अन्तर्वार्ता

नौजवान युवाका निराशालाई भरोसामा बदल्दै समृद्धिमा समाहित गराउने योजना एमालेसँग छः सुरेन्द्र पाण्डे

०६६–०६७ मा मुलुकको अर्थमन्त्री रहेका बेला नेकपा (एमाले)का वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेले ठूला–ठूला परियोजना अघि बढाउनु भएको थियो । अहिले चितवन क्षेत्र नम्बर १ को एमाले तर्फको प्रतिनिधिसभाको उम्मेदवार रहनु भएका पाण्डे अर्थमन्त्री रहेका बेला काठमाडौँ–निजगढ दु्रतमार्ग शिलान्यास भइ अघि बढेको थियो । अहिले निर्माण चरणमा छ । मध्यपहाडी लोकमार्गको सुरुवात पनि उहाँकै पालमा सुरु भएको थियो ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको सम्झौता पनि त्यसैबेला भएको थियो भने पश्चिमको रानीजमरा सिँचाई आयोजना र माथिल्लो तामाकोशी जलविद्युत परियोजनालाई स्वीकृत दिने काम पनि उहाँकै कार्यकालमा सुरु भएको थियो । स्वास्थ्य विमा कार्यक्रम उहाँकै पालमा सुरु भएको थियो भने तीस हजार विद्यालयमा इन्टरनेट सेवा सुरु गर्ने योजना पनि उहाँकै कार्यकालमा अघि बढेको थियो । तराइमा हुलाकी सडक निर्माणको काम पनि त्यसैबेला सुरु भएको थियो ।

उहाँले आफ्नो निर्वाचन क्षेत्र रहेको चितवनमा पनि धेरै काम अर्थमन्त्री हुँदा गर्नुभएको थियो । उहाँलेतीन सय बेडको भरतपुर अस्पताल निर्माण गर्न त्यतिबेला ६० करोड विनियोजन गर्नुभएको थियो । अहिले भरतपुरमा पाँच सय बेडको अस्पताल बनेको छ । भरतपुर क्यान्सर अस्पताललाई तीन सय बेडको अस्पताल निर्माण गर्न त्यतिबेला नै ६० करोड विनियोजन भएको थियो भने अहिले अस्पताल बनेको छ ।

माडी क्षेत्रमा १२ करोड विद्युतका लागि विनियोजन उहाँकै पालामा भएको थियो । नारायणी तटबन्धनका लगि २० करोड विनियोजन गर्नुभएको थियो । राप्ती तटबन्धनमा पनि उहाँले बजेट विनियोजन गर्नुभएको थियो । पूर्वी चितवनको विकास र जनता आवास कार्यक्रमा पनि उहाँको उल्लेख्य भूमिका रहेको छ । उहाँसँग निर्वाचन केन्द्रित भएर मैत्रीन्युजले गरेको कुराकानीः

चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चितवनको चुनावी माहोल कसरी अघि बढिरहेको छ ?

चुनावी माहोल एकदम उत्साहित ढंगले अघि बढिरहेको छ । नेकपा (एमाले)को पक्षमा जनलहर सुरु भयो भन्ने एक प्रकारको सन्देश सञ्चार भएको छ । विभिन्न राजनीतिक दल परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलिरहेको छ । हिजो मात्रै पनि एक सय भन्दा बढी नेपाली कांग्रेसका विभिन्न तहका नेता–कार्यकता एमाले प्रवेश गर्नुभएको छ । अन्य राजनीतिक दलबाट पनि परित्याग गरेर एमाले प्रवेश गर्नेको लहर चलेको छ भनेपछि माहोल एमालेका पक्षमा बनेको छ भन्ने अनुमान गर्न सकिन्छ ।

सुरेन्द्र पाण्डे विकासप्रेमि नेता हुन भन्ने सकारात्मक सन्देश चितवनमा गएको देखिन्छ । तपाईँ आफैँ चाँहि के भन्नुहुन्छ ?

मेरो क्षमताले भ्यायसम्म म यहाँको विकासका लागि सक्रिय बन्दै आएको छु । गर्न सक्ने र गर्नुपर्ने काम गरि पनि रहेको छु । यो मेरो निर्वाचन क्षेत्र पनि भएका नाताले मैले यहाँ सकेसम्म नागरिकका समस्यालाई पनि ध्यानमा राखेर काम गर्ने प्रयास गरेको छु र मेरो कामबाट उद्योगी, व्यवसायी, सर्वसाधारण सबै सकारात्मक हुनुहुन्छ भन्न्े मैले विश्वास लिएको छु ।

