारमार्फत यो क्षेत्रमा गरेको विकास निर्माणको काम पनि हाम्रो बलियो जितको आधार हो ।

मतदातालाई तपाईँले गर्ने आग्रह के–छ ?

काठमााडौँ क्षेत्र नम्बर ७ (२)का मतदातालाई पाँच वर्षे कार्यकालमा मैले यो क्षेत्रमा गरेको कामको मूल्याङ्कन गर्नुहोस् । मैले सुरु गरेका केही योजना पूरा हुन बाँकी छन् । ती योजना पूरा गर्नका लागि पनि एक पटक मलाई काम गर्ने अवसर दिनुहोस् । पाँच वर्षमा म ती अधुरा काम पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

खानेपानीका लागि हामी अघि बढाएको योजना पूरा गर्नुपर्ने पनि दायित्व छ । सामूदायिक विद्यालयको क्षेत्रमा मेरो पाँच वर्षे कार्यकालमा धेरै काम गरेको छु । सामूदायिक विद्यालयको स्तरोन्नती र भौतिक पूर्वाधार विकास अनि प्रविधिमैत्री शिक्षाका लागि मेरो कार्यकालमा गौरव गर्न लायक ढंगले भएको छ । यसमा अझै धेरै गर्न बाँकी छ ।
मैले दिगो पर्यटन विकासका लागि पनि मैले केही योजना अघि बढाएको छु । त्यसमा साँस्कृतिक पर्यटसँग जोड्दै ६ वटै वडामा मैले केही काम अघि बढाएको छु । ती कामलाई पनि पूर्णता दिनुपर्ने छ । यो पाँच वर्षे कार्यकाल ती काम पूरा गर्नका लागि योगदान गर्ने छु ।

त्यसैगरी ६ वटा वडामा वेरोजगारीको अन्त्य गरी उद्यमशिलता निर्माणमा मेरो योगदान रहने छ । त्यसका लागि व्यवसायिक रुपमा कृषि र पर्यटनलाई जोड्ने मेरो योजना छ । यो पाँच वर्षमा यहाँका अधिकांश नागरिकले रोजगारीको अवसर प्राप्त गर्ने कुराको प्रतिवद्धता पनि म व्यक्त गर्न चाहन्छु ।

त्यसैगरी हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहनु भएको बेलामा १ सय ६५ वटा निर्वाचन क्षेत्रमा रणनीतिक सडक भनेर स्वयम्भू, इचंकुनारायण, थानकोट हुँदै भीमढुंगा जोड्ने सडकको हामीले शिलान्यास गरेका थियौँ । त्यो सडकको तीन वर्षे कार्यकालका लागि टेण्डर प्रक्रिया अघि बढेको छ ।

९ मिटरको त्यो सडकलाई आगामी पाँच वर्षमा पूरा गर्नुपर्ने मेरो दायित्व भित्र रहने छ । करीब ९४ करोडको लागतमा डीपीआर निर्माण भएको छ । त्यसैगरी तारकेश्वरको ३,४ र ५ नम्बर वडामा एक पालिकाबाट अर्को पालिका जोड्ने र पासाङल्यामु सडकको स्तरोन्नति र विकासका लागि पनि जिम्मेवार पूर्वक लाग्ने प्रतिवद्धता पनि म व्यक्त गर्न चाहन्छु ।