थापाथलीको सुकुम्बासी वस्ती हटाउँदा भएको भिडन्तमा १४ प्रहरी घाइते (९ तस्बिर सहित)

काठमाडौं, १२ मंसिर । थापाथलीस्थित सुकुम्बासी वस्ती हटाउने क्रममा सुकुम्बासी र प्रहरी बीच भिडन्त भएको छ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती खोला छेउमा रहेको सुकुम्बासी वस्ती हटाउन डोजर चलाएको थियो । यसको प्रतिरोधमा सुकुम्बासीहरूले ढुंगामुढा गर्दा १४ जना नगर प्रहरीहरू घाइते भएको जानकारी काठमाडौं महानगरपालिकाले दिएको छ ।
 
महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा अनधिकृत रुपमा बसाइएको सुकुम्बासी वस्ती हटाउन गत महिना नै सूचना जारी गरेको थियो । सोही सूचनाको आधारमा आज प्रहरी, नगर प्रहरी व डोजर सहित वस्ती हटाउने कार्य आरम्भ गरिएको थियो ।
 
सुकुम्बासीहरूले वस्ती हटाउन आएका सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए । साथै उनीहरू लाठी, चुलेसी, खुकुरी आदि जस्ता घरेलु हातहतियार बोकेर प्रतिकारमा उत्रेका थिए । उनीहरूमा जुलुस निकाल्दै काठमाडौं महानगरपालिका र मेयर बालेन साह विरुद्ध नारा पनि लगाएका छन् भने ठाउँ ठाउँमा टायर बालेर विरोध प्रकट गरेका छन् ।