मलाई के थाहा छ भने– सबैले आ–आफ्नो सामथ्र्य लगाएर देश विकासमा योगदान गर्ने हो भने देश बन्छ । हामीले लामो समय विरोध, आलोचना, एक–अर्काको टिकाटिप्पणीमा समय व्यथित गर्यौ । अब हामीले त्यसलाई बदल्न जरुरी छ । अब हामीले सिर्जना, सहयोग र सहकार्यमा समय विताउनुपर्छ । त्यो भयो भने मात्रै गाउँ बन्छ, जिल्ला बन्छ र समग्र देश बन्छ । म त्यहि प्रयासमा छु । मलाई अहिले जुन प्रकारको साथ, सहयोग र समर्थन प्राप्त भएको छ । त्यो मेरो त्यहि विषयतर्फको प्रयासका लागि हो भन्ने पनि ठानेको छु ।

कतिपय कुरा हामीले चाहेर पनि गर्न सकेका छैनौँ । तर, हामीले अहिले सकेका छैनौँ भनेर भोलि पनि गर्न सक्दैनौँ भन्ने होइन । हामी भोलिका दिनमा ती पूरा गर्छौ भन्ने संकल्पका साथ अघि बढेका छौँ ।

हिजो केही अपूग भएका वा गर्न नसकेका कुरा आगामी दिनमा गर्ने संकल्प पनि यहाँ गर्न चाहन्छु । धेरै काम हामीले विगतमा सम्पन्न गरेका कारण थप काम गर्न सहज हुने अपेक्षा पनि गरेको छु । यहाँका धेरै ठाउँमा खानेपानीको समस्या समाधान गर्ने, सडक कालोपत्रे गर्ने, तटबन्ध गर्ने, विद्यालयका भवन निर्माण गर्ने, सामूदायिक भवन निर्माण गर्ने, सिँचाई र बोरिङ गर्ने जस्ता धेरै काम हामीले सम्पन्न गरेका छौँ । केही ठाउँमा बाटोघाटो निर्माण गर्नुपर्ने छ ।

तीसँगै हामी ठूला परियोजनाका काममा फट्को मार्ने योजनामा छौँ । जस्तैः भण्डारा–मलेखु सडक, लोथरदेखि–सौराहसम्मको आरसीसी ट्रयाक, ठूला नदीहरुको तटबन्ध जस्ता योजनालाई हामी प्राथमिकतामा राखेर अघि बढ्छौँ । हामी यी सबैको स्थायी समाधान गरेर अघि बढ्ने छौँ ।

खेल क्षेत्र, कृषि क्षेत्रमा लगानी बढाएर योजनासहित अघि बढ्नु पर्ने छ । उद्योग सञ्चालन गनेर््, रोजगारी सिर्जना गर्ने जस्ता योजना पनि अघि बढाउनु पर्ने छ । यी सबैमा योजनाबद्ध ढंगले अघि बढ्ने छौँ ।

तपाईँ त पूर्व अर्थमन्त्री पनि हुनुहुन्छ । युवा स्वरोजगारका विषयमा पनि त केही योजना होलान नि ?

युवा उद्यमीहरु कसरी निर्माण गर्ने भन्ने योजना बनाएर अघि बढ्छौँ । नेपाली कृषिलाई प्रशोधनतर्फ कसरी अघि बढाउन सकिन्छ भन्ने योजना बनाएर अघि बढ्छौँ । मैले चुनावी मुद्धा पनि यसैलाई बनाएको छु । हामीले एउटा बच्चा जन्माएर एउटा उमेरसम्म हुर्काकाउने अनि काम गर्न सक्ने अर्थात् चलनचल्तीको भाषामा भन्दा खुट्टा लाग्ने भएपछि ‘अब जाउ विदेश’ भनेर छाडिदिने र नेपालको विकासमा उनीहरुको योगदान नहुने हो भने मुलुकले लाभ लिन सक्दैन ।

त्यसैले काम गर्ने युवालाई विदेश पठाउने होइन, युवालाई स्वदेशमै रोजगारी सिर्जना गरेर उनीहरुले उत्पादन गरेका सामान विदेश निर्यात गर्ने कुरामा ध्यान दिन आवश्यक छ । मेरो ध्यान त्यसतर्फ केन्द्रित छ । विदेशी सामान किन्ने युवालाई विदेश पठाउने उल्टो काम भैरहेको छ, यसलाई रोक्नुपर्छ । युवाहरुलाई ‘हाम्रो देश विदेशीले होइन हामीले नै बनाउने हो’ भनेर देशभक्ति सिकाउनुपर्छ ।

संसारमा जति पनि विकास भएका छन् । ती सबै देशले आफ्नै पौरख र आफ्नै गौरवले देश बनाएका हुन् । हामीले त्यो गर्न सम्भव छ, हामी गर्छौ । युवालाई पनि म आह्वान गर्न चाहन्छु । आउनुहोस् हामी सबै मिलेर देश बनऔँ । युवाहरुमा पनि ‘म नेपाली हुँ, मैले देश बनाउनुपर्छ’ भन्ने भावना छ । उनीहरु आफैँ पलायन भएर विदेश जान चाहँदैनन् । उनीहरुलाई स्वदेशमै रहने र केही गर्ने वातावरण हामीले बनाउनुपर्छ । हामीले नबनाए कस्ले बनाउँछ ?’ त्यसका लागि सरकारले सहुलियत र प्रोत्साहनको नीति लिनुपर्छ । युवालाई हतोत्साहित गर्ने नीतिका कारण युवा पलाएन भएका छन् । हामीले त्यसमा सुधार गर्न आवश्यक छ र गर्नुपर्छ ।

चितवनका जनताले एमाले र सुरेन्द्र पाण्डेलाई नै चाँहि किन भोट दिने ?

पहिलो कुरा नेकपा (एमाले) मुलुकप्रति इमान्दर र समर्पित पार्टी हो । जहिले पनि एमाले सरकारमा जाँदा केही न केही देश र जनताका लागि नयाँ काम गरेको इतिहास साक्षी छ । अझ भन्ने हो भने एमालेको नीतिमा नै देश चलेको छ । जुन सरकारको नेतृत्व भए पनि बजेटबाट आउने नीति एमालेले अघि सारेको नीतिकै निरन्तरता हुने गरेका छन् । त्यसले पनि के सन्देश दिन्छ भने एमाले नेतृत्व गर्दा देश र जनताका लागि उपयोगी काम गरेको छ ।

अब एमाले सरकारमा जाँदा पनि कृषिलाई उद्योगमा रुपान्तरण गर्ने, युवालाई स्वरोजगार सिर्जना गर्ने, वडा, गाउँबाटै उद्यमी बनाउने योजनासहित अघि बढ्ने छ । त्यसकारण युवा र समग्र नागरिकको हितमा काम गर्ने एमालेलाई विजयी बनाउनु अहिलेको आवश्यकता हो । अहिले चितवनवासीमा पनि एमालेले नै केही गर्छ भन्ने मनोभावना रहेको मैले पाएको छु । त्यो मनोभावना र विश्वासलाई अझ बलियो बनाउन एमालेलाई मत दिन मतदातालाई अपिल गर्न चाहन्छु ।

अहिले स्वतन्त्रको माहोल देखिएको छ । तपाईँको क्षेत्रमा अवस्था कस्तो छ ?

मैले अहिले स्वतन्त्रको मतलाई विरोध र असहमतिको आवाजको रुपमा लिएको छु । विरोध र असहमति नेपालमा धेरै राखिए । तर, त्यसले समस्याको समाधान गरेको देखिएको छैन । ०५२ सालको जनयुद्धबाट मानिसमा ठूलो आकांक्षा जागृत भयो । पहिलो पटक त्यसको नेतृत्व गरेको पार्टी सरकारमा गएपछि ती सबै आशामा तुषारापात भयो । त्यो किन भयो भने त्यो देशको सामथ्र्य बेगर उठाइएको माग र मुद्धा थियो । देशको सामथ्र्य एकातिर कबुल अर्कोतिर हुँदा त्यो दल सरकारमा पुग्दा पनि कार्यान्वय गर्न सकेन, त्यो संभव पनि थिएन ।

अहिले स्वतन्त्रको नाममा देखाइएको सपना पनि मुलुकको सामथ्र्यसँग मेल खाने खालका छैनन् । मुलुकका यत्रा ठूला–ठूला राजनीतिक दलले समेत अपेक्षित सफलता प्राप्त गर्न नसकेको वा धेरै झमेलामा पर्नु परेको अवस्था छ । लामो अनुभवबाट अब विस्तारै विकास र समृद्धिमा अपेक्षित विकास गर्ने दिशातर्फ केन्द्रित भएको बेलामा ती दलको समेत अनुभवलाई पन्छाएर ती दललाई गाली गरेर हामी सबै गर्छौ भन्ने कुराले समाधान दिदैँन ।

धेरै नौजवान युवाहरुमा पलाएको निराशाको औषधी यो हुँदै–होइन । यो गलत औषधी खाएर रोग निको हुँदैन । रोगको सहि पहिचान गलत भयो भने त्यसले निदान गर्न सक्दैन । देशलाई समाधानको बाटोतर्फ लैजाने भनेको मुलुकका राजनीतिक दलले नै हो । त्यसैले म नौजवान युवाहरुलाई पनि बढी भावुक नहुन आग्रह गर्दै निराशालाई आशामा बदलेर देशको विकास र समृद्धिमा हातेमालो गर्न आग्रह गर्न चाहन्छु । सबै निरासाहरुलाई आशामा बदल्ने पार्टी भनेको नेकपा (एमाले) नै हो भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।

मतदातालाई केही ?

म मतदातालाई एमालेका विगतका काम र एमालेले भविश्यमा यो गर्छु भनेर गरेको कबुललाई हेर्नुहोस् अनि मतदान गर्नुहोस् भन्न चाहन्छु । एमाले भनेको बोलेको कुरा गर्ने पार्टी हो । मेरो सन्दर्भमा कुरा गर्दा चितवनको यो क्षेत्रका जनताले मलाई राम्ररी चिन्नु भएको छ । मेरो विगतको कामलाई मूल्याङ्कन गर्नुभएको छ । म यहि भन्न चाहन्छु ।