बाजुरामा स्याउ उत्पादन बढ्यो, बजार नपाउँदा किसान चिन्तित

बाजुरा, ३ मङ्सिर । बाजुरामा पछिल्लो समय स्याउखेती विस्तार भएसँगै उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लामा ३३७ मेट्रिकटन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेका अनुसार स्वामीकार्तिक खापरमा १२५, जगन्नाथमा ९७, बुढीनन्दामा ७८ र हिमाली गाउँपालिकामा ३७ मेट्रिकटन स्याउ उत्पादन भएको हो । कुल उत्पादनमध्ये ५६ प्रतिशत मात्रै बिक्री भएको छ । यसबाट रु एक करोड ७१ लाख ३७ हजार बराबरको कारोबार भएको छ ।

गत वर्ष रु एक करोड ५० लाखको स्याउ बिक्री भएको थियो । जिल्लामा हाल ४२५ हेक्टर क्षेत्रफलमा स्याउखेती भइरहेकोमा २१० हेक्टरमा उत्पादन हुँदै आएको छ ।

उत्पादन बढे पनि सडक अवरुद्ध हुँदा समयमै बजार पुर्‍याउन नसकिएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले बताउनुभयो । वर्षायाममा सडक अवरुद्ध हुने, ढुवानी खर्च महँगो पर्ने र शीतभण्डारको अभावका कारण किसानले उत्पादनअनुसारको मूल्य पाउन सकेका छैनन् ।

जिल्लामा स्थानीय जातका स्याउसँगै फुजी, गाला, गोल्डेन र रोयल डेलिसियसजस्ता उन्नत जातको खेती पनि विस्तार भइरहेको छ । सडक स्तरोन्नति, सहज ढुवानी, शीतभण्डार निर्माण र बजार व्यवस्थापन गर्न सके स्याउखेतीले जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *