जिल्लाकै सर्वाधिक राशिको फुटबल प्रतियोगिता तनहुँमा हुँदै

तनहुँ, २३ मंसिर । व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबले जिल्लामा सर्वाधिक राशिको खुला पुरुष फुटबल प्रतियोगिताको आयोजना गर्ने भएकाे छ ।

आगामी मंसिर २९ देखि पुस ७ गतेसम्म दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कप २०७९ आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख पाँच हजार पाँच सय ५५, दोस्रोलाई रु एक लाख १५ हजार पाँच सय ५५ सहित प्रमाणपत्र, मेडल र कप प्रदान गरिने क्लबका सचिव सुमन बस्नेतले जानकारी दिनुभयो ।

अनुशासित टोलीलाई रु आठ हजार, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजारका दरले नगद तथा प्रमणपत्रका साथमा मेडल प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीलाई रु सात हजार पाँच सय र म्यान अफ द म्याचमा रु एक हजार पाँच सय तथा प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । खुला सेभेन ए साइड पुरुष फुटबल प्रतियोगितामा १५ टोलीले दर्ता गरिसकेको क्लबका उपाध्यक्ष कृष्णबहादुर दरैले जानकारी दिनुभयो ।

खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि भन्ने मूल नाराका साथ आयोजित उक्त फुटबल प्रतियोगिता व्यास–३ बिपी वनबाटिकामा हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनुहुने टोलीले मंसिर २८ गते बेलुकी ५ बजेसम्म दर्ता गरि सक्नुपर्ने क्लबले जनाएको छ ।