छठ पर्वका लागि कमलपोखरी तयार : पाँच सय ब्रतालुलाई व्यवस्थापन गर्ने तयारी

छठ पर्व

काठमाडौँ,  कात्तिक २८ । छठ पर्व मनाउन काठमाडौँको कमलपोखरी तयार भएको छ । काठमाडौँ महानगरपालिका–१ ले अग्रवाल भवनसँगको सहकार्यमा छठका ब्रतालु तथा श्रद्धालुका लागि बस्ने स्थान, टेन्ट र आवश्यक पूर्वाधारको व्यवस्थापन गरेको छ ।

वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार पोखरी परिसरको सरसफाइ, बत्ती जडान तथा घाट व्यवस्थापनलगायतका काम सम्पन्न भइसकेका छन् । कमलपोखरी छठ पर्वको प्रमुख गन्तव्यका रूपमा स्थापित भएकाले यहाँ आउने ब्रतालुलाई निःशुल्क रूपमा पूजा तथा बसोबासको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

‘कमलपोखरी छठ पर्वको पर्यायजस्तै बनेको छ । ब्रतालुहरूलाई यो स्थान निःशुल्क उपलब्ध गराउने गरेका छौँ । श्रद्धालुको चाप रहेकाले सकेसम्म आउने सबैलाई व्यवस्थापन गर्ने प्रयत्न गर्नेछौँ,’ उहाँले भन्नुभयो ।

वडासचिव सर्वज्ञराज पौडेलले विगतका वर्षदेखि हुँदै आएको छठ पर्वको व्यवस्थापनलाई यस वर्ष पनि निरन्तरता दिइएको बताउनुभयो । पर्व सुरु हुनुअघि नै पोखरी परिसरको सरसफाइ गरिएको उल्लेख गर्दै उहाँले पर्वका समयमा सौन्दर्य र सुरक्षामा विशेष ध्यान दिइने तथा व्रत समापनपछि पुनः विशेष सरसफाइ गरिने जानकारी दिनुभयो ।

अग्रवाल भवनका प्रतिनिधि गजेन्द्र झाले कमलपोखरीमा ब्रतालुका लागि आवश्यक स्थान व्यवस्थापनको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष करिब पाँच सयदेखि छ सय जनासम्मलाई व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।

काठमाडौँ महानगरपालिकाले विगतका वर्षदेखि कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलगायत स्थानलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ । बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन गरिँदै आएको छ ।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले छठ पर्वका अवसरमा श्रद्धालुको भीड व्यवस्थापन, पूजा गर्ने क्रममा लाइन मिलाउने तथा बिरामी र अशक्तका लागि आवश्यक आकस्मिक सेवा उपलब्ध गराउन प्रहरी बल परिचालन गरिने बताउनुभयो ।

पर्वका क्रममा हुन सक्ने भीडभाडलाई व्यवस्थित गर्दै ब्रतालु तथा श्रद्धालुलाई सहज र सुरक्षित रूपमा पूजा गर्ने वातावरण निर्माण गर्न महानगरले आवश्यक तयारी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *