बजारमा बढ्न थाल्यो अण्डाको मूल्य

चितवन,३ पुस । चितवनमा लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ ।

बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो ।

यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो । संघका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ । उहाँले भन्नुभयो, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।”

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँको भनाइ छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ रहेको थियो ।

हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी संगठित भएर अघि बढेका छन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताउनुभयो । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ ।

उहाँले भन्नुभयो, “सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुन्छ ।” निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *