फिफा विश्वकप फुटबल

उरुग्वेलाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ स्थान मा

एजेन्सी, १३ मंसिर । पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।

कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान बनाएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेस नायक बने । खेलको ५४औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए ।

उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । पोर्चुगलले २ खेलमा छ अङ्क जोडेको छ । पराजित उरुग्वेको १ अङ्क छ ।