नैतिक जिम्मेवारी सभापतिले लिनुपर्छ, बैठकमा यसको गम्भीर समिक्षा हुन्छः धनराज गुरुङ (अन्तर्वार्ता)

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नु र एमाले नेतृत्वको गठबन्धन हुनुको प्रमुख कमजोरी पार्टी सभापति शेरबहादुर देउवाका कारण भएको दाबी गर्नुभएको छ । यो विषयमा बैठकमा गम्भीर समीक्षा हुने उहाँको चेतावनी छ । गठबन्धनका सन्दर्भमा बसेका कुनै पनि बैठकमा सभापतिले नबोलाएको । पदीय हिसाव र जिम्मेवारीमा बसेकलाई भन्दा अन्यलाई बढी विश्वास गरेको उहाँको आरोप छ । जसका कारण यस्तो दुर्घटना निम्तियो भन्ने उहाँको ठम्याई छ । गुरुङसँग मैत्रीन्युजले गरेको संक्षिप्त कुराकानीः

पछिलो राजनीतिक समीकरणलाई तपाईँले कसरी लिनु भएको छ ?

यसलाई नेपाली राजनीतिमा हुँदै आएको राजनीतिक दाउपेचकै एउटा पाटोका रुपमा लिएको छ । नेपाली राजनीतिमा जनता केन्द्रित, मुलुक केन्द्रित राजनीतिक भन्दा पद केन्द्रित राजनीतिक दाउपेच बढी चलिरहेको थियो । यो त्यसैको उपज हो ।

नेपाली कांग्रेसले यो सन्र्दभको समीक्षा गर्छ भन्ने अपेक्षा गर्न सकिन्छ ?

मैले अहिले होइन स्थानीय तहको पूर्वसन्ध्यामा नै गठबन्धन गरेर निर्वाचनमा जानु हुँदैन भनेर नेतृत्व र केन्द्रीय कमिटी बैठकमा पनि धेरै पटक भने । तर, बैठकमा मेरो बहुमत पुगेन । केन्द्रीय कमिटीले नै निर्णय गरेपछि मैले मान्नै पर्ने बाध्यता भएर मानेको हो । निर्णय नै गरेर गएपछि निर्णयको भावनालाई सबैले पालना गरेर जानुको विकल्प थिएन । तर, त्यो भावना पद केन्द्रित राजनीतिक हावी भयो ।

मैले केही दिन अघि मात्रै पनि एक सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीको पद भन्दा नैतिकता धेरै गुणा माथि हुन्छ । त्यसैले पदप्रति आशक्ति देखाउनु हुँदैन भनेर भनेको थिएँ । त्यो कुरा नेताहरुले पनि सुनुन् भनेर भनेको थिएँ, सुनेन छन् । पदप्रतिको आशक्तिले नै यो सबै भएको हो । यसको गम्भीर ढंगले पार्टी भित्र समीक्षा हुन्छ ।

नेतृत्वले पदाधिकारीलाई नै बेवास्ता गरेको परिणाम हो, यो भन्ने हो ?

जब गठबन्धनका सन्दर्भमा बैठकहरु बस्न थाले । ती कुनै पनि सन्दर्भमा अहिलेसम्म सभापतिजीले न म उपसभापति न त महामन्त्रीद्वय कसैलाई राख्नुपर्छ भन्ने कुरा उहाँमा पलाएन । त्यो सोँच पनि उहाँले राख्नुभयो जस्तो लागेन । पदीय हिसाव र जिम्मेवारीमा बसेका हामीलाई भन्दा पनि उहाँले अन्यलाई बढी विश्वास गरेका कारण पनि यस्तो भयो भन्ने लागेको छ । जसका कारण यो दुर्घटना निम्तियो भन्ने मलाई लाग्छ ।

सकारात्मक सुझाव दिनेलाई बेवास्ता गर्ने र सानो कोटरीमा रमाउने प्रवृत्तिको दुर्घटना हो भन्ने लाग्छ । मैले अघि पनि भने, यसको गम्भीर समीक्षा हुन्छ । नेताको वरीपरी पुगेर हजुर, हजुर भन्ने तर सकारात्मक सुझाव नदिनेहरुको बढी विश्वासले गर्दा कांग्रेस यस्तो दुर्घटना व्यहोर्न बाध्य भयो । पहिला सुशील कोइरालालाई पनि ठूलो घेराबन्दीमा पारेर प्रधानमन्त्री बन्न उक्साइयो । मैले त्यतिबेला पनि उहाँलाई अहिले त्यस्तो हुन्न है भनेर सुझाव दिएको थिएँ । तर, मेरो सुझाव नमान्दा उहाँ नराम्ररी डुब्नु भएको थियो । अहिले पनि हामीलाई सभापतिजीले मौका दिनुभएको भए । सकारात्मक सुझाव दिन्थ्यौँ । तर, उहाँले हामीबाट त्यो अपेक्षा नै गर्नुभएन वा गर्न उपयुक्त ठान्नु भएन । परिणाम यस्तै भयो ।

नैतिक जिम्मेवारी सभापतिले लिनुपर्छ कि पर्दैन त ?

सभापतिले हामीलाई गठबन्धनको बैठकमा राख्न नै आवश्यक ठान्नु भएन भनेपछि त्यसको सबै नैतिक जिम्मेवारी बैठकमा जो–जो बस्नुभयो उहाँहरुले लिनु पर्यो नि त ? यो कुरा बैठकमा गम्भीर ढंगले उठ्छ ।