सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’, हर्षोल्लासका साथ मनाइँदै

अछाम, १५ पुस । सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरालगायत जिल्लामा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ ।

हरेक वर्ष पुस महिनाको १५ गते सुदूरपश्चिममा विषेश महत्वका साथ ‘पुसे पन्ध्र’ मनाइन्छ । पुसे प्रन्धमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड र खानाका मीठा परिकार खाने चलन छ ।

साहित्यकार जगदीश ओझाका अनुसार पुसे प्रन्धमा गाउँका सबै एकापसमा भेटघाट गर्ने र कहानी (आइना, बातै) सुन्ने तथा सुनाउने गरिन्छ । कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्छ ।

अन्य पात्रोअनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठूलो रात हुने लोक मान्यता रहेको उहाँले बताउनुभयो । “यो रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोकसाहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ”, ओझाले भन्नुभयो ।

“यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने चलन छ ।” सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरालगायत जिल्लामा यस पर्वलाई भुवापर्वका रूपमा समेत मनाउने गरेको ओझा बताउनुहुन्छ ।

डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृषि र पशुपालनमा आधारित अर्थतन्त्र रहेको बताइन्छ । गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङग्रिदो चिसो छल्न रातभरि आगो बालेर पौष्टिक आहार खाने चलन रहेको साहित्यकार रमेश पन्त ‘मीतबन्धु’ बताउनुहुन्छ ।

साहित्यकार डम्बर शर्मा बडूले पुस पन्ध्रको सांस्कृतिक एवं सामाजिक महत्व रहेको बताउनुभयो । “यो रात बूढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ”, उहाँले भन्नुभयो,

सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा यसलाई लिइन्छ । पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवापुस्तामा लोक–संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ ।