उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका रूपमा बेनीकोट विकास गरिँदै

दमौली, ३ मङ्सिर । तनहुँको व्यास नगरपालिका–१३ छापडाँडा भञ्ज्याङस्थित बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका रूपमा विकास गरिने भएको छ । कृषि, पर्यटन, स्थानीय कला–संस्कृति तथा परम्परागत सीपलाई आर्थिक गतिविधिसँग जोड्दै स्थानीय समुदायको आयआर्जन बढाउने उद्देश्यले रु एक करोड ५० लाखको परियोजना सञ्चालन गर्न लागिएको हो ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ बेनीकोट (कृषि तथा पर्यटन प्रवद्र्धन परियोजना)’ सञ्चालन हुनेछ । परियोजनामा प्रदेश सरकारले ७५ प्रतिशत अर्थात् रु एक करोड १२ लाख ५० हजार र व्यास नगरपालिकाले २५ प्रतिशत अर्थात् रु ३७ लाख ५० हजार लगानी गर्नेछन् ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार परियोजना विसं २०८३ कात्तिक १६ गतेदेखि सुरु भई २०८४ जेठ ३० गतेसम्म सञ्चालन हुनेछ । परियोजनामार्फत बेनीकोटको भौतिक पूर्वाधार विकाससँगै स्थानीय मौलिक कला, संस्कृति, परम्परागत पेसा, कृषि उत्पादन र पर्यटनलाई एकीकृत रूपमा प्रवद्र्धन गरिनेछ ।

परियोजनाअन्तर्गत पर्यटकको आवागमन सहज बनाउन स्टोन ट्रेल निर्माण, पाहुना घर निर्माण तथा कालो सुँगुरको खोर व्यवस्थापन र प्रवद्र्धन गरिनेछ । स्थानीय मौलिकता झल्किने संरचना निर्माण गरी पर्यटकको बसाइलाई व्यवस्थित गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय परम्परागत पेसा तथा सीपलाई उद्यमसँग जोड्न सामुदायिक वनमा बाँस खेती विस्तार गरिनेछ । भुजेल समुदायको परम्परागत सीप संरक्षण गर्दै बाँसबाट हस्तकलाका सामग्री उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । दलित समुदायको परम्परागत पेसा संरक्षण तथा प्रवद्र्धन र व्यावसायिक मौरीपालनलाई पनि परियोजनामा समेटिएको छ ।

बेनीकोटलाई सांस्कृतिक गाउँका रूपमा स्थापित गर्न आतिथ्य तथा पर्यटक सेवा सम्बन्धी सीप विकास, घरबासको स्तरीकरण, मौलिक कला–संस्कृतिको संरक्षण, स्थानीय सङ्ग्रहालय व्यवस्थापन तथा मगर समुदायको पहिचान, वेशभूषा र सांस्कृतिक पक्षको संरक्षण एवं प्रचारप्रसार गरिने वडाध्यक्ष वसन्तबहादुर आलेले बताउनुभयो ।

त्यसैगरी गाउँको सरसफाइ तथा पर्यटकीय वातावरण सुधारका कार्यक्रम सञ्चालन गरिनेछन् । कृषि क्षेत्रतर्फ ड्रागन खेती विस्तार, रैथाने बाली संरक्षण तथा सिँचाइ व्यवस्थापनमा जोड दिइनेछ । स्थानीय भूगोल र सम्भावनाअनुसार व्यावसायिक कृषि उत्पादन बढाउने लक्ष्य राखिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्थानीय स्रोत, सीप र मौलिक पहिचानको उपयोग गर्दै कृषि, पर्यटन, संस्कृति र उद्यमलाई एकीकृत रूपमा विकास गर्ने परियोजनाको उद्देश्य रहेको बताउनुभयो । परियोजनाले गाउँको मौलिक पहिचान संरक्षणसँगै स्थानीय रोजगारी र आयआर्जनका अवसर विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *