मतदाताको विश्वासको मतलाई घात हुन दिने छैनः गणेश दुलाल

चुनाव प्रचार–प्रसारको अभियान कस्तो चलिरहेको छ ?

म यो क्षेत्रको निवर्तमान सांसद पनि हो । मैले ०७४ को निर्वाचनमा दीर्घकालिन र अल्पकालिन गरी दुई खालका प्रतिवद्धता व्यक्त गरेको थिएँ । अल्पकालिन प्रतिवद्धता मैले पाँच वर्षको कार्यकालमा सम्पन्न गरिसकेको छु । दीर्घकालिन योजनाहरुको डीपीआर बनाएर सबै काम प्रक्रियामा अघि बढेका छन् । अहिले म जनताको विचमा जाँदा विगतमा मैले गरेका घोषणा र मैले जनतामा गरेका प्रतिवद्धतालाई नै आधार मानेर आगामी पाँच वर्षे कार्यकालका लागि मत माग्दै आएको छु ।

यो क्षेत्रका सबै कामलाई सम्पन्न गर्ने र मैले घोषणा गरेको दीर्घकालिन योजनाहरु पूर्णता दिने प्रतिवद्धा अनुसार नै म जनताको घरदैलोमा गइरहेको छु । जनताबाट पनि उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ ।

मेरो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ पर्छ । यो क्षेत्रलाई नेपालकै नमूना क्षेत्रका रुपमा विकास गर्ने योजनासहित म अघि बढेको छु र यहाँका मतदातालाई पनि मैले त्यहि प्रतिवद्धता व्यक्त गरेको छु । यहाँका मतदाताको सहित सहयोगमा यो क्षेत्रलाई समृद्ध क्षेत्रका रुपमा विकास गर्ने मेरो योजना छ । जसका कारण यो क्षेत्रबाट म आगामी पाँच वर्षका लागि फेरि विजयी हुनेमा पूर्ण आशावादी छु । मेरो जित भनेको यो क्षेत्रका सम्पूर्ण मतदाताको जित पनि हो ।

यो क्षेत्रबाट स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) विजयी भएको छ । त्यसकारण पनि तपाईँलाई जितका लागि थप सहज होला भन्ने अनुमान गर्न सकिन्छ । यसकारण पनि तपाईँ अलिक बढी ढुक्क हुनुहुभएको हो ?

मैले अघि पनि भने, मेरो निर्वाचन क्षेत्र भनेको काठमाडौँ महानगरपालिका वडा ३१ को सम्पूर्ण क्षेत्र पर्छ । यो क्षेत्रमा सबै भाषा–भाषी र धर्मालम्बीहरुको बासोबास रहेको छ । यो क्षेत्रमा पुस्तौँ विताएका रैथानेदेखि बसाईँसराई गरेर आएका नागरिक पनि बासोबास गर्ने गरेका छन् । यो क्षेत्रमा अधिकांश पूर्व निजामती कर्मचारी, बौद्धिक क्षेत्रमा काम गरेका व्यक्तिहरु पनि यहि क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।

यो क्षेत्रमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, महत्वपूर्ण अस्पतालहरु, शैक्षिक संस्थाहरु पनि यहि क्षेत्रमा रहेका छन् । यो क्षेत्रबाट पाँच वर्ष अघि मलाई विश्वास गरेर मतदान गर्नुभयो र विजयी बनाएर पठाउनुभयो । यो पाँच वर्षमा मैले प्रदेश सांसदको हैसियतले जुन कामहरु गरे । यो क्षेत्रका जनता उत्साहित हुनुहुन्छ । उहाँहरुले गणेश दुलाल भनेको हाम्रो क्षेत्रको समस्याको समाधान हो भन्ने अनुभूति गर्नुभएको छ । हाम्रो दुखमा मल्हम पट्टी लगाउने व्यक्ति पनि गणेश दुलाल हो भन्ने स्थापित भएको छ । हाम्रो सुखमा ताली बजाएर नाच्ने व्यक्ति हो भन्ने पनि स्थापित भएको छ । त्यसैले हाम्रो सच्चा प्रतिनिधि गणेश दुलाल हो भन्ने भएको छ । यो मेरो जितको पहिलो आधार हो ।

अघिल्लो पटक तपाईँ वामगठबन्धनबाट विजयी हुनुहुभएको थियो । अहिले उतापट्टि गठबन्धन छ । तपाईँ एक्लै हुनुहुन्छ । अलिक चुनौति होला कि ?

मलाई यहाँको यथार्थ विवरणबारे म राम्ररी जानकार छु । अन्ततिरको मलाई जानकारी भएन । तर, काठमाडौँ क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ को (२) का मतदातासँग मेरो गाढा सम्बन्ध छ । यो क्षेत्रमा एमालेलाई जिताउने जनताको बलियो गठबन्धन छ । त्यसैले अरु सामान्य गठबन्धनले यहाँको निर्वाचनमा कुनै पनि असर गर्दैन ।

भनेपछि तपाईँ चुनाव जितिन्छ भन्नेमा पूर्ण आशावादी र ढुक्क हुनुहुन्छ ?

म पूर्ण आशावादी र ढुक्क छु । यो क्षेत्रको मेरो जित मेरो मात्रै जित हुँदैन । यहाँका सबैको जित पनि हुनेछ ।

एमाले र त्यसमा पनि गणेश दुलाललाई नै यो क्षेत्रका मतदाताले मत दिनुपर्ने कारण ?

धेरै कुरा मैले माथि पनि उल्लेख गरेको छु । भौतिक संरचना निर्माण, बाटोघाटो निर्माण, खानेपानीका समस्या समाधान, करिडोरको सौदर्यीकरण, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न गरेका पहल, युवाका लागि व्यक्तित्व विकासका लागि गरेका पहल, विभिन्न ठाउँमा खोलिएका हेल्थ क्लबलगायत हाम्रो पहलमा भएका काम हुन् । यी कामको मूल्याङ्कनका लागि पनि यहाँका मतदाताले पुनः पाँच वर्षका लागि हामीलाई विजयी बनाउनु हुनेछ ।

मतदातालाई अन्तिममा के भन्न चाहनुहुन्छ ?

मैले विगतमा जसरी तपाईँहरुको विश्वास जितेर जसरी यो क्षेत्रको विकास निर्माण र समृद्धिका लागि जुन काम गरेँ । कानुन निर्माणमा जुन महत्वपूर्ण योगदान गरेँ । तपाईँहरुको पहल र प्रयत्नबाट म यो ठाउँमा पुगेँ । यो निर्वाचनका सन्दर्भमा पनि तपाईँहरुसँग बाचा गर्न चाहन्छु । म अब यो दोस्रो कार्यकाल मैले सुरु गरेका अधुरा कुरालाई सफल बनाउन मलाई विजयी बनाउनुहोस् । म तपाईँहरुले गरेको विश्वासको मतलाई घात हुन दिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *