तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

काठमाडौं, ३ मङ्सिर । लगातार तीन कारोबार दिनदेखि घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा पुगेर बन्द भएको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले बढेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले उकालो लागेको छ ।

नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ४ अर्ब १५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३४७ कम्पनीका ९४ लाख ३७ हजार कित्ता शेयर किनबेच भएका छन् । कुल ४० हजार ८३७ पटक भएको कारोबारमा ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको हो ।

यस दिन बोटलर्स नेपालको शेयरमूल्य सर्वाधिक ६ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (तराई) को शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ । यता, कारोबारमा आएको एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको यस दिन १६ करोड ७८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्दैछ ।

त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ ।

यस दिन कारोबारमा रहेका १३ उपसमूहमध्ये पाँचवटाको परिसूचक बढेको छ भने आठवटाको घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *