आज योमरी नै खाएर मनाइने योमरी पूर्णिमा

काठमाडौं, २२ मंसिर । आज योमरी पूर्णिमा । आजको दिन काठमाडौं उपत्यकाका नेवार समुदायले योमरी नामको चामलको पीठोको रोटी पकाएर खाने गर्छन् । योमरी खाने पूर्णिमा भएकोले आजको दिनलाई स्थानीय नेवाः समुदाय ‘यःमरि पुन्हि’ भन्दछन् ।

रोटीकै नामबाट पर्वको समेत नाम रहन गएकोले आजको दिन योमरीको ठूलो महत्व रहेको बुझ्न सकिन्छ ।

योमरी विशेष गरी चामलको पीठोले बनाइने रोटी हो । उक्त रोटी भित्र चाकु र तील राखिएको हुन्छ । अहिले खुवा आदि जस्ता अन्य खाद्यान्न पनि राख्ने चलन आएको छ ।
योमरी पुन्हि खास गरी बाली सकिएर भित्रिएको नयाँ धान भण्डारण गर्ने क्रममा मनाइने पर्व हो । त्यसैले योमरी बनाउन नयाँ चामलकै पीठो प्रयोग गर्ने चलन छ ।

घरमा भित्रिएको धानलाई भकारीमा भण्डारण गरिसकेपछि योमरीकै लक्ष्मी, गणेश, कुबेर आदि जस्ता देवीदेवताको प्रतिमा बनाई भकारीमा राखेर पूजा गरिन्छ । यसो गर्दा भकारीको धान कहिल्यै घटेर जाँदैन भन्ने विश्वास गरिन्छ ।

योमरी आफै पनि जाडो याममा खाइने पौष्टिक खाद्यान्न हो । योमरी भित्र राखिने चाकु, तील जस्ता खाद्यान्नले जाडो याममा शरीरलाई तातो बनाउन सहयोग गर्छ ।
आजको दिन घरमा पकाएको योमरी आफूले मात्र खाने होइन, अरुलाई बाँड्ने पनि गरिन्छ । त्यसैले आजका दिन गीत गाउँदै घर घरमा योमरी माग्न जाने चलन पनि छ । यो खास गरी तिहारमा मनाइने देउसी जस्तै हो ।

योमरी पूर्णिमाका दिन माग्न जाँदा गाइने गीत यस्तो हुन्छः

त्यःछिंत्यः बकछिं त्यः
लातापाता कुलिचां जुछिं त्यः ।
योमरी च्वामु, उकी दुने हाकु
बिउम्ह ल्यासे, मबिउम्ह बुरीकुटी ।

(अर्थः एक माना दिए पनि हुन्छ, आधा माना दिए पनि हुन्छ, दुई माने पाथी भर्ने गरी दिए पनि हुन्छ । योमरी तीखो छ, त्यसभित्र कालो चाकु छ । जसले दिन्छ तरुणी, जसले दिँदैन बूढी ।)

यसरी योमरी माग्न जाने चलन बीचमा हराइसकेको भए पनि अहिले भने विभिन्न समूह बनाई माग्न जाने चलन शुरु गरिएको छ ।

योमरी पुन्हिको अवसरमा बिहे भइसकेका छोरीबेटीलाई घरमा ‘नखत्या’ बोलाई खुवाउने चलन पनि छ ।

आजै ज्यापू दिवसः

योमरी पुन्हिकै दिन काठमाडौंका ज्यापू समुदायले ज्यापू दिवस मनाउने गरिन्छ । काठमाडौंको ६४ वटा ज्यापू टोल मिलेर पालैपालो यो दिवस मनाउने चलन छ । यस पटक १९ औं ज्यापू दिवस काठमाडौं महानगरपालिका २१ वडास्थित गोफल टोलको आयोजनामा मनाइँदैछ ।

यसै अवसरमा उन्नाइऔँ राष्ट्रिय ज्यापु दिवस–२०७९ का अवसरमा नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको छ । ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा ‘ज्यापु रत्न’बाट प्रा डा रामकृष्ण महर्जन, ‘ज्यापु विशिष्ट सम्मान’बाट ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ‘ज्यापु विशेष सम्मान’बाट मणिकुमार प्रधान, पुष्पराज श्रेष्ठ, सूर्जनारायण प्रधान, अर्चना शाक्य श्रेष्ठ, अमित बज्राचार्य, शुष्मा राजभण्डारी, शङ्कर महर्जन र विष्णु जल्मी तथा ‘ज्यापु सरस्वती पदक’बाट पल्पसा महर्जनलाई सम्मान गरिएको थियो ।

सो अवसरमा ‘ज्यापु सांस्कृति प्रतिभा सम्मान’ बाट नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक नवीन महर्जन, ‘ज्यापु प्रतिभा सम्मान’ बाट मिस नेवाः २०२२ की विजेता सलिना महर्जन, मिस नेपाल टिन २०२२ की विजेता सृष्टि महर्जन र मिस मङ्गोल बागमती २०२१ की विजेता प्रदिका महर्जनलाई पुरस्कृत गरिएको थियो । उक्त पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।

कार्यक्रमअघि ६३ टोलका गुठीका तर्फबाट सांस्कृतिक ¥याली निकालिएको थियो । ¥यालीमा सहभागीले नेवारी झाँकी, बाजागाजा प्रदर्शन गरेका थिए । सो अवसरमा अतिथिलाई परम्परागत गोफ टोल महिला समूहबाट सगुरनस्वरुप योमरी वितरण गरिएको थियो ।

काठमाडौँ महानगरपालिकाभित्रका परम्परागत नासःद्यः गुठी खलकको बाजागाजाको संरक्षण तथा संवद्र्धन गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यका साथ ज्यापु महागुथि नेपाः र नारायण परिवार क्लबको सक्रियतामा २०५८ सालमा ज्यापु संस्कृति विकास कोषको स्थापना गरिएको थियो ।

ज्यापू दिवस मनाउन थालिएको १९ वर्ष पुगिसकेको भए पनि नेवाः समुदाय बीच यो दिवस अझै पनि विवादबाट मुक्त हुन सकेको भने पाइँदैन । ज्यापू जाति नेवाः समुदायको एउटा थर मात्रै हो । योमरी पुन्हि ज्यापू जातिले मात्रै मनाइने पर्व होइन । यो सम्पूर्ण नेवाः जातिकै पर्व हो । तर योमरी पुन्हिकै दिन ज्यापू दिवस मनाएर योमरी पर्वलाई नै ज्यापूकरण गर्न खोजिएको आरोप लगाउनेहरू पनि छन् ।

साथै ज्यापू समुदायले आफ्नो जातिको मात्रै छुट्टै दिवस मनाउन थाले पछि यसले नेवाः समुदायका विभिन्न जातहरूका बीच फाटो ल्याउन सक्ने विषयमा पनि चिन्ता व्यक्त गर्न थालिएका छन् । यस्तो अवसरलाई ज्यापू दिवसको सट्टा ‘नेवाः दिवस’ का रुपमा मनाउनु पर्ने तर्क राख्नेहरू पनि धेरै छन् ।