चितवनमा तोरी उत्पादन हुने क्षेत्र वृद्धिसंगै उत्पादन पनि बढ्ने

चितवन,५ पुस । चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ ।
कृषि ज्ञान केन्द्र चितवनले विगतका तुलनामा यसवर्ष तोरी उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि वृद्धि हुने बताएको छ । विगतमा तोरीमा लाग्ने रोग र जमिन खण्डीकरण बढेपछि तोरी उत्पादन घटेको थियो ।

कुनै समय १८ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने जिल्लामा केही वर्षअघिसम्म चार हजार हेक्टरमा सीमित भएको थियो । तर हाल १४ हजार हेक्टरमा तोरीखेती भइरहेको कृषि ज्ञानकेन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा १५ देखि २० प्रतिशत तोरीको उत्पादन बढ्ने अनुमान गरिएको पुनको भनाइ छ । अहिले किसानले तरकारीखेती छाडेर तोरी लगाउन थालेको उहाँको भनाइ छ । पछिल्लो वर्षमा तोरीको तेलको माग बढ्दै गएको र तुलनात्मक रूपमा तोरीखेती कम खर्चिलो र आम्दानी राम्रो हुने भएकाले किसानको आकर्षण बढेको हो ।

“मौसम अनुकूल भए यसवर्ष तोरीको उत्पादन झनै राम्रो हुन्छ”, पुनले भन्नुभयो, “हुस्सु कुहिरो नलागेर घाम लाग्यो भने तोरीको उत्पादन बढ्नेछ ।” बाँझो रहेका जमिनमा किसानले यसवर्ष तोरीखेती सुरु गरेको उहाँले बताउनुभयो ।

पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा तोरी व्यापकरुपमा लगाइएको छ । आर्थिक वर्ष २०६४ .६५ यता जिल्लामा तोरी लगाउने किसान बढ्न थालेको कार्यालयले जनाएको छ ।

चितवनमा करिब २० हजारदेखि २५ हजार किसान भए पनि व्यावसायिक रुपमा खेती गर्ने किसानको सङ्ख्या भने ज्यादै न्यून छ ।

खैरहनी नगरपालिका १३ का वडाध्यक्ष कुलप्रसाद भुसालले प्रत्येक वर्ष तोरी लगाउँदा राम्रो उत्पादन नहुने अनुभव सुनाउनुभयो । “माटोमा बाली लगाउँदा ग्याप चाहिन्छ”, उहाँले भन्नुभयो, “तोरी एक÷दुई वर्ष लगाएपछि अर्को एक÷दुई वर्ष कोसेबाली लगाउन सकियो भने तोरीको उत्पादन बढ्छ ।” उहाँले एक दुई वर्षको अन्तरालमा तोरी लगाउँदा माटोमा तोरीका लागि चाहिने तत्व तयार हुने र उत्पादन राम्रो हुने बताउनुभयो ।

“तोरीको बोट राम्रो भएर मात्र हुँदैन घाम पनि लाग्नुपर्छ । तीन चारदिन बादल लाग्यो भने तोरीको बोट राम्रो भए पनि कोसा दाना लाग्दैन”, उहाँले भन्नुभयो ।
उहाँले आफ्नो वडामा तोरीखेती गर्नेको सङ्ख्या पछिल्ला वर्षमा धेरै बढेको बताउनुभयो । “म युवा छँदा चितवनमा तोरीको उत्पादन राम्रो थियो । बीचका केही वर्षमा घट्यो”, उहाँले भन्नुभयो, “बालीमा विविधिकरण आएपछि फेरि तोरीको उत्पादन बढ्दै गएको छ ।”

खैरहनी नगरपालिका ६ का कुमरोजका किसान तेजप्रसाद बड्तौला चितवनमा तोरीको उत्पादन राम्रो हुने भएकाले आफूले तोरीखेतीलाई निरन्तरता दिँदै आएको बताउनुहुन्छ । “मैले हरेक वर्ष तोरीखेती गर्दै आएको छु”, उहाँले भन्नुभयो, “यसवर्ष मौसम अनुकूल भएकाले उत्पादन बढ्ने अनुमान गरिएको छ ।” चितवनमा कात्तिकमा तोरीखेती लगाएर फागुनमा थन्क्याइने गरिन्छ ।

राप्ती नगरपालिका ४ का किसान रामचन्द्र पौडेलले पानी नपरे यसवर्ष तोरीको उत्पादन राम्रो हुने बताउनुभयो । “अहिले तोरी पहेँलपुर भएको छ”, उहाँले भन्नुभयो, “यो महिना मात्रै मौसम सफा भए पोहोरको तुलनामा उत्पादन बढ्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *