प्रचण्डले भने: गठबन्धन गर्दा प्रधानमन्त्री आलोपालो गर्ने कुरा भएको हो
काठमाडाैं, ४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गर्दा प्रधानमन्त्री आलोपालो गर्ने कुरा भएको बताएका छन् ।
प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताए ।
अध्यक्ष दाहालले भने, “गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो समझदारी छ ।” समझदारीबाट जिम्मेवारी आयो भने लिन्छु । समझदारीबाट जिम्मेवारी पाएन भने अरुनै हुन पनि सक्छ ।
गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रुपमा केही नभएको भन्दै उनले थपे, मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन तर निर्वाचनपछि सबै दलहरुका बीचमा छलफल भने भइरहेको छ ।
नेकपा एमालेसहित अन्य दलहरुसँग कुराकानी भइरहेको भन्दै उनले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई तीन पटक कुरा भएको भन्दै उनले सिके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताए ।
विसं २०७४ को स्थानीय तहको निर्वाचन भन्दा पालिकामा माओवादीले बढी जितेको भन्दै अध्यक्ष दाहालले प्रदेशमा विगतकै हाराहारीमा रहेको बताए । सङ्घमा अपेक्षा गरे भन्दा कम आएको भन्दै उनले यसको समीक्षा भइरहेको बताए ।