सुर्खेत विमानस्थलमा एटिआर-७२ जहाजबाट उडान सुरु
सुर्खेत,१ पुस । सुर्खेत विमानस्थलमा आजदेखि एटिआर-७२ जहाजबाट नियमित उडान सुरु भएको छ ।
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुध्द एयरले एटिआर-७२ जहाजमार्फत् काठमाडौँ-सुर्खेत-काठमाडौँ रुटमा नियमित उडान प्रारम्भ गरेको हो । उक्त गन्तव्यमा आजदेखि एटिआर जहाजमार्फत् नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत् परीक्षण उडान गरिएको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिएको हो ।
प्राधिकरणका उच्च अधिकारीसहित ७० यात्रु लिएर बुध्द एयरको एटिआर जहाजले सुर्खेतमा पहिलो व्यावसायिक उडान भरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताउनुभयो ।
बुध्द एयरको एटिआर ७२ जहाजले काठमाडौँ–सुर्खेत गन्तव्यमा दैनिक एक उडान गर्नेछ । यसअघि कम्पनीले ४७ सिट क्षमताको एटिआर–४२ जहाजमार्फत् उक्त गन्तव्यमा दैनिक एउटा उडान गर्दै आएको थियो ।
एटिआर–७२ जहाजमार्फत् नियमित उडान भएपछि उक्त रुटको हवाई भाडा पनि सस्तो हुने प्राधिकरणका प्रवक्ता निरौलाको भनाइ छ । हाल काठमाडौँ-सुर्खेतसम्मको हवाई भाडा रु १४ हजारसम्म तोकिएको छ ।
यसअघि कोभिड-१९ महामारी पूर्व निजी क्षेत्रको श्री एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको थियो ।
बुध्द एयरको नियमित उडानपछि यती एयरको एटिआर जहाजले पनि उडान भर्ने प्राधिकरणले जनाएको छ ।
बुध्द एयरले सन् २०१३ को फेबु्रअरी १ बाट बिचक्राफ्ट १९०० डी (१८ सिट) बाट सुर्खेत उडान सुरु गरेको थियो भने विगत पाँच वर्षदेखि एटिआर-४२ बाट नियमित उडान सञ्चालन गर्दै आएको थियो ।