फिफा विश्वकप फुटबल

पोल्यान्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

एजेन्सी, १९ मंसिर । फिफा विश्वकप फुटबल अन्तरगत खेलमा फ्रान्स क्वाटरफाइनलमा पुगेको छ ।

कतारको अल थुमामा स्टेडियममा भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्यो । जीतसँगै फ्रान्स क्वाटरफाइनलमा पुगेकाे छ ।

फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा दुई गोल थप्यो । खेलको पहिलो हाफमा फ्रान्सका स्ट्राइकर ओलिभिएर जिरुडले गोल गर्दै पहिलो अग्रता लिए ।

उनले खेलको पहिलो हाफको ४४औँ मिनेटमा किलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ७४औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सको जीत पक्का भएको थियो ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टीमार्फत् एक सानत्वना गोल गर्यो ।

यसअघि हिजो सम्पन्न खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेका छन् ।