कांग्रेसमा पुस्तान्तरणको एजेण्डा तत्काललाई मान्य भएनः प्रदीप पौडेल (अन्तर्वार्ता)

संसदीय दलमा महामन्त्री गगन थापाको पराजयलाई तपाईँले कसरी लिनुभएको छ ?

कांग्रेस मात्रै यस्तो पार्टी हो । जुन पार्टीमा संसदीय दलको नेताका लागि निर्वाचन भयो। अझ त्यो पनि पहिलो पुस्ता र दोस्रो पुस्ताका बिचमा निर्वाचन भएको छ । निर्वाचन हार्दिकतापूर्ण ढंगले सम्पन्न भएको छ । लोकतन्त्रमा विश्वास गर्ने कांग्रेसले यसलाई सकारात्मक रुपमा लिएको छ ।

परिणामका सन्दर्भमा चाँहि तपाईँको भनाई के–छ ?

परिणामको सन्दर्भमा हाम्रा आ–आफ्नै सोँचहरु थिए । यद्यपि, मतदाताले आफ्नो स्वविवेक प्रयोग गर्ने कुरा हो । यसलाई यहि रुपमा मात्रै बुझेको छु ।

महामन्त्री थापाले संसदीय दलको नेता र प्रधानमन्त्री पदलाई चुनावी एजेण्डा नै बनाउनु भएको थियो । अहिले संसदीय दलको नेताका लागि तपाईँहरुले समेत उहाँलाई नै समर्थन पनि गर्नुभयो । तर, परिणाम त तपाईँहरुको पक्षमा भएन नि ?

हामीले पुस्तान्तरणका लागि प्रयास गरेको हो । हामीले पार्टीमा पुस्तान्तरणको एजेण्डा बलियो बनाउँदै नयाँ शैलीबाट अगाडि बढौँ भनेर आग्रह गरेको हो । कांग्रेसलाई लोकप्रिय बनाएर अघि बढाउने कुरामा सबै एकजुट भएर अघि बढौँ भनेर पनि हामीले प्रयास गरेकै हो । त्यसका लागि परिवर्तन आवश्यक छ भनेर हामीले भन्दै आएका हौँ । तर, कतिपय सांसदहरुले त्यो कुरालाई आवश्यक लागेन वा मुद्धा र कार्यशैलीगत पक्षबाट हामीले खोजेको परिवर्तन तत्कालका लागि कार्यान्वयन गर्न सकिएन । यद्यपि, निर्वाचनमा गएपछि जित–हार स्वाभाविक हो । हार भयो भनेर हामी हाम्रो एजेण्डाका पक्षमा वकालत गर्न छाड्दैनौँ ।

भनेपछि तत्कालका लागि कांग्रेसमा पुस्तान्तरणको एजेण्डा मान्य भएन ?

संसदीय दलको निर्वाचनमा आएको परिणामले नै त्यो देखाएको छ भने पछि मैले थप भनिरहनु परेन । मैले अघि पनि भने, हाम्रो प्रयास निरन्तर रहिरहन्छ । कार्यशैली बदल्ने र प्राथमिकता निर्धारण गर्ने हाम्रो प्रयास पनि निरन्तर जारी रहन्छ ।

संसदीय दलको नेतामा पराजित भएपछि गगन थापाले आफू सरकारमा नजाने र खवरदारी निरन्तर रहने बताउनुभयो । यहि प्रश्न तपाईँलाई सोध्दा प्रतिक्रिया के–छ ?

सरकारमा जाने–नजाने अर्को विषय हो । हामीले सल्लाह, छलफल गरेपछि आवश्यकताले निर्धारण गर्ने कुरा हो । यति हो, संसदीय दलको निर्वाचनमा हामीले खाजेको परिवर्तन वा पुस्तान्तरण प्राप्त गर्न सकेनौँ । फेरि पनि प्रयास गर्ने कुरा निरन्तर हुन्छ ।