जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली पाउने
बारा, ९ मंसिर । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ ।
उद्योगले ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत् लिन लागेको हो ।
यसअघि कूल ४४ मेगावाट लिँदै आएकामा अब थप चार मेगावाट लिने जनाइएको छ । प्राधिकरणले परवानीपुर १३२ केभी सवस्टेशनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत् आपूर्ति दिने छ ।
थप विद्युत् आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभिए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ । उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो ।
योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत् आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताउनुभयो ।स्वीकृति लोडअनुसार विद्युत् लिएमा उद्योगले मासिकरुपमा रु २० करोडभन्दा बढी महसुल तिर्ने छ ।