बाजुरामा ३३७ मेट्रिकटन स्याउ उत्पादन, ढुवानी र भण्डारण अभावले बजारीकरणमा चुनौती
बाजुरा, ३ मङ्सिर । अनुकूल हावापानी र खेती विस्तारसँगै बाजुरामा यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा यस वर्ष कुल ३३७ मेट्रिकटन (३ हजार ३७० क्विन्टल) स्याउ उत्पादन भएको छ । यद्यपि, सडक अवरोध, ढुवानी अनुदानको अभाव र शीतभण्डार नहुँदा उत्पादित स्याउले अपेक्षाअनुसार बजार पाउन सकेको छैन ।
केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेका अनुसार चार स्थानीय तहमा मुख्य रूपमा स्याउ खेती भइरहेको छ । जसअनुसार स्वामीकार्तिक खापर गाउँपालिकामा सबैभन्दा बढी १२५ मेट्रिकटन, जगन्नाथ गाउँपालिकामा ९७ मेट्रिकटन, बुढीनन्दा नगरपालिकामा ७८ मेट्रिकटन र हिमाली गाउँपालिकामा ३७ मेट्रिकटन स्याउ फलेको छ । हाल जिल्लाको ४२५ हेक्टर क्षेत्रफलमा स्याउ लगाइएकोमा २१० हेक्टरमा उत्पादन भइरहेको छ । खप्तड छेडेदह र गौमुल गाउँपालिकामा समेत खेती विस्तार भइरहेको कार्यालयले जनाएको छ ।
बिक्री र आम्दानीको अवस्था उत्पादन बढे पनि कुल उत्पादनको ५६ प्रतिशत मात्रै स्याउ बिक्री हुन सकेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । जिल्लाभित्र र बाहिर गरी रु. १ करोड ७१ लाख ३७ हजार बराबरको स्याउ बिक्री भएको छ । गत वर्ष जिल्लामा रु. १ करोड ५० लाख बराबरको स्याउ कारोबार भएको थियो । पछिल्लो समय किसानहरू स्थानीय जातका साथै फुजी, गाला, गोल्डेन र रोयल डेलिसियसजस्ता उन्नत जातका स्याउ खेतीतर्फ आकर्षित भएका छन् ।
सडक र शीतभण्डार मुख्य बाधक उत्पादन सन्तोषजनक भए पनि बजारीकरणमा किसानले सास्ती खेप्नुपरेको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले बताउनुभयो । वर्षातका कारण अवरुद्ध सडक स्याउ पाक्ने समयसम्म नखुल्दा ढुवानीमा समस्या भएको उहाँको भनाइ छ । “दसैँताका सडक खुलेपछि मात्रै सदरमुकाम मार्तडीसहित धनगढी र नेपालगञ्जसम्म स्याउ पठाउन सकियो,” प्रमुख विष्टले भन्नुभयो, “यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट ढुवानी अनुदानको बजेट नआउँदा किसान आफैँले महँगो खर्चमा ढुवानी गर्नुपर्यो ।”
बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान उज्ज्वल रावतले यातायात असुविधाका कारण स्याउ बोकेर बजार पुर्याउनुपर्ने बाध्यता रहेको र समयमै ढुवानी नहुँदा धेरै स्याउ बारीमै कुहिएर खेर जाने गरेको गुनासो गर्नुभयो । जिल्लामा शीतभण्डार (चिस्यान केन्द्र) नहुँदा पछिसम्म भण्डारण गरेर उचित मूल्यमा बिक्री गर्न नसकिएको किसानहरूको भनाइ छ ।
व्यावसायिक खेतीमा जोड किसानलाई व्यावसायिक बनाउन स्थानीय तह र कृषि ज्ञान केन्द्रले बिरुवा वितरण, बगैँचा सुदृढीकरण र प्राविधिक परामर्शका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले सडक स्तरोन्नति, नियमित ढुवानी सेवा र शीतभण्डार निर्माण गर्न सके स्याउ खेतीले बाजुराको आर्थिक समृद्धिमा ठूलो टेवा पुर्याउने बताउनुभयो ।
