सर्वोच्च परिसर सुरक्षाकर्मीकाे घेराबन्दीमा

काठमाडाैं, २३ मंसिर । सर्वोच्च अदालत परिसर शुक्रबार सुरक्षाकर्मीकाे घेराबन्दीमा छ । अदालतको गेट अगाडि प्रहरीहरु तैनाथ गरिएका छन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि हुनसक्ने सम्भावित घटनालाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश निषेध गरिएकाे छ भने चेकजाँच कडा पारिएको छ ।

नेपाल बारका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न नदिन आज धर्नामा बस्ने जनाएका छन् ।

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा २०७८ फागुन १ गतेदेखि निलम्बनमा थिए ।