‘यहाँ पहिले पनि सूर्य जितेको थियो, अहिले पनि सूर्य नै जित्ने हो’
काठमाडौं, १७ कार्तिक । काठमाडौंमा एमालेको गढ मानिँदै आएको क्षेत्र नं. ७ (क) मा बागमती प्रदेश सभा सदस्यका लागि अहिले जीवन मानन्धर उम्मेदवार हुनुभएको छ । क्षेत्रमा पहिलेदेखि नै सक्रिय भएर राम्रो परिचय बनाउनुभएका मानन्धरलाई चुनाव जित्न खासै गाह्रो होला जस्तो लागिरहेको छैन ।
यो क्षेत्रबाट अघिल्लो चुनावमा एमालेबाटै विजयी हुनुभएका बसन्त मानन्धर अहिले बागमती प्रदेश सरकारको मन्त्री हुनुहुन्छ । साथै सत्ता गठबन्धनबाट अहिले उहाँ नै उम्मेदवार पनि बन्नुभएको छ । तर त्यसो भए पनि आफूलाई कुनै फरक नपर्ने दावी जीवन मानन्धर गर्नुहुन्छ ।
मैत्री न्यूजले जीवन मानन्धरसँग गरेको निर्वाचन–संवाद संक्षिप्तमाः
तपाईंको प्रतिस्पर्धा त प्रदेश सरकारको मन्त्रीसँगै हुँदैछ, गाह्रो हुँदैन ?
मन्त्री भएर के भो र, पहिले उहाँलाई पनि हामीले नै जिताएर पठाएको हौं । यो ठाउँमा उहाँ जित्नुभएको होइन, सूर्य चिन्ह जितेको हो । सूर्य चिन्ह अहिले पनि हामीसँगै छ । त्यसैले अहिले पनि जित्ने सूर्यले नै हो ।
सूर्यले नै जित्नुपर्ने कारण के हो नि ?
हेर्नोस्, यो देशमा भिजन भएको पार्टी भनेको नेकपा (एमाले) मात्रै हो । अरुलाई त कुर्सी भए पुग्छ । त्यसैले यो मेरो क्षेत्रको विकास गर्ने हो भने एमालेलाई जिताउने बाहेक अर्को विकल्पै छैन । काम गर्ने एमाले नै भएकोले जिताउने पनि एमालेलाई नै हो ।
अब तपाईंको क्षेत्रमा तपाईंलाई नै जिताउनुपर्ने कारण चाहिँ के छ ?
म यो क्षेत्रमा पहिलेदेखि सक्रिय रहँदै आएको कार्यकर्ता हुँ । मभन्दा अघिका उम्मेदवारहरूलाई जिताउन पनि म लागिरहेकै हो । रातदिन नभनी समाजसेवामा लागिरहेको छु । पदमा नभए पनि मैले यो ठाउँमा गरेको काम सबैलाई थाहा छ । मलाई जिताउनु पर्नाको कारण पनि यही हो ।
यो क्षेत्रको विकासको लागि तपाईंको योजना के छ ?
यहाँ चाहिने विकासको काम म यहींकै जनतासँग मिलेर गर्ने हो । मलाई जे मन लाग्यो म त्यो गर्नेवाला छैन । जुन ठाउँमा जे काम गर्नुपर्ने हो त्यही ठाउँका जनताको भेला गरी उहाँहरूकै सुझाव लिएर म योजना बनाएर काम गर्नेछु । यो मैले सबैलाई भन्दै आएको छ ।
तै पनि अहिले तत्काल यो क्षेत्रमा गर्नुपर्ने काम के के छ जस्तो तपाईंलाई लाग्छ ?
काम त धेरै छन् । शहरी क्षेत्रमा अहिले हाम्रा सम्पदाहरू बचाउनुपर्ने ठूलो दायित्व हाम्रो काँधमा छ । यहाँको बहाःबही, ढुंगेधारा, मन्दिरहरूको संरक्षण गर्नुपर्ने छ । यी नै सम्पदाहरूले गर्दा हाम्रो शहरलाई जीवित संग्रहालय भनिएको हो । पर्यटन हाम्रो आधार हो । पर्यटनको आधार भनेको यही सम्पदाहरू हुन् । यसको संरक्षण मेरो प्राथमिकतामा रहने छ ।
अनि जनताका लागि के कार्यक्रम छ ?
खानेपानी, ढलको समस्याहरू समाधान गर्ने त छँदैछ । तर अहिले मेरो ध्यान भनेको यहाँ खाली रहेका पर्ती जग्गाहरूलाई जनताको हितमा उपयोग गर्नेमा गएको छ । ती जग्गाहरूमा ज्येष्ठ नागरिकका लागि पार्क बनाउने र त्यहाँ आउने ज्येष्ठ नागरिकहरूलाई खाना, स्वास्थ्य जस्ता सुविधा प्रदान गर्ने मेरो योजना छ । अहिले हाम्रा ज्येष्ठ नागरिकहरू घरमा एक्लै पर्ने समस्या बढिरहेको छ । यसलाई सम्बोधन गर्ने मेरो योजना छ ।
अहिले तपाईंको चुनाव प्रचार कस्तो भइरहेको छ ?
अहिले त घर घर जाने हो, भेला गर्ने हो । त्यहाँ आफ्ना कुरा राखेपछि मतदाताले बुझ्ने गरेका छन् । जहाँ पुगे पनि सबैबाट सकारात्मक धारणा र माया पाएको छु ।
आजबाट त जुलुस, ¥याली पनि गर्न पाइने भयो । कहिले निकाल्नुहुन्छ त्यस्तो जुलुस ¥याली ?
त्यो पनि गर्छौं होला । तर मलाई त जुलुस ¥यालीभन्दा पनि घर घर गएर जनतासँग कुरा गर्नु नै राम्रो जस्तो लाग्छ । घर घर जाँदा आत्मियता बढ्छ, मन खोलेर कुरा गर्न मिल्छ । जनतासँग त्यसरी मन खोलेर कुरा गरिरहेको छु ।