बागलुङमा यस वर्ष २४ करोडको सुन्तला उत्पादन

बागलुङ, १ पुस । बागलुङमा यस वर्ष सुन्तला उत्पादन २० प्रतिशतले वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला यस वर्ष चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार छ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष जिल्लाभर रु २० करोड सात लाख ५० हजारको सुन्तला उत्पादन भएकामा यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर चार हजार तीन सय ८० मेट्रिक टन पुगेको प्रमुख भट्टराईको भनाइ छ ।

यस वर्ष जिल्लामा रु २४ करोड नौ लाखभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको उहाँको भनाइ छ । केही वर्षदेखि यहाँका ग्रामीण क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रमअन्तर्गत सुन्तला जोन घोषणा गरेर बर्सेनि सुन्तला खेती विस्तार हुँदै गएको भट्टराईले बताउनुभयो ।

भट्टराईले सुन्तला खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले आवश्यक औषधि, मल र प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो । उहाँ पछिल्लो समय कृषक सुन्तला खेतीप्रति आकर्षित हुँदै गएको भन्दै यहाँको वातावरण पनि अमिलो प्रजातिका फलफूलका लागि अनुकूल खालको रहेको बताउनुहुन्छ ।

“सुन्तला खेतीबाट कृषकलाई मनग्य आम्दानी हुन्छ, सुरुमा अलिकति मेहेनत गर्नुपर्छ, बिरुवा हुर्के भने धेरै झन्झट गर्नु पर्दैन, फल दिने सुन्तलाको छेउछाउमा अरु खेती गर्न सकिने हुँदा दोहोरो फाइदा हुन्छ”, उहाँले भन्नुभयो, “कृषकलाई सुन्तला खेतीप्रति आकर्षित गर्न आवश्यक तालिम तथा परामर्श दिने गरेका छौँ, हरेक वर्ष जिल्लामा सुन्तला उत्पादन हुने क्षेत्रफल पनि बढिरहेको छ ।”

बागलुङमा एक दशकभन्दा अगाडिसम्म परम्परागत सुन्तला खेती हुने गरेको थियो भने अहिले आधुनिक तरिकाले खेती भइरहेको छ । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानासँगै काठेखोलाको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, जैमिनीको दमेक र सर्कुवालगायत ठाउँ सुन्तला खेतीका लागि प्रसिद्ध मानिन्छन् । बागलुङ नगरपालिका–८ सिगानाका कृषक रामबहादुर खड्काले गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेको बताउनुभयो ।

उहाँले गत वर्ष डेढ लाख रुपैयाँको सुन्तला बेचेको भन्दै अहिले साढे तीन लाख बढीको सुन्तला बिक्री हुने बताउनुभयो । उहाँ गत वर्ष टिप्ने बेलाको सुन्तलामा किरा लागेपछि नोक्सान व्यहोर्नुपरेको भन्दै अहिले राम्रो भएको बताउनुहुन्छ । अहिले फल पनि पोटिलो र रसिलो रहेको उहाँको भनाइ छ ।

उहाँले १० वर्ष अगाडि सिगानामा ४० हजार बिरुवा लगाइएको भन्दै अहिले धेरै बोटहरूले फल दिन थालेको बताउनुभयो । आफ्नो सिगाना सुन्तला गाउँ नै बनेको भन्दै यहाँका सुन्तला पोखरामा बढी माग हुने गरेकाले व्यापारीले बोटबाटै सुन्तला खरिद गरेर लैजाने गरेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय कृषक देवबहादुर खड्काले यस वर्ष सिगाना गाउँमा गत वर्षको तुलनामा २५ प्रतिशत बढी सुन्तला उत्पादन भएको बताउनुभयो । उहाँ गत वर्ष सिङ्गो गाउँले सुन्तला बेचेर रु दुई करोड भित्र्याएको भन्दै यस वर्ष रु दुई करोड ५० लाख बढी आम्दानी गर्ने अनुमान गरेको बताउनुहुन्छ ।

खड्काले यहाँको सुन्तला खरिद गर्न बागलुङ, चितवन, काठमाडाैं, पोखरालगायतका ठूला सहरबाट व्यापारी आउने गरेको बताउनुभयो ।