आजै रातिदेखि मतगणना शुरु गरी ८ दिन भित्र प्रत्यक्ष तर्फको नतिजा सकाउने तयारी

काठमाडौं, ४ मंसिर । आज बिहान ७ बजेदेखि शुरु भएको मतदान सकिएपछि आजै रातिदेखि मतगणना पनि शुरु गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । खास गरी तराई क्षेत्रमा आज राति ९ बजेदेखि नै मतगणना शुरु गर्ने तयारी रहेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज आफूले मतदान गरिसकेपछि संवाददाताहरूसँग कुरा गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले आज भक्तपुरको युनिक एकेडेमिस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

आज साँझ ५ बजेसम्म मतदान जारी रहने र ७ बजेसम्ममा सबै मतपेटिकाहरू जम्मा गरिसक्ने उहाँले बताउनुभयो ।

त्यसपछि एक घन्टा सबै प्रतिनिधिहरू बसी गणनाबारे छलफल गर्ने त्यस लगत्तै राति ९ बजेबाट गणना शुरु गरिहाल्ने योजना आयोगले बनाएको छ ।

तराई क्षेत्रका मतपेटिकाहरू संकलन सहज रुपमा गर्न सकिने भएकोले यही क्षेत्रबाट गणना आरम्भ हुन सकिने अनुमान गरिएको छ । हिमाली र पहाडी क्षेत्रमा भने मतपेटिका संकलन केही समय लाग्ने भएकोले भोलि बिहान ५ बजेदेखि गणना आरम्भ गर्न सकिने अनुमान गरिएको छ ।

निर्वाचन आयोगले आउँदो ८ दिन भित्र प्रत्यक्ष तर्फको सम्पूर्ण गणना सकाउने लक्ष्य लिएको छ । त्यस्तै समानुपातिक समेतको गणना भने मंसिर २२ गतेसम्म टुंग्याउने लक्ष्य लिइएको पनि प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

आयोगले यो पटक ७० प्रतिशत मतदान हुने अपेक्षा लिएको छ । मतदान बदर भने एक प्रतिशत जति मात्रै हुने पनि अनुमान गरेको छ ।

केही ठाउँमा छिटफुट घटना भए पनि निर्वाचन आयोगले अहिले १२ बजेसम्मको मतदानलाई शान्तिपूर्ण नै मानेको छ । अहिलेसम्मको मतदान बारे ताजा जानकारी दिन आयोगले अहिले १ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।