समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा

काठमाडौं, ६ मंसिर । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रत्यक्षतर्फ धेरै क्षेत्रमा नेपाली कांग्रेसको अग्रता रहे पनि समानुपातिकतर्फ भने नेकपा (एमाले) अग्रस्थानमा रहेको छ ।
निर्वाचन आयोगबाट प्राप्त तथ्यांक अनुसार अहिलेसम्म गणना भएको मतमा नेकपा एमाले ४५ हजार ८२९ मतका साथ अग्रस्थानमा रहेको छ । एमालेले अहिलेसम्म भएको गणनाको २९.९ प्रतिशत हासिल गरिसकेको छ ।
त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेस आएको छ । कांग्रेसले ४० हजार ४४० मत हासिल गरिसकेको छ । यो भनेको कुल मतको २६.३ प्रतिशत हो ।
रवि लामिछानेको घन्टी चिन्हधारी पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ तेश्रो स्थानमा रहेको छ । यो पार्टीले अहिलेसम्म १८ हजार ७४९ मत अर्थात कुल मतको १२.२ प्रतिशत लिइसकेको छ ।
नेकपा माओवादी केन्द्रले भने समानुपातिकतर्फ १७ हजार ६४५ मत प्राप्त गरेको छ । यो भने राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा कम हो ।
त्यस्तै राप्रपाले ९ हजार ८६, जसपा नेपालले ३ हजार ३२२, जनमत पार्टीले ३ हजार १०१, नेमकिपाले २ हजार ९१६, एकीकृत समाजवादीको २ हजार ९०, लोसपा नेपालले १ हजार ८१९ ले मत प्राप्त गरिसकेको छ ।
निर्वाचन ऐन अनुसार राजनीतिक दलहरूले कुल खसेको मतको ३ प्रतिशत मत प्राप्त गरे मात्रै समानुपातिकतर्फ प्राप्त गरेको मत प्रयोग गर्न सक्दछ ।
अहिले भएको मतदान अनुसार यो ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने बित्तिकै राजनीतिक दलले समानुपातिकतर्फ ४ सिट प्राप्त गर्न सक्नेछ ।