अग्रणी बौद्ध अनगारिका माधवी गुरुमांको निधन

काठमाडौं, २८ मंसिर । नेपालमा बुद्ध धर्म स्थापित गर्न आजीवन समर्पित प्रेरणादायी अग्रज अनगारिका माधवी गुरुमांको आज बिहान निधन भएको छ । ९२ वर्षीय माधवी गुरुमां आज बिहान ललितपुरको सुमेरु अस्पतालमा निधन हुनुभएको हो ।

उहाँ चर्चित बौद्ध भिक्षु एवं एमालेका पूर्व सांसद स्वर्गीय अश्वघोष महास्थविरकी बहिनी हुनुहुन्छ ।

उहाँको पार्थिव शरीर अन्तिम दर्शनार्थ आज सुनन्दाराम विहार, थैना, पाटनमा राखिएको छ । भोलि विहीवार १२ः३० बजे शवयात्रा सहित अन्तिम संस्कार गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपाल अनागारिका संघका महासचिव तथा अनागरिका गुरुमाहरुमध्ये ज्येष्ठ श्रद्धेय अनागारिका माधवी गुरुमां १८ वर्षको यौवन अवस्थामा कुशीनगरमा भिक्षु ऊ चन्द्रमुनि महास्थविरको उपाध्यायत्वमा गुरुमा हुनुभएको थियो । त्यसबेलादेखि करिब ७ दशकभन्दा बढी थेरवाद बुद्धधर्मको प्रचारप्रसारमा निरन्तर लाग्नुभएका वहाँले यशोधरा बौद्ध विद्यालय स्थापना गरी नारी शिक्षाको उत्थानमा कठिन परिस्थितिसँग सिंगौरी खेल्दै तत्कालीन स्थानीय नारीहरुलाई उज्यालो शिक्षाको ज्योति छर्नुभएको थियो ।

अत्यन्त निडर, साहसी, मिहिनेती, दयामायाका खानी माधवी गुरुमां ललितपुर ओकुबहाल निवासी चन्द्रज्योति शाक्य र लक्ष्मीमाया शाक्यकी कान्छी छोरीका रुपमा वि.सं. १९८८ साल भाद्रकृष्ण दशमीका दिन जन्मनुभएको हो । उहाँको गृहस्थी नाम शुभलक्ष्मी शाक्य हो ।

आमा लक्ष्मीमाया शाक्यले उहाँ लगायत साहिली छोरी मनोहरा देवी शाक्यलाई वि.स. २००६ साल कार्तिक ५ गते शुक्रबार कुशिनगरमा ऊ चन्द्रमुनि महास्थविरलाई प्रार्थना गरी अनागारिका बनाउनुभएको थियो । गृहस्थी दुःख र सांसारिक दुःखबाट छुटकारा पाउने मार्गमा आमा लक्ष्मीमायाले आफ्ना छोरा बुद्धरत्न शाक्य (भिक्षु अश्वघोष महास्थविर) लगायत छोरीहरु मागधि अनागारिका (मनोहरा देवी) र माधवी अनागारिका (शुभलक्ष्मी) का रुपमा प्रव्रजित हुन प्रेरणा प्रदान गर्नुभएको थियो ।

नेपालमा बौद्ध शिक्षामा मात्र होइन, नारीलाई शिक्षा प्रदान गर्ने अभियानमा समेत उहाँको महत्वपूर्ण योगदान रहेको छ । बुद्धधर्मको माध्यमबाट महिला सशक्तीकरणको क्षेत्रमा पनि उहाँले धेरै कार्यहरु गर्नुभएको छ । यस क्रममा उहाँले यशोधरा बौद्ध विद्यालय, सुनन्दाराम विहारको स्थापना गर्नुभएको थियो । उहाँ वि.सं. २०२५ सालमा गोरखा दक्षिणबाहु चतुर्थद्वारा सम्मानित हुनुभएको थियो ।