श्रमिकलाई चाडपर्व खर्च अनिवार्य दिन श्रम विभागको निर्देशन, नदिए कारबाही हुने

काठमाडौं, २३ असोज । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकले पाउने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

कतिपय रोजगारदाता तथा प्रतिष्ठानले चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आएको भन्दै विभागले यस्तो निर्देशन दिएको हो।

श्रम ऐन, २०७४ को दफा ३७ मा प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिकबराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।

विभागले उक्त सुविधा उपलब्ध नगराउने रोजगारदाता वा प्रतिष्ठानविरुद्ध सम्बन्धित श्रमिक तथा कामदारलाई उजुरी दिनसमेत आग्रह गरेको छ। सुविधा नपाउने श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्नेछन्।

विभागले श्रमिकका उजुरी, गुनासा तथा सुझाव इमेलमार्फत पठाउन आग्रह गरेको छ। यसका लागि क्यूआर कोडको समेत व्यवस्था गरिएको छ।

विभागका प्रवक्ता मणिनाथ गोपले कतिपय रोजगारदाता तथा प्रतिष्ठानबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आइरहेको बताउनुभयो। उहाँका अनुसार सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकले पाउने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन भनिएको छ। निर्देशन पालना नगर्ने रोजगारदाता तथा प्रतिष्ठानमाथि श्रम ऐनअनुसार कारबाही हुने विभागले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